Showing posts with label खगोल विज्ञान. Show all posts
Showing posts with label खगोल विज्ञान. Show all posts

Wednesday, May 8, 2019

के वास्तवमै “एलियन” छन् त ? अहिलेका अनुसन्धानहरुबाट के पत्ता लगाइएको छ ?


१) के एलियनको अस्तित्वको सम्भावना छ त ?
एलियनहरुको अस्तित्वलाई बिभिन्न तरिकामा पुष्टि गर्ने प्रयत्न भइरहेका छन् र यस सम्बन्धी बिभिन्न धारणाहरु अगाडी आएका छन् । तर यसलाई अहिलेसम्म कसैले पनि तथ्यगतरुपमा प्रमाणीत गर्न भने सकेको छैन । हाम्रो ब्रम्हाण्डमा खरबौँको सँख्यामा ग्रहहरु रहेका छन् र ति सबैले आ–आफ्ना ताराहरुको परिक्रमा गरिरहेका छन् । अहिलेसम्मको हाम्रो खोजमा केवल हामीले पृथ्वीमा मात्र जीवन पाउन सकेका छौ । एलियन भन्ने बित्तिकै हाम्रो दिमागमा टाउको र आँखा ठुलो भएको र जिउ सानो भएको प्राणीको चित्र आउने गर्दछ । हाम्रो ब्रम्हाण्ड यति बिशाल रहेको छ कि यसले एलियनहरुको अस्तित्वको प्रसस्त सम्भावनाहरु बोकेको छ । यि सबैका बावजुद पनि अहिलेसम्मका खोजहरुले एलियन जीवनको अस्तित्वलाई पुष्टी गर्न सकेका छैनन् । एलियन जीवन पत्ता लगाउनकै लागि भनेर सुदुर अन्तरिक्षमा छोडिएको केप्लर टेलिस्कोपले थुप्रै ताराहरुमाथि आफ्नो निगरानी गरिरहेको छ र त्यसको बावजुद पनि एलियनहरुको अस्तित्वको कुनै पनि प्रमाण पत्ता लगाउन सकेको छैन । त्यसकारण प्रश्न यो आउँछ, के यो बिशाल ब्रम्हाण्डमा हामी मात्र एक्लो छौ त ? के अन्यत्र कतै पनि जीवन छैन त ? के एलियनहरुको अस्तित्वको सम्भावना छ ? 
कुनै ग्रहमा पनि जीवन हुनका लागि बिभिन्न कुराको उल्लेखनिय भुमिका हुन्छ । अहिलेसम्म हामीले देखेका ति ग्रहहरुमा चाहिँ यो सँयोग केवल पृथ्वीमा मात्र देखिएको छ । कुनै पनि ग्रहमा जीवनको उत्पत्ती हुनका लागि त्यो ग्रह गोल्डी लक जोनमा अवस्थित हुनुपर्दछ । गोल्डी लक जोनमा पर्ने ग्रहहरु त्यसले परिक्रमा गरिरहेको ताराबाट उपयुक्त दुरीमा अवस्थित हुनुपर्दछ । यदि त्यो ग्रह उपयुक्त दुरीमा नभई आफ्नो ताराको धेरै नजिक रहेको छ भने त्यहाँ तापक्रम बढि भएर जीवन उत्पत्ती हुने सम्भावना असम्भव हुन्छ । यदि त्यो ग्रह अलिक टाढाबाट परिक्रमा गरिरहेको छ भने त्यो बढि चिसो हुन्छ र त्यहाँ जीवन उत्पत्ती हुन सक्दैन । त्यो ग्रहले आफ्नो तारालाई सहि समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । अर्थात अन्य ग्रहमा पनि जीवन सम्भव हुनका लागि त्यसले पृथ्वीले सुर्यको परिक्रमा गर्न जति समय लगाउँछ तिनले पनि लगभग त्यत्ति नै समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । त्यत्तीमात्र नभई त्यो तारा आफ्नो तारापुञ्ज अर्थात ग्यालेक्सीको उपयुक्त ठाउँबाट परिक्रमा गरिरहेको हुनुपर्दछ । तारापुञ्जका सबै क्षेत्रमा भएका ग्रहहरुमा जीवन सम्भव हुदैन । जीवन सम्भव रहनका लागि त्यो तारा तारापुञ्जको बाहिरी भागतिर अवस्थित हुनुपर्दछ । यि सबै कुराहरु भएर त्यो ग्रह आफ्नो उपग्रहबाट सहि दुरीमा छैन भने पनि त्यो ग्रहमा जीवन सम्भव हुन सक्दैन । पृथ्वीमा जीवन सम्भव हुनका लागि चन्द्रमासँगको यसको दुरीको महत्वपुर्ण भुमिका रहेको छ । र कुनै पनि ग्रह वा पिण्डमा जीवन उत्पत्तीका लागि सबैभन्दा आवस्यक कुरा पानी हो । यदि त्यहाँ एच.