Wednesday, May 27, 2020

के म “दलित” नै हु त ? जातिय विभेदका लागि को जिम्मेवार ?


जातियताको आधारमा पश्चिम रुकुममा घटेको घट्नाले सबैलाई स्तव्ध तुल्याएको छ । प्रेमिका लिन गएका ति दलित युवाले तथाकथित तल्लो जातको भएकै कारण आफ्नो ज्यान गुमाउनुप¥यो । अन्तरजातिय विवाह गर्न खोज्दा वा गर्दा ज्यान गुमाउनु परेको यो पहिलो घट्ना भने होइन । यस्ता घट्नाहरु हाम्रो समाज बेलावखतमा हुदै आएका छन् जसले हाम्रो समाजलाई कलङ्कित पार्ने काम गरिरहेको छ । वि.स. २००७ सालको सँविधानमा नै छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरिएको थियो । ७० वर्ष वितिसक्दा पनि व्यवहारमा धेरथोर छुवाछुत हटेतापनि मन र भावनामा भने जिवितै छ । अशिक्षित र पिछडिएको समाजमा मात्र नभई शिक्षितहरुकै मनमगजमा पनि जातियताले जरा गाँडेको छ । तथाकथित ठुला जातकाहरुमा “तिमीहरु साना जातिका हौ र हामी उच्च जातका हौ” भन्ने भावना छ भने साना जातिकाहरुमा “तिमीहरु ठुला जातका हौ र हामी साना जातका हौ” भन्ने सोच रहेको छ । जबसम्म “तिमी र म समान छौ” भन्ने भावना दुवै वर्गमा विकसित हुदैन, तबसम्म छुवाछुतजस्तो कलँक समाजबाट हट्न सक्दैन ।

हो, म दलित नै हुँ !

हो, म दलित हुँ ! के तपाईमा यो भन्ने आँट छ ? आजभोलि दलित समुदायबाट नै उनीहरुलाई “दलित” नभनिदिन वा दलित शव्द नै प्रयोग नगर्न जोड दिइएको देखिन्छ । प्रत्येक तल्लो जातको मानिस दलित हो । तपाई एतिहासिक तवरमा दलित हुनुुहुन्छ । कामीले फलामको काम ग¥यो, सुनारले सुनको काम ग¥यो, दमाइले लुगा सिएर समाजमा पु¥यायो, सार्कीले छालाको काम ग¥यो, गाइनेले गित गाउँदै मनोरन्ज दियो । तर समाजले यो वर्गलाई के दियो ? कामीको फलाम र औजार चल्यो, सुनारको सुन चल्यो, दमाइको लुगा पनि चल्यो, सार्कीले बनाएका जुत्ता चप्पल चले, गाइनेका गित चल्यो, तर यिनीहरुसँग अरु कुनै कुरा चलेन । चल्ला कुखुरा र कुकुर बिराला तथाकथित उच्च जातका मानिसहरुको घरमा स्वागत गरिए र भित्र भाँन्सासम्म पनि पु¥याइए, तर साक्षात मानिस, जो समाजमा श्रम गर्दै सेवा गरिरहेकाहरु भने बाहिर आगनसम्मै सिमित रहे र तल्लो जातको उपमा पाए । जनावर छुत रह्यो, तर मानिस नै भएर पनि तल्लो जातकाहरु अछुत रहे ।

तल्लो जातकाहरुलाई सामाजिक, आर्थिक, राजनैतिक र भावनात्मक रुपमा शोषण र दमन गरियो । अनि कुन अर्थमा अब तल्ला जातकाहरु दलित भएनन् ? तल्लो जातिका मानिसहरुलाई शोषण गरियो र गरिदैछ । के शव्द परिवर्तन गर्दैमा तल्ला जातकाहरुको अवस्था परिवर्तन हुन्छ ? दलित शव्द हटाउँदैमा तल्लो जातहरु पनि माथिल्लो जात समान हुनेभए म त आज हैन अहिले देखिनै यो शव्द प्रयोग गर्न चुटुक्कै छोडिदिन्छु ! शव्द वद्लिदैमा वास्तविकता परिवर्तन हुदैन । तबसम्म तल्लो जातिकाहरु दलित हुनेछन्, जबसम्म यिनीहरुले सामाजिक, आर्थिक, राजनैतिकरुपमा समान हक र अवसर पाउँदैनन् । 

जात लुकाउने सानो तर तुच्छ कोशिष् !

