Sunday, May 19, 2019

बाइबल के हो ? बाइबलको बारेमा जान्नका लागि पढ्नै पर्ने लेख । (भिडियो सहित)


बाइबल के हो ?
बाइबल शव्द ग्रिक भाषाको “विवलोस” बाट आएको हो जसको अर्थ “पुस्तकहरुको सँग्रह” भन्ने हुन्छ । बाइबल आफैमा एक सिङ्गो पुस्तक नभई पुस्तकहरुको सँग्रह हो । बाइबलमा जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । यस अन्र्तगत निति नियमहरु सम्बन्धी पुस्तकहरु जस्तै, लेवी र व्यवस्था, इतिहासिक पुस्तकहरु जस्तै एज्रा र प्रेरितको, कवितात्मक पुस्तकहरु जस्तै भजनसँग्रह र हितोपदश, भविष्यवाणीका पुस्तकहरु जस्तै यशैया र प्रकाश, जीवनीहरु जस्तै, मत्ती र यूहन्ना, पत्रहरु जस्तै रोमी र फिलेमोन जस्ता पुस्तकहरु रहेका छन् । 

यसका लेखकहरु
सम्पूर्ण बाइबल लेखिनका लागि करिब १५०० वर्षको समय लागेको थियो भने यसलाई लेख्नका लागि ४० भन्दा बढि व्यक्तिहरुको योगदान रहेको छ । ति लेखकहरु विभिन्न पृष्ठभुमि, पेशा र कालखण्डका थिए । तिनीहरुमध्ये कोही राजा, कोही माछा मार्नेहरु, कोही पुजाहारीहरु, कोही किसानहरु, कोही गोठालाहरु, कोही मन्त्रीहरु त कोही वैद्यहरु थिए । विभिन्न प्रकारका पृष्ठभुमि भएका व्यक्तिहरुले इतिहासको ठुलो कालखण्डमा बाइबल लेखेता पनि यसको मुख्य विषय भने एउटै रहेको छ ः त्यो हो परमेश्वरको प्रेम । यति धेरै लेखकहरुद्धारा लेखिएतापनि बाइबल भित्र विरोधाभास भन्ने कुरा देख्न सकिन्न । यसको पछाडीको कारण परमेश्वर हुनुहुन्छ । बाइबलमा भएको यस प्रकारको सिद्धताबाट यसको एकमात्र लेखक परमेश्वर हुनुहुन्छ भन्ने कुरा जान्न सकिन्छ । २ तिमोथी ३ः१६ मा यसो भनिएको छ , “सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो....।” त्यसैगरी यो सम्बन्धमा २ पत्रूस १ः२१ मा यसो लेखिएको छ , “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन् ।” परमेश्वरले ४० जना विभिन्न व्यक्तिहरुलाई समयको विभिन्न कालखण्डहरुमा प्रयोग गरेर बाइबल लेख्न प्रयोग गर्नुभएको थियो । त्यसकारण बाइबलको वास्तविक लेखक परमेश्वर हुनुहुन्छ । बाइबल मुलत तिन भाषाहरुमा लेखिएको थियोः हिव्रू, ग्रिक र आरमेइक । बाइबल तिन महादेशहरुका विभिन्न क्षेत्रहरुमा लेखिएको थियोः एशिया, अफ्रिका र यूरोप । बाइबल सुरुमा भेडाका छालाहरुमा लेखिएको थियो । बाइबललाई सन् १३५० मा कार्डिनल ह्यूगोले अध्यायहरुमा विभाजन गरेका थिए भने सन् १५८९ मा रव्वी नाथानले पदहरुमा विभाजन गरेका थिए ।

यसको विभाजन
बाइबललाई मुलत दुई भागमा विभाजन गरिएको छ । पहिलो भागलाई पुरानो करार भनिन्छ । पुरानो करारमा ३९ वटा पुस्तकहरु रहेका छन् । समग्रमा भन्नुपर्दा पुरानो करार एक देशमाथि केन्द्रित रहेको छ । उक्त देश इस्राएल हो । त्यसै गरी दोस्रो भागलाई नयाँ करार भनिन्छ । नयाँ करारमा जम्मा २७ वटा पुस्तकहरु रहेका छन् । नयाँ करार एक व्यक्तिमाथि केन्द्रित रहेको छ । उक्त व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ । समग्रमा भन्नुपर्दा परमेश्वरले एक जना व्यक्ति पठाउनका लागि एउटा देश तयार पार्नुभयो जो “इस्राएल” देश हो जो पुरानो करारको केन्द्रित विषयवस्तु हो । यसरी येशू ख्रीष्ट आजभन्दा २००० वर्षअघि त्यो देशद्धारा आउनुभयो जो नयाँ करारको केन्द्रित विषयवस्तु हो । 

पुरानो करारमा इस्राएल देशको सुरुवात र यसको अस्तित्वको बारेमा उल्लेख गरिएको छ । परमेश्वरले समस्त संसारलाई आशिष दिनका लागि इस्राएललाई प्रयोग गर्ने प्रतिज्ञा गर्नुभयो (उत्पत्ती १२ः२–३) । परमेश्वरले इस्राएल देश स्थापना गरिसकेपछि उक्त आशिष् ल्याउनका निम्ति एउटा वँशलाई चुन्नुभयो जो दाऊदको वँश थियो (भजनसँग्रह ८९ः३–४) । यसरी इस्राएल देश हुदै दाऊदको वँशबाट भएर समस्त संसारको उद्धारकर्ताको जन्म भयो ।