टु.ओ. को अस्तित्व छ भने मात्र जीवन सम्भव हुन्छ र त्यहाँको बातावरणमा अक्सीजन र कार्बनडाइअक्साईड ठिक स्तरमा हुनुपर्दछ । माथि उल्लेख गरिएका सबै कुराहरु कुनै पनि ग्रहमा जीवनको अस्तित्व हुनका लागि आधारभुत कुराहरु हुन् । यि भन्दा बाहेक अन्य थुप्रै कुराहरु पनि छन् जसले जीवनको अस्तित्वका लागि महत्वपुर्ण भुमिका खेल्दछन् ।
भौतिकशास्त्रको नियम सबै ठाउँमा एकनाश नै लागु हुन्छ । त्यसकारण सम्पुर्ण बिशाल ब्रम्हाण्डमा केवल हाम्रो पृथ्वी मात्र गोल्डी लक जोनमा पर्दछ भन्नु मुर्खता हुन्छ । ब्रम्हाण्डमा अवस्थित यी असँख्य तारामण्डलहरुमा कहि पनि जीवन हुनसक्ने सम्भावना रहेको छ । यदि सम्पुर्ण ग्रहहरुको सँख्याहरुलाई लिएर केवल ०.०१ प्रतिशतमा मात्र जीवनको अस्तित्व हुनसक्छ भनेर मान्ने हो भनेता पनि जीवनको अस्तित्व हुन सक्ने ग्रहहरुको सँख्या १० लाख भन्दा बढि हुन जान्छ । त्यसोभए यति बिशाल सम्भावना बोकेको ब्रम्हाण्डमा हामीले किन एलियनहरुलाई अहिलेसम्म भेट्न सकेका छैनौ त ? 
२) किन हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ त ?
भौतिकशास्त्री फ्रेन डेरेकले गहिरो खोज र अध्ययनपछि १९६१ मा एक समिकरण निकाले जसलाई “डेरेक समिकरण” भनिन्छ । उनका अनुसार हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र करिब १०,००० भन्दा बढि ग्रहहरुमा जीवन हुनसक्छ । यति ठुलो सँख्याको बावजुद पनि हामीले किन उनीहरुलाई भेट्न सकेका छैनौ त ? बर्षौ अगाडी पठाइएका भोएजरर्सहरुले अरौबौ किलो मिटरको दुरी तय गरेर हाम्रो सौर्य–मण्डललाई समेत पार गरेर अरौबौ किलो मिटर टाढा गइसक्दा पनि एलियन जीवन कतै पत्ता लाग्न सकेन । बैज्ञानिकहरुले बर्षौदेखि रेडियसनहरुबाट ब्रम्हाण्डमा सन्देशहरु पठाउने काम गरिरहेका छन् तर आजसम्म कसैले पनि ति सन्देशहरुको जवाफ पठाएको छैन । यदि एलियनहरु अति नै उन्नत छन् र पृथ्वीमा मिनेटभरको समयमा आउँन सक्छन् भने किन तिनीहरुले हामीले पठाएका सन्देशहरुको प्रतिक्रिया दिएनन् त ? त्यसकारण कतिको भनाईमा मानिस मात्र ब्रम्हाण्डमा एकमात्र बुद्धिजिवी प्राणी हो र कुनै एलियन सभ्यताको अस्तित्व नै छैन । यदि एलियनको अस्तित्वलाई स्विकार्ने हो भने उनीहरुसँगको हाम्रो भेट सहज छैन भन्ने कुरा बुझनु अत्यावस्यक छ । यसको निम्ति सबैभन्दा ठुलो बाधा ताराहरुको आपसी दुरी हो । ताराहरु एकअर्काबाट यति टाढा रहेका छन् कि एउटा ताराबाट अर्को तारासम्म यात्रा गर्नका लागि थुप्रै प्रकाश बर्ष लाग्दछ ।