अब विशेष कुरा गरौ हाम्रै दलित अर्थात् तल्ला जातकाहरुको । विश्वकर्मा अर्थात् कामीले रसाइली, विसी र घिमिरे जस्ता उपथरहरु प्रयोग गर्न थाले । सार्किहरुले बोहरा, गैरे जस्ता उपथरहरु प्रयोग गरेको देख्न सकिन्छ । यसबाट एउटा कुरा प्रष्ट हुन्छ , तपाईको परिचयलाई तपाई स्वयम् घृणा गर्नुहुन्छ । यदि पुजा चन्द र निरुता सिँह जस्ता प्रतिभाशालि र सुन्दर नायिकाहरुले आफू तल्लो जातको भएको कुरा स्वीकार गरेको भए के हुन्थ्यो ? तर उनीहरुले आफ्नो जात लुकाएर आफ्नो वास्तविक परिचयलाई घृणा गरे । तर कतिपय दलित हस्थीहरुप्रति मेरो भारी सम्मान छ जसले आफ्नो जातलाई विना सँकोच र डर बाहिर ल्याए । तर अझैपनि कतिजनाहरु विश्वकर्मा वा कामी भन्न अप्ठ्यारो मानेर विसी भन्नमै रमाउँछन् ।

तपाई किन आफुलाई दलित वा तल्लो जातको भन्न डराउनुहुन्छ ? तपाईका पुर्खाहरु यो देशको माटोमा परिश्रम गर्ने र हात पाखुराहरु चलाउनेहरु थिए । तिनीहरु चोर थिएनन्, न त तिनीहरुले कुनै घृणित काम नै गरेका थिए । म विश्वकर्मा हुँ र मलाई मेरो जातमा सत प्रतिशत गर्व छ । मेरो पुर्खाले फलामको काम गरेर यो समाजलाई सेवा गरेकोमा म गर्व गर्छु । कसैले मेरो परिचय सोधेमा पहिलो नाम भनेर म रोकिन्न । पूरा आत्मविश्वासका साथ जात सहित मेरो नाम बताउँछु । हरेक दलित र तल्लो जातका व्यक्तिहरुले आफू र आफ्नो जातमा गर्व गर्नु आवस्यक छ । तपाई हाम्रा पुर्खाहरु “सिल्पीहरु” थिए । उनीहरु आफ्नो सिप प्रयोग गरेर समाजसेवा गर्नेहरु थिए । सँस्कृतमा लेखिएका ग्रन्थहरु गनगनाउँदै धर्मको आडम्वरमा पैसा र शक्ति कुम्ल्याउनेहरु थिएनन ।

कतै धार्मिक सँरचना नै दोषि त छैन जातिय विभेदका लागि ?

रामायण पढ्दा मलाई निकै आनन्द लाग्यो । रमाइ–रमाइ दिनको आठ दस पाना पढ्ने गर्थे । रामको त्यो आदर्शमयि जीवन देख्दा उनीप्रति निकै सम्मान जाग्थ्यो । उनीप्रति अझै पनि मेरो मनमा भारी श्रद्धा छ । तर एउटा यस्तो प्रसँग जसले मलाई झस्क्यायो र हिन्दुधर्मप्रति निकै नकारात्मक बनायोः निर्दोष शम्भुकको हत्या । कथा तपाईले पनि सुन्नु भएकै होला । रामले शासन गरेको १०,००० वर्षपछि अचानक एकजना ब्राम्हण आफ्नो मृत छोराको लाश लिएर रामको दरबारमा आइपुगे । उनले सिधै रामलाई चुनौति दिए र रामको कुनै पापका कारण उनको छोराको मृत्यु भएको घोषणा गरे । निकै छलफलपछि रामको राज्यभित्रै एकजना शुद्ध्र अर्थात तल्लो जातकोले तपस्या गर्दैछ भन्ने कुरा आयो । राम पुष्पक विमानमा चढि शम्भुक भएको ठाउँमा आइपुगे । रामले शम्भुकलाई सोध्दा उनले म एक शुद्र हुँ भन्ने वित्तिकै तरवार निकालेर तुरुन्तै शम्भुकको टाउको छिनाइदिए । तपस्या गर्ने काम ब्राम्हण र क्षेत्रीको मानिने भएकाले एक शुद्रले त्यो कोशिष् गर्दा अनाहकमा ज्यान गुमाउनुप¥यो ।

