Sunday, June 9, 2019

के येशू नेपाल र भारतमा आउनुभएको थियो ? येशूको जीवनका अज्ञात वर्षहरु ! (भिडियो सहित)


कति वर्ष देखि कति वर्षसम्मलाई अज्ञात वर्षहरु भनेर चिनिन्छ ?

ख्रीष्टियन इतिहासमा येशूको जीवनका अज्ञात वर्षहरुलाई लिएर निकै बिवाद चलेको थियो । येशू बाह्र वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको थियो । यो बारेमा लूका २ः४२ मा यसो लेखिएको छ ः “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरु चाडको रीतिअनुसार येरुशलेममा जानुभयो ।” त्यसपछि बाइबलमा येशूको बारेमा उहाँ एकैपटक ३० वर्ष पुगिसकेपछि घट्ना उल्लेख गरिएको छ । लूका ३ः२३ मा यसो लेखिएको छः “येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुदा उहाँ करिब तीस बर्षका हुनुहुन्थ्यो......।” येशू १२ वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको घट्नापछिको उहाँ सिधै यर्दन नदिमा वप्तिष्मा दिने यूहन्नाकहाँ वप्तिष्मा लिन देखा पर्नुभएको छ । यसरी यो समयको विचमा १८ वर्षको अन्तराल रहेको छ । यही समयलाई नै “अज्ञात वर्षहरु” भन्ने गरिन्छ । यो अठार वर्षको अवधिमा येशू कहाँ हुनुहुन्थ्यो र के गर्नुभयो भन्ने बारेमा बाइबलमा कुनै घट्ना उल्लेख नगरिएकाले विभिन्न प्रकारका सिद्धान्तहरुको रचना हुन पुगेका छन् । आजको यो लेखमा येशूको जीवनका अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु, यसका बारेमा रहेका विभिन्न भ्रमहरु र अन्तमा वास्तविकता चाहिँ के हो भन्ने बारेमा हेर्नेछौ ।

अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु

सिद्धान्त १ः येशू बेलायत जानुभएको सिद्धान्त
लेखक डेन्निस प्राइसले उनको पुस्तक “येशूका अज्ञात वर्षहरुः येशू बेलायत आउनुभएको अचम्मलाग्दा प्रमाणहरु” नामक पुस्तकमा येशू व्यापार गर्नका लागि अरिमाथियाका योसेफका साथ बेलायत आउनुभएको थियो भन्ने दावि गरेका छन् । साथै सन् ३० तिर बेलायतको एक जातिले “इसू” नाउँ गरेका प्रभावशाली व्यक्तिको नाउँ उल्लेख गरिएको सिक्का समेत प्रचलनमा ल्याएका थिए भन्ने दावि उनले गरेका छन् ।

सिद्धान्त २ः येशू जापान जानुभएको सिद्धान्त
कतिपय इतिहासकारहरुले उहाँ अज्ञात वर्षहरुमा जापानमा जानुभएको थियो भन्ने दावि गरेका छन् । यस सिद्धान्तका अनुसार येशू २१ वर्षको उमेरमा जापानको पश्चिमी किनारको भुभागमा आइपुग्नुभएको थियो र त्यसपछि उहाँ पूmजी पर्वतमा जानुभयो । फूजी पर्वत जापानको निकै प्रख्यात पर्वत हो र यसको धार्मिक महत्व रहेको छ । फूजी पर्वतमा नै येशूले जापानी भाषा, सँस्कृति, धर्म र दर्शनशास्त्र सिक्नुभयो । यस सिद्धान्तका अनुसार येशू जापानमा करिब १० वर्ष रहेपछि उहाँ फेरी आफ्नो देश इस्राएल फिर्ता जानुभयो । आजपनि जापानको एक सहर सिङगोका वासिन्दाहरु येशू क्रुसमा टाँगिनुभएन तर त्यहाँबाट उम्केर उहाँ त्यहाँ आउनुभएको थियो, उहाँ त्यही रहनुभयो, विवाह गर्नुभयो, उहाँका छोराछोरीहरु पनि जन्मिए र कालान्तरमा उहाँ त्यही मर्नुभयो भन्ने दावि गर्दछन् ।

सिद्धान्त ३ः सील्क रोडमा यात्रा गर्नुभएको सिद्धान्त
सील्क रोड प्राचिन समयमा यूरोप, मध्य एशिया र पुर्वी एशियालाई जोड्न एक प्रख्यात व्यापारिक मार्ग थियो । सन् १८८७ मा निकोलास रोइरीकले तिव्वतमा यात्रा गरेका थिए । उनका अनुसार त्यो बेला उनले येशू ख्रीष्ट त्यहाँ आउनुभएको विभिन्न इतिहासिक प्रमाणहरु भेट्टाएका थिए । उनका अनुसार येशू सील्क रोडमा यात्रा गर्दै अफगानिस्तान र तिव्वत हुदै भारतसम्म आउनुभएको थियो । येशूले दिनुभएका शिक्षाहरु धेरै मात्रामा पुर्विय दर्शनशास्त्रसँग मेल खानुलाई पनि उनले यसको प्रमाणको रुपमा दावि गरेका छन् ।