हाम्रो सौर्यमण्डल कै कुरा ग¥यो भने हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको तारा प्रोक्जीमा सेन्टौरीसम्म पुग्न हामीलाई ४.३३ प्रकाशबर्षको भन्दा बढ्दा समय लाग्छ । अर्थात कुनै यस्तो यानको आबिस्कार गरियो जसले एक सेकेण्डको समयमा पृथ्वीलाई ७ चक्कर लगाउन सक्छ र त्यो यानमा त्यही गतिमा यात्रा गर्न सकियो भने प्रोक्जीमा सेन्टौरीसम्म पुग्नका लागि ४.३३ बर्ष लाग्नेछ । प्रोक्जीमा सेन्टौरी हामीबाट खरौबौ किलो मिटर टाढा रहेको छ र अहिले अस्तित्वमा रहेका अन्तरिक्षयानबाट यात्रा गरेर त्यहाँ जानका लागि हामीलाई ३०,००० बर्षको समय लाग्नेछ । यदि कुनै सभ्यता बिकसित अवस्थामा भएतापनि त्यसका लागि यत्रो लामो दुरी तय गर्नु साधारण कुरा होइन । यदि एलियनहरुको अस्तित्व छ भनेर स्विकार्ने नै हो भने पनि तिनीहरुलाई भेट्नका निम्ति ताराहरुको आपसी दुरी ठुलो बाधक र चुनौति हो । ब्रम्हाण्डमा प्रकाश नै सबैभन्दा तिब्रगतिमा यात्रा गर्ने चिज हो जसले एक सेकेण्डमा ३ लाख किलो मिटरको दुरी तय गर्दछ । मानौ कोही एलियन सभ्यता यति बिकसित छ कि तिनीहरुले तिब्रगतिमा यात्रा गर्ने यानहरु आबिस्कार गरिसकेका छन् र पनि तिनीहरुलाई पृथ्वीसम्म आउन थुप्रै समय लाग्नेछ । अल्वर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त अनुसार कुनै पनि बस्तु प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । यदि त्यस्तो भएमा त्यो वस्तु आगोमा परिणत हुन्छ ।
केप्लर टेलिस्कोपले बर्षौदेखि करीब ३५,०० ग्रहहरुमाथि निगरानी राखिरहेको छ र एलियन जीवन पत्ता लगाउने प्रयत्न गर्दैछ । तर अहिलेसम्मको नतिजा भने निराशाजनक नै देखिएको छ । एलियन भन्ने बित्तिकै हामी कस्तो जीवन बुझदछौ ? के एलियन हामीहरुभन्दा बढि उन्नत र बिकसित हुनैपर्दछ त ? यस्तो अवस्य पनि होइन । एलियनहरु सानो ब्याक्टेरिया, साना प्राणीहरु र अबिकसित प्राणीका रुपमा पनि रहन सक्छन् । हुनसक्छ अरौबौ ग्रहहरुमध्ये केवल केही लाखमा मात्र जीवन अस्तित्वमा रहन सक्दछ भने ति लाखौ ग्रहहरुमध्ये केवल केही सयमा मात्र मानिस जस्तै बिवेकशिल प्राणी रहेका होलान् । त्यसकारण पनि हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ । एलियनहरुलाई भेट्ने हाम्रो ठुलो धोको भएतापनि हामीले अहिलेसम्म उनीहरुलाई भेट्न सकेका छैनौ तर नाशाका बैज्ञानिकहरु भने २०४० सम्म एलियन जीवनको अस्तित्व पत्ता लाग्ने कुरामा आशावादी देखिन्छन् । यदि त्यसो भएमा यो यस शताब्दीकै सबैभन्दा ठुलो खोज हुनेछ । 
३) एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका प्रयत्नहरु
