Monday, June 10, 2019

आधुनिक बिज्ञानबाट समेत पुष्टि गरिएका बाइबलिय तथ्यहरु—भाग ३ (भिडियो सहित)



भौतिक विज्ञानका पिता भनेर चिनिने महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईसँगै आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु । उनले यसो भनेका छन्, “धर्म विनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ !” उनको यो भनाईमा धर्म र विज्ञान कसरी एक आपसमा सम्बन्धित छन् भन्ने कुरा जान्न सकिन्छ । संसारमा थुप्रै धर्म र विश्वासहरु अस्तित्वमा छन् । कुन चाहिँ धर्म सहि र साँचो हो ? हाम्रो दिमागमा पक्कै यो प्रश्न आउने गर्दछ । पक्कै पनि त्यही विश्वास वा धर्म नै सहि हो जसलाई हरेक पक्षबाट जाँचिएको होस् र अन्तत् त्यो सत्य र सहि सावित भएको होस् । संसारमा त्यस्तो विश्वास केवल ख्रीष्टियन विश्वास नै हो भन्ने कुरा तपाईहरुलाई घोषणा गर्न चाहन्छु । बाइबललाई विभिन्न कालखण्डमा विभिन्न कोण र पक्षबाट जाँचिएको थियो अन्तत यो सिद्ध र सहि सावित भयो । आजको यो लेखमा बाइबलमा उल्लेख गरिएका यस्ता ५ तथ्यहरुको बारेमा चर्चा गर्न गइरहेको छुँ जसलाई आधुनिक विज्ञानले सत्य सावित गरिसकेको छ । अगाडी बढौं ।

(१) सुर्य पनि परिक्रमा गर्दछ


खगोल विज्ञानको उदयसँगै सुर्यले पृथ्वीलाई होईन तर पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने तथ्य प्रमाणीत भएपछि थुप्रै आलोचकहरुले बाइबलका विभिन्न खण्डहरुलाई लिएर बाईबलमा त्रुटी छ भन्न थाले । बाइबलमा सुर्य चलायनमान छ र यो स्थिर नभई परिक्रमा गर्ने गर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो । यसका कारण धेरै जनाहरुले बाइबलको आलोचना गर्न थाले  । पछि गएर थप अध्ययन भएसँगै एउटा यस्तो नयाँ तथ्य सामने आयो जसले सबैलाई चकित पारिदियो । खोजमा पत्ता लगाइए अनुसार सुर्य स्थिर नभई यसले सम्पुर्ण सौर्यमण्डललाई साथमा लिई मिल्कीवे ग्यालेक्सीको परिक्रमा गरिरहेको छ । सुर्य ६ लाख माईल प्रतिघण्टाको हिसाबले मिल्कीवे ग्यालेक्सीको आफ्नै परिधिमा परिक्रमा गरिरहेको छ । केवल त्यत्ति मात्र नभई समस्त ब्रम्हाण्डमा कुनै पनि थोक स्थिर छैनन् । ब्रम्हाण्डमा भएका प्रत्येक खगोलिय पिण्डहरु आफ्नो निश्चित गतिमा निश्चित दिशातर्फ दौडिरहेका हुन्छन् ।  बाईबलमा धेरै अगाडी नै आधुनिक बिज्ञानको यो तथ्यलाई उल्लेख गरिएको थियो । बाइबलमा भजनसँग्रह १८ः४–६ यसो लेखिएको छ, “......उहाँले आकाशमा सुर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह–मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझै, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । आकाशको एक छेऊमा उसको उदय हुन्छ, र अर्को सिमान्तसम्म परिक्रमा गर्छ । त्यसको तापबाट केही कुरा लुकेर रहदैन ।” यसरी बाइबलमा सयौं वर्ष अगाडी सुर्य पनि घुम्दछ भनेर उल्लेख गरेको तथ्य आधुनिक खगोल विज्ञानबाट समेत पुष्टि हुनगयो ।