नयाँ करारले त्यही उद्धारकर्ताको बारेमा नै व्याख्या गरेको छ । उक्त व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ । पुरानो करारमा उहाँको बारेमा थुप्रै भविष्यवाणीहरु गरिएका थिए । ति प्रत्येक भविष्यवाणीहरु पुरा भएको कुरा नयाँ करारमा उल्लेख गरिएको छ । येशू ख्रीष्टले सिद्ध जीवन विताउनुभयो । उहाँले शिक्षा दिनुभयो, अचम्मका कामहरु गर्नुभयो र रोगी विरामीहरुलाई निको पार्नुभयो । अन्तत उहाँ समस्त सँसारलाई उद्धार गर्नका लागि क्रुसमा मर्नुभएको कुरा नयाँ करारमा उल्लेख गरिएको छ । उहाँ मरेको मरेई हुनुभएन तर तिन दिनपछि फेरी जिवित हुनुभयो र स्वर्ग चढिजानुभयो ।

बाइबलको मुख्य पात्र
बाइबलको मुख्य पात्र येशू ख्रीष्ट हुनुहुन्छ । बाइबलका पुरै पुस्तकहरुले प्रत्येक्ष वा अप्रत्येक्षरुपमा उहाँको बारेमा उल्लेख गरेका छन् । पुरानो करारले येशू ख्रीष्टको आगमनको बारेमा र उहाँको जीवनको बारेमा भविष्यवाणी गर्दछ भने नयाँ करारमा ति सबै कुराहरु पुरा भएको कुरा उल्लेख गरिएको छ । येशू केवल एक इतिहासिक व्यक्तित्व मात्र हुनुहुन्न । उहाँ एक मानिस मात्र नभई परमेश्वर पनि हुनुहुन्छ । येशू सत प्रतिशत नै परमेश्वर हुनुहुन्थ्यो र उहाँको आगमन इतिहासकै एक महत्वपुर्ण घट्ना थियो । स्वर्गको परमेश्वरको कस्तो हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा बुझाउन र समस्त मानवजातिलाई पापबाट बचाउनका लागि परमेश्वर स्वयम् येशू ख्रीष्टको रुपमा मानिस बनेर आउनुभयो । परमेश्वर कस्तो हुनुहुन्छ ? परमेश्वर येशू जस्तै हुनुहुन्छ किनकि येशू नै मानवको रुपमा आउनुभएको परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१४,१४ः९) ।

निचोड
बाइबल मानवजातिको मार्गदर्शनका लागि दिइएको परमेश्वरको वचन हो । बाइबल इतिहासमा सबैभन्दा बढि पढिएको र प्रेम गरिएको पुस्तक पनि हो । बाइबल संसारमा सवैभन्दा बढि भाषाहरुमा अनुवाद भएको धर्मग्रन्थ हो । अहिलेसम्म बाइबल २८०० भन्दा बढि भाषाहरुमा अनुवाद भइसकेको छ । बाइबल सवैभन्दा बढि विक्रि हुने पुस्तक पनि हो । आज पनि प्रत्येक १ सेकेण्डमा एउटा बाइबल विक्रि हुने गर्दछ । आजसम्म बाइबलका जम्माजम्मी ५ अरवभन्दा बढि प्रतिहरु छापिएर विक्रि भइसकेका छन् । यसरी यो इतिहासमै सर्वाधिक विक्री भएको पुस्तक हो । बाइबल एक परिवर्तनकारी पुस्तक हो । बाइबलले इतिहासलाई बदलिदिएको छ । विज्ञान, साहित्य, कला, राजनिति, विकास, दर्शनशास्त्र र सभ्यतामाथि बाइबलको प्रभाव अतुलनिय रहेको छ । बाइबलले कुनै जाति, धर्म, समुदाय वा देशलाई मात्र केन्द्रमा राखेको छैन । बाइबलका प्रत्येक अध्यायहरुले समस्त मा नवजातिलाई नै सम्बोधन गरेका छन् । बाइबल अध्ययन गर्ने र यस अनुसार जीवन जिउनेहरुको जीवनमा ठुलो परिवर्तन आउँछ । जानुहोस्, एउटा बाइबल किन्नुहोस् । प्रत्येक दिन बाइबल पढ्नुहोस् । बाइबल अनुसारको जीवन जिउनुहोस् । तपाईको जीवन पुर्णत परिवर्तन हुनेछ । बाइबल अध्ययन गरेर तपाईले परमेश्वर को हुनुहुन्छ ? येशू ख्रीष्ट को हुनुुहुन्छ ? तपाई को हुनुहुन्छ ? जीवनको मुल्य के हो ? भन्ने जस्ता महत्वपुर्ण कुरा सिक्नुहुनेछ ।

सम्बन्धित भिडियो.......

2 comments:

  1. Good information sir! Thank you for sharing this post!

    ReplyDelete
  2. परमेश्वरले हजुरलाई प्रसस्त आशीर्वाद दिउन । सर अब पावलले लेखेका पत्रीहरु कसरी र कहिले बाईबलमा जोडिएको हो। यसबारेमा जानकारी मुलक पोष्ट प्राप्त गर्न सके हामी आभारी हुने थियौ।

    ReplyDelete