अब एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका केही प्रयत्नहरुको बारेमा हेरौ । भोयजर्सहरुको उद्धेश्य एलियन जीवन नै पत्ता लगाउनु नभएतापनि यसको प्रयोग एलियन जीवनको बारेमा अध्ययन गर्न भइरहेको छ । बैज्ञानिकहरुले थुप्र्रै बर्ष अगाडी भोयजर्स वन र भोयजर्स टु लाई ब्रम्हाण्डको अनन्त यात्राका लागि छोडिदिएका छन् । यि दुवै यन्त्रहरु पृथ्वीबाट अरबौ किलो मिटर टाढा गइसकेका छन् र त्यहाँबाट नयाँ नयाँ तस्विरहरु पठाइरहेका छन् । त्यसैगरी नाशाले २००९ मा एलियनहरुको अस्तित्व पत्ता लगाउनकै लागि भनेर केप्लर स्पेश टेलिस्कोप छोडेको थियो । यसले आकाशमा करीब ३५०० वटा ग्रहहरुमाथि नजर लगाईरहेको छ । हालसम्म यसले ग्लीज ६६७ सि, ग्लीज ५८१ डि., केप्लर ४५२ बि., केप्लर २२ बि., केप्लर ६२ डि., केप्लर ६९ सि., जस्ता ग्रहहरु पत्ता लगाएको छ जो ह्याबिटेबल जोनमा रहेका छन् र जीवनको भारी सम्भावना बोकेका छन् । चाडै नै यि ग्रहहरुमा जीवन छन् वा छैनन् भन्ने कुरामा बैज्ञानिकहरु निष्कर्षमा पुग्ने सम्भावना रहेको छ । एलियन जीवन पत्ता लगाउनका लागि गरिएका प्रयत्नहरुमध्ये सबैभन्दा महत्वपुर्ण प्रयत्न “ब्रेक थ्रु” परियोजना हो । फेसबुकका सँस्थापक मार्क जुकरबर्ग र भौतिकशास्त्री प्रख्यात बैज्ञानिक स्टेफेन हकिङ्ग र रुसी ब्यापारी युरी मिलनरले अगष्ट २०१६ मा यो परियोजनाको सुरुवात गरेका थिए । यो परियोजनाले एउटा सानो चिपको आकारको यन्त्रलाई हाम्रो सबैभन्दा नजिकको तारागण अल्फा सेन्टोरीमा पठाएको छ । अल्फा सेन्टौरी ३ वटा ताराहरुको समुह हो र त्यहाँ एउटा ग्रह ह्याबिटेबल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेको पत्ता लागेको छ । उक्त स्टार–चिपले प्रकाशको यात्राको जम्मा गतिको ५ भागको १ भाग बराबर यात्रा गर्नेछ । यसरी करिब साढे चार प्रकाश बर्ष टाढा रहेको अल्फा सेन्टोरीसम्म यात्रा गर्नका लागि उक्त स्टार–चिपलाई २० देखि ३० बर्षको समय लाग्नेछ । यो परियोजनाबाट एलियन जीवन पत्ता लाग्ने कुराप्रति बैज्ञानिकहरु आशावादी देखिन्छन् ।
अब अन्त्यमा........
के वास्तवमै एलियन छन् त ? यो प्रश्नको तथ्यगत उत्तर आजको समयसम्म हामीसँग छैन । सम्भावनाहरु प्रसस्तै देखिएता पनि तिनीहरुको उपस्थिती तथ्यगतरुपमा प्रमाणीत नभइसकेकाले  यसै भन्न सक्ने अवस्था पनि छैन । मानिस मात्र यति बुद्धिजीवि र बिवेकशिल प्राणी बन्नुले पनि थुप्रै प्रश्नहरु उब्जाउछ । ईश्वरको यो सृष्टि अद्भुत र रहस्यले भरिपुर्ण छ । जबसम्म सबै कुराहरु हाम्रा अगाडी छर्लङ्ग हुदैनन् तब सम्म सबै कुरा रहस्यकै गर्भमा रहनेछन् । आजसम्मका सबै खोज र अनुसन्धानहरुबाट मानवजाति नै सम्पुर्ण ब्रम्हाण्डको एकमात्र बुद्धिजिवी प्राणीको रुपमा अस्तित्वमा रहेको देखिन्छ । तसर्थ इश्वरले उपहार स्वरुप यो अनन्त ब्रम्हाण्डमा हामीलाई दिएको यो बहुमुल्य जीवनलाई भरपुर उपयोग गर्न सके जीवनको अर्थ अझ सार्थक हुन सक्छ ।  यदि हामीले यही पुस्तामा कुनै ग्रहमा जीवन पत्ता लगाउन सफल भयौ भने इतिहासमा हामी नै त्यो पूस्ता हुनेछौ जसले सबैभन्दा ठुलो रहस्य उजागर गर्नेछौ र के हामी वास्तवमै एक्लै छौ त ? वा के वास्तवमै एलियन छन् त ? भन्ने चुनौतिपुर्ण र रहस्यमयी प्रश्नको जवाफ पत्ता लगाउनेछौ ।
सम्बन्धित भिडियो..........