सिद्धान्त ४ः “एस्सीन” (साधु) को रुपमा मृत–सागरका गुफाहरुमा रहनुभएको सिद्धान्त
पहिलो शताव्दीमा मृत–सागरको क्षेत्र वरपरका गुफाहरुमा एक धार्मिक पन्थका मानिसहरु एक्लो र साधुको जीवन विताउथे जसलाई एस्सीन भन्ने गरिन्थ्यो । उनीहरु समाजबाट परै रहेर शान्त जीवन विताउथे । कतिपयका अनुमानमा येशू साधुको रुपमा मृतसागर वरपरका गुफाहरुमा एस्सीनको रुपमा १८ वर्षसम्म रहनुभएको थियो । येशू जीवनभर अविवाहित रहनुलाई पनि उनीहरुले यसको प्रमाणको रुपमा लिने गर्दछन् किनकि त्यो समयमा एस्सीनहरुले विवाह गर्दैनथे ।

सिद्धान्त ५ः बौद्ध भिक्षुको रुपमा भारत र नेपालमा आउनुभएको सिद्धान्त
सन् १९८४ मा निकोलास नोटोभिचले “ख्रीष्टको अज्ञात जीवन” भन्ने पुस्तक प्रकाशित गरे । उनको यो पुस्तकले त्यो समयमा निकै उथलपुथल मच्यायो । निकोलास एक रसियन डाँक्टर थिए । उनले भारतको पञ्जाब, लद्धाख, कश्मिर जस्ता ठाउँहरु र कश्मिरमा यात्रा गरेका थिए ।

उनले दावि गरे अनुसार उनी लद्धाखमा छदा उनले केही बौद्ध भिक्षुहरुलाई भेटेका थिए जससँग “सन्त ईशाको जीवनीः मानिसहरुका सन्तानहरुमध्ये उत्कृष्ट” भन्ने ग्रन्थ थियो । उनले उक्त पुस्तकलाई अनुवाद गरे र त्यसलाई “ख्रीष्टका अज्ञात वर्षहरु” भन्ने नाउँ दिए । त्यो पुस्तकको एक भागमा यसो लेखिएको छ ः “पाली भाषा पुर्णरुपमा सिकिसकेपछि धर्मि व्यक्ति ईशाले आफैलाई पवित्र शास्त्रहरु सिक्नमा समर्पित गर्नुभयो । ईशा, जसलाई बुद्धले आफ्नो पवित्र वचन फैलाउनको लागि चुन्नुभएको थियो, ७ वर्षपछि पवित्र शास्त्रहरुलाई पुर्णरुपमा व्याख्या गर्न सक्ने हुनुभयो । त्यसपछि उहाँले नेपाल र हिमालय पर्वत छोडेर राजिपोल्टनको उपत्यकातर्फ लाग्नुभयो र त्यसपछि बिभिन्न व्यक्तिहरुलाई प्रचार गर्दै पश्चिमतर्फ जानुभयो ।”
उनले कश्मिरमा येशूको चिहान भेट्टाएको दावि पनि गरे । खोजी गर्दा त्यहाँ सन्त ईशाको चिहान पनि भेट्टियो । तर अधिँकाश बाइबल विद्धानहरु त्यो चिहान येशू ख्रीष्टको नभएको कुरामा सहमत रहेका छन् ।

बाइबलले के भन्छ ?
माथि उल्लेखित कुनै पनि सिद्धान्तहरु केवल सिद्धान्त मात्र हुन् र यि कुनै पनि सर्वमान्य, ठोस र प्रमाणित सिद्धान्तहरु होइनन् । येशूको जीवनको बारेमा उल्लेख गर्ने भरपर्दो एकमात्र स्रोत बाइबल हो । बाइबलमा कही पनि येशू व्यापार गर्न बेलायत जानुभएको, वा उहाँ जापान जानुभएको वा भारत वा नेपाल आउनुभएको कुरा उल्लेख गरिएको छैन । उहाँ एक हिन्दु, एस्सीन वा बौद्धमार्गी भएको पनि कही उल्लेख गरिएको छैन । बाइबलको समयमा लेखकहरुले कसैको जिवनी लेख्नुपरेमा पात्रको सम्बन्धित र आवस्यक जानकारीहरु मात्र लेख्ने गर्दथे । हुनसक्छ येशूको जीवनका ति १८ वर्षहरु येशूको जीवनको उद्धेश्य र सुसमाचारसँग खासै महत्व नराख्ने भएका कारण लेखकहरुले ति वर्षहरुको बारेमा केही उल्लेख गरेनन् । बाइबलमा यि १८ वर्षहरुको विचका कुनै पनि घट्नाहरु उल्लेख नगरेतापनि यि १८ वर्षहरुमा के भएको थियो भन्ने बारेमा भने लेखिएको छ ः

बाइबलमा येशूलाई प्रत्यक्षरुपमा सिकर्मी भनेर सम्बोधन गरिएको छ ः
“के यिनी त्यही सिकर्मी होइनन् र ?” (मर्कूस ६ः३) । किन ति व्यक्तिहरुले येशूलाई यसरी सिकर्मी भने होलान् ? किनकि तिनीहरुले उहाँलाई देखेका र चिनेका थिए । तिनीहरुले उहाँलाई सिकर्मीको रुपमा काम गरेको देखेका थिए ।

येशू बुवाआको अधिनमा रहनुभयोः
“तब उहाँ तिनीहरुसँग नासरत जानुभयो, र तिनीहरुका आज्ञाकारी भई बस्नुभयो ।” (लूका २ः५१) । यो पदमा स्पष्टरुपमा उल्लेख गरिएको छ कि येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभएको थियो । यो पद उहाँ १२ वर्ष हुँदा उल्लेख गरिएको छ ।

अन्ततः यसरी बाइबलिय आधारमा यि अज्ञात वर्षहरुमा येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभयो र जिविकोपार्जनका लागि सिकर्मीको काम गर्नुभएको थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

सम्बन्धित भिडियो............

No comments:

Post a Comment