(२) जल प्रक्रिया


आज स्कुलका साना बालबालिकाहरुलाई समेत जल प्रक्रियाको बारेमा ज्ञान रहेको छ । प्राचिन सँसारमा यसको बारेमा रत्तिभर पनि ज्ञान थिएन । सन् १८८० मा वर्नाड पालिसेले बर्षाको प्रक्रियाको बारेमा तथ्यगत खोज गरे । समुद्र, नदि वा पोखरीहरुमा भएको पानी घामका कारण वाफको रुपमा माथि आकाशमा जान्छ । वायुमण्डलमा चिसो बढि भएका कारण वाफ वरफका मसिना टुक्रा बन्दछ । त्यसपछि विस्तारै त्यो वरफ खस्दैजान्छ र वादल र तुसारोको रुप लिन्छ । वायुमण्डलमा ताप बढेको र बाफको घनत्व बढि भएकाले अवस्थामा पानी पर्न थाल्दछ । त्यही पानी खोलानाला, समुद्रमा जान्छ र फेरी त्यसैबाट बाफ बनेर वायुमण्डलमा गई पानी बनेर वर्सन्छ । यसैलाई जल चक्र भन्ने गरिन्छ । यो तथ्य त केवल आजभन्दा १४० वर्ष अगाडी मात्र पत्ता लगाइएको हो । तर बाइबलले आजभन्दा सयौं बर्ष अगाडी नै पानीको चक्रको बारेमा उल्लेख गरिसकेको थियो भन्ने जान्दा तपाईलाई अचम्म लाग्न सक्छ । बाइबलमा आमोश ९ः६ मा यसो लेखिएको छ, “........जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमीनभरी खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो ।” यसरी शताव्दीऔ अगाडी नै बाइबलमा पानी पर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको थियो ।

(३) ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।


प्राचिन संसारमा ब्रम्हाण्ड सम्बन्धी अठौना विश्वासहरु अस्तित्वमा थिए । ति प्रत्येक अवैज्ञानिक थिए र आधुनिक खगोल विज्ञानका नयाँ अनुसन्धानहरुबाट तिनीहरु अप्रमाणीत भइसकेका छन् । आधुनिक खगोल विज्ञानका ठुला खोजहरुमध्ये एक ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने तथ्य हो । सन् १९२९ मा प्रख्यात खगोल वैज्ञानिक एडविन हव्वलले सर्वप्रथम व्रम्हाण्ड फैलिरहेको छ भन्ने तथ्य प्रमाणीत गरेका थिए । विगव्याङ्गपछि व्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने कुरा आज सर्वमान्य तथ्य भइसकेको छ । यो एउटा यस्तो तथ्य हो जसमाथि कसैले प्रश्न उठाउनै सक्दैन । तर के तपाईलाई थाहा छ बाइबलमा ब्रम्हाण्ड फैलिएको यो तथ्य पाँच पटकभन्दा बढि उल्लेख गरिएको छ । तपाईहरुलाई पुन अवगत गराउन उपयुक्त लाग्यो कि बाइबलमा व्रम्हाण्ड भन्ने शव्द कहि पनि उल्लेख गरिएको छैन । तर यसको सट्टामा आकाश वा आकाशमण्डल भन्ने शव्द प्रयोग गरिएको छ । यसो हुनुको कारण यहि सृङ्खलाको भाग २ को भिडियो उल्लेख गरिसेकेको छुँ । बाइबलमा यशैया ४०ः२२ मा यसो लेखिएको छ , “.........उहाँले आकाशलाई पर्दाझै फिजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैं त्यो फैलाउनुहुन्छ ।” त्यसैगरी अयूव ९ः८ मा यसो लेखिएको छ , “उहाँले नै हो आकाश फिँजाउनुभएको....।” यसरी ब्रम्हाण्ड फैलिदैछ भन्ने तथ्य प्राचिन पुस्तकमा उल्लेख भएको देखेर वैज्ञानिकहरु समेत चकित परेका छन् ।

(४) ब्रम्हाण्ड अनन्त छैन


प्राचिन संसारमा ब्रम्हाण्ड अनन्त छ भन्ने विश्वास गरिन्थ्यो । ब्रम्हाण्ड सधैदेखि यही छ र सधै यस्तै रहिरहनेछ भन्ने विश्वास लोकप्रिय थियो । सन् १९२७ मा वेल्जियमका एक रोमन क्याथोलिक प्रिस्ट जर्जस लेमाइट्रीले विग व्याङ्गको सिद्धान्त सामुन्ने ल्याए । उनको खोजबाट ब्रम्हाण्ड एक समय अस्तित्वमा आएको थियो र यो अनन्त छैन भन्ने पत्ता लाग्यो । यसरी प्राचिन  विश्वको समस्त विश्वास फेरी खरानी भयो । तर के तपाईलाई थाहा छ बाइबलमा यो तथ्य हजारौ वर्ष अगाडी नै उल्लेख गरिएको थियो । बाइबलमा उत्पत्ती १ः१ मा यसो लेखिएको छ , “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” यो खण्डबाट स्पष्ट हुन्छ कि ब्रम्हाण्ड र पृथ्वी समयको कुनै विन्दुमा अस्तित्वमा आएका थिए । त्यसैगरी बाइबलमा अनेकौ खण्डमा बारम्बार ब्रम्हाण्ड र पृथ्वी अनन्त छैन भन्ने कुरा उल्लेख गरिएको छ । बाइबलमा कही पनि ब्रम्हाण्ड र पृथ्वी अनन्त छ भन्ने कुरा उल्लेख गरिएको पाउदैनौ । यो तथ्यको केवल एउटा उदाहरण हेर्दा बाइबलमा हिब्रु १ः१०,११ मा यसो लेखिएको छ, “हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईका बाहुलीको काम हो । तिनीहरु त नष्ट हुनेछन्, तर तपाईचाहिँ रहिरहनुहुन्छ । तिनीहरु वस्त्रझै पुराना भइहाल्नेछन् ।” यहाँ पृथ्वी र ब्रम्हाण्ड नष्ट हुनेछन् भन्ने कुरा स्पष्टरुपमा उल्लेख गरेको देख्न सकिन्छ । थर्मोडाइनामिक्सको दोस्रो नियमले पनि यो सिद्धान्तलाई बल पु¥याउँछ ।