Thursday, May 2, 2019

पृथ्वी जस्तै ९ ग्रहहरु (के एलियनहरु ति ग्रहहरुमा छन् होला त ?)

आधुनिक विज्ञानको उदयसँगै ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबलाई चकित पारेको छ । मानिसको परिकल्पनामा पनि ब्रम्हाण्डको सिमा विस्तार हुन पुगेको छ । खगोल विज्ञानले पनि समयसँगै निकै फड्को मारिसकेको छ । हामीले रातमा देख्ने पिलपिलाईरहेका धमिला ताराहरुमाथि नजर राख्नका लागि आज हामीसम्म केप्लर र हव्वल जस्ता टेलिस्कोपहरु रहेका छन् । ब्रम्हाण्डलाई अझै नजिकबाट चिन्ने र यसको बारेमा वृस्तित अध्ययन गर्ने मानवजातिको कोशिष्ले तिव्रगतिमा निरन्तरता पाइरहेको छ ।

के पृथ्वीभन्दा बाहिर अन्य कुनै ग्रहहरुमा पनि जीवन रहेको छ ? यो अति नै रहस्यमयी प्रश्न हो । अनुसन्धानका क्रममा यस्ता थुप्रै ग्रहहरु पत्ता लागेका छन् जो देखिनमा हाम्रो पृथ्वी जस्तै छन् । वैज्ञानिकहरुमा अनुसार ति ग्रहहरुमा एलियन जीवन हुनसक्ने भारी सम्भावना रहेको छ । प्रविधीको कमिले ति ग्रहहरुको बारेमा पुर्ण अध्ययन हुने भने बाँकी नै रहेको छ । ति ग्रहहरु हामीबाट धेरै टाढा रहेका छन् । यो भिडियोमा यस्ता ९ वटा ग्रहहरुको सुचि उल्लेख गरिएको छ जो आफ्नो ताराको ह्याविटेवल जोनमा रहेर परिक्रमा गरिरहेका छन् । यि ग्रहहरुमा पानी, ठोस जमिन र वनस्पतीहरु हुने भारी सम्भावना रहेका छन् । यि ग्रहहरु पृथ्वी जस्तै देखिने भएकाले तिनलाई सुपर अर्थ नाम दिइएको छ । ति ९ ग्रहहरु यस प्रकार रहेका छन्ः

(१) केप्लर १८६ एफ (Kepler-186f)


यो अहिलेसम्म भेट्टाइएको पहिलो यस्तो ग्रह हो जो आकारमा पृथ्वी जत्रै रहेको छ । यो पृथ्वीबाट ४९० प्रकाशवर्ष टाढा रहेको छ । ४९० प्रकाशवर्ष भनेपछि हाम्रा लागि निकै टाढा हो । यो चट्टानबाट बनेको ग्रह हो र यसमा पानी हुने भारी सम्भावना रहेको छ । यो ग्रह पृथ्वीभन्दा केवल १० प्रतिशत मात्र ठुलो रहेको छ । यो ग्रहले आफनो ताराको ह्याविटिल जोनमा रहेर परिक्रमा गरिरहेको छ । यो ग्रहमा पानी रहेको कुरामा वैज्ञानिकहरु सहमत रहेका छन् ।