शुद्रहरु ब्रम्हाको पैतलातिरको भागबाट बनाइएको कुरा रामायणमै उल्लेख गरेको पाए । त्यसकारण शुद्रहरु सेवा गर्ने तुच्छ वर्गको रुपमा हिन्दु धर्ममा उल्लेख गरिएको छ । हिन्दु धर्मका धर्मशास्त्रहरु पुर्णत शुद्र अर्थात तल्लो जातिका मानिसहरुको विरुद्धमा छ । हिन्दु धर्मशास्त्रहरु तथाकथित उच्च जातिका मानिसहरुको नियन्त्रणमा भएको कुरा सर्वविदितै छ । अनि कसरी ति धर्मशास्त्र अध्ययन गर्नेहरुले तल्लो जातिकाहरुलाई समान दृष्टिले हेर्न सक्लान् ? जबकि उनीहरुले धर्मशास्त्रले नै विभेद सिकाइरहेको छ ।

नेपालमा तल्लो जातिका मानिसहरुमा धर्मपरिवर्तन जवरदस्त तरिकामा भइरहेको छ । यसको कारण उनीहरुमा भएको हिन्दु धर्मप्रतिको घृणा एक कारण हो । “प्रलोभन” र “जवरजस्ती” धर्मपरिवर्तन जस्ता शव्दहरु चलाएर भ्रम सृजना गरेर ख्रीष्टियनहरुमाथि दोष थुपार्ने गरिएतापनि, यथार्थमा धर्मपरिवर्तनको एक ठुलो कारण जातिय विभेद हो । जुन धर्ममा पानी चल्दैन, जुन धर्ममा मन्दिर पस्न पाइदैन, त्यहाँ रहेर के गर्नु ? जुन धर्मले जिन्दगीभरि तल्लो जातको उपमा दिएर समाजमा तल्लो वर्गको रुपमा हेर्छ , त्यो धर्मलाई अङ्गालेर के गर्नु ? बौद्ध र जैंन धर्म सुरु भएपछि लाखौ हिन्दुहरु हिन्दु धर्म त्यागेर बौद्ध र जैंन धर्म अङ्गाले कुराको इतिहास साक्षी छ । यसको प्रमुख कारण हिन्दु धर्मले तल्लो जातिका मानिसहरुलाई स्थान नदिनु तर बौद्ध र जैंन धर्मले उनीहरुलाई सह्दय स्वागत गर्नु थियो । त्यसैगरि भारतका सँविधान निर्माता भनेर चिनिने बाबा भिमराव अम्बेडकरले पनि लाखौ मानिसहरुका साथ सामुहिकरुपमा हिन्दु धर्म त्यागगरि बौद्ध धर्म अङ्गालेका थिए । भिमराव अम्बेडकर तल्लो जातिका मानिस थिए र हिन्दु धर्ममा भएको जातिय विभेदबाट आक्रोषित भएर नै उनले बौद्ध धर्म अपनाएका थिए । हिन्दु धर्मका अगुवाहरुले प्रलोभन, डलर, जवरजस्ती जस्ता शव्दहरु चलाएर आफैलाई तिर हान्नुभन्दा पनि तल्लो जातिकाहरुलाई समान स्थान दिनमा समय र शव्द खर्चिएको भए धर्मपरिवर्तनको होडवाजी कम हुन्थ्यो कि ?

By: Hari BK