(5) तत्व र पदार्थ एक पटक मात्र सृष्टि गरिएका थिए


ब्रम्हाण्डमा सबैथोक एक पटक मात्र सृष्टि गरिएका थिए । यसमा कुनै कुरा थप्ने, नष्ट गर्ने वा बनाउने काम भइरहेको छैन । यो आधुनिक विज्ञानले सर्वत्र स्विकार गरेको तथ्य हो । थर्मोडाईनामिक्सको पहिलो नियमका अनुसार तत्व, पदार्थ र उर्जा कुनै समय अष्तित्वमा आएका थिए । त्यसपछि ति नयाँ सृष्टि हुने काम भईरहेको छैन । तत्व, पदार्थ र उर्जालाई सृष्टि गर्न वा नष्ट गर्न सकिदैन भन्ने कुरा थर्मोडाईनामिक्सको पहिलो नियमले उल्लेख गर्दछ । यदि यही तथ्यलाई बाइबलमा ल्याएर हेर्दा बाइबलमा स्पष्टसँग ब्रम्हाण्डका सबै कुराहरु सृष्टि गरेर सिद्धिएपछि कुनै कुरा थप्ने र बनाउने काम भएको छैन भनि उल्लेख गरिएको छ । इतिहासमा यो कुरामाथि कसैले खासै ध्यान नदिएतापनि आधुनिक विज्ञानबाट समेत यो तथ्य पुष्टि भएपछि भने सबैको ध्यान आकर्षित भयो । बाइबलमा उत्पत्ती २ः१ मा यस्तो लेखिएको छः “यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए ।” यहाँ स्पष्ट उल्लेख गरिएको छ कि ब्रम्हाण्ड र पृथ्वीका सबै कुराहरु बनाइसिद्धिए । काम पुरा भएको अर्थात सिद्धिएको कुरा यहाँ उल्लेख गरिएको छ । विज्ञानका अनुसार तत्व र पदार्थ एकै समय सृष्टि भएका थिए र तिनको सृष्टिको काम चलिरहेको छैन । अनि बाइबलमा पनि आधुनिक विज्ञानको उदय हुनुभन्दा सयौं वर्ष अगाडी नै यो अचम्मको तथ्य उल्लेख गरिएको थियो ।

अब अन्त्यमा......
के तपाई परमेश्वर र बाइबलमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कुरामा गर्व गर्नुहोस् । तपाईको परमेश्वर अवैज्ञानिक र असान्दर्भिक हुनुहुन्न । तपाईले पढ्ने र शिक्षा दिने बाइबल अवैज्ञानिक र असान्दिर्भिक छैन । यो भिडियो हेरिरहनुभएका प्रत्येकलाई बाइबललाई पुर्वाग्रहरहित भएर हरेक पक्षबाट जाँच गर्न मेरो अनुरोध रहेको छ । जाँच्नुहोस्, हेर्नुहोस् र अन्त्यमा तपाईले बाइबललाई संसारकै सिद्ध पुस्तकको रुपमा पाउनुहुनेछ । बाइबलले जीवन परिवर्तन गर्ने क्षमता राख्दछ किनकि यो समस्त ब्रम्हाण्ड सृष्टि गर्ने जिवित इश्वरको वचन हो । बाइबललाई हेर्नुहोस् अनि विज्ञानलाई हेर्नुहोस् । परिणाम स्वरुप तपाई परमेश्वरबाट टाढा होइन तर परमेश्वरको झन् नजिक पुग्नुहुनेछ ।

भिडियो.........

2 comments:

  1. ए हजुर ओ सुर्य पनि घुम्छ भन्नेकुरा कसले र कहिले पत्ता लगाए भन्ने बारे मा जानकारीको लाही किने लिंक पाउन पाए अत्यान्तै आभारी हुनेथिए | Chrisdiansnepali0@gmail.com यो मेरो मैल id हो | कृपया नभुली दिनु होला |

    ReplyDelete