(२) ग्लीज ५८१ जी (Gliese 581g)


यो ग्रह सन् २०१० मा पत्ता लगाइएको थियो । यो ग्लिस ५८१ नामक ताराको ह्याविटेवल जोनमा रहेको छ । यो ग्रह देखिनमा पृथ्वी जस्तै रहेको छ । जीवनको भारी सम्भावना भएका ग्रहहरुमध्ये यो पनि एक पर्दछ । यो पृथ्वीबाट २० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीबाट दुई देखि तिन गुणा ठुलो रहेको छ । यसले आफ्नो तारा ग्लिस ५८१ लाई ३० दिनमा एक पटक चक्कर लगाउने गर्दछ । 

३) ग्लीज ६६७ सि सि (Gliese 667Cc)


ग्लिस ६६७ सि.सि. ग्रहलाई सुपर अर्थको नाउले पनि चिन्ने गरिन्छ । यो ग्रह स्कर्पिअस तारागणमा रहेर ग्लिस ६६७ ताराको परिक्रमा गरिरहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे चार गुणा ठुलो रहेको छ । यो पृथ्वीबाट २२ प्रकाशवर्ष टाढा रहेको छ । यसले आफ्नो तारालाई २८ दिनमा परिक्रमा गर्ने गर्दछ । यसको तारा एक डर्फ तारा हो र यो हाम्रो सुर्यको तुलनामा ३ गुणा सानो रहेको छ । यो ग्रह ठोस जमिन र पानीबाट बनेको अनुमान लगाइएको छ । वैज्ञानिकहरुले यो ग्रहमा पनि एलियन जीवन हुनसक्ने भारी सम्भावना जताएका छन् ।

४) केप्लर २२ वि -Kepler-22b)


यो ग्रह हाम्रो पृथ्वी भन्दा ढाई गुणा ठुलो रहेको छ । यसले यस्तो ताराको परिक्रमा गरिरहेको जसको आकार र तापक्रम हाम्रो सुर्यसँग लगभग समान रहेको छ । यो ग्रह सिग्नस कन्स्टिलेसन (तारागढा) मा रहेको छ । अनुसन्धानबाट यसको तापक्रम ७२ डिग्री फरेनहाइट अर्थात २२ डिग्री सेल्सीयस पत्ता लगाइएको छ । यो पृथ्वीबाट ६०० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रहमा पनि पानी रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् ।

५) एच डि ४०३०७ जि -HD 40307g)


यो ग्रहलाई अक्टोवर २०१२ मा पत्ता लगाइएको थियो । एच डि ४०३०७ जि ले रातो डर्फ ताराको परिक्रमा सही तरिकामा ह्याविटेवल जोनमा रहेर गरिरहेको छ । यसको सौर्यमण्डलमा ६ वटा ग्रहहरु रहेका छन् । यो ग्रह पृथ्वीबाट ४२ प्रकाशवर्षबाट पिक्टर कन्स्टिलेसनमा (तारागण) रहेको छ । यसले आफ्नो ताराको वरपर करिब ९ करोड किलो मिटरको दुरीलाई पार गरेर परिक्रमा गर्दछ । यो हाम्रो पृथ्वीभन्दा ७ गुणा ठुलो रहेको छ । यो ग्रहमा चट्टान र वायुमण्डल दुवै रहेको छ । वैज्ञानिकहरुले यो ग्रहलाई वृस्तितरुपमा अध्ययन गरिरहेका छन् ।

६) एच डि ८५५१२ वि -HD 85512b)


यो ग्रह भेला कस्न्टिलेसनमा पृथ्वीबाट ३५ प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे तिन गुणा भारी रहेको छ । अनुसन्धानबाट यो ग्रहको तापक्रम २५ डिग्री सेल्सीयस रहेको पत्ता लगाइएको छ । यो ग्रहको बारेमा थप अध्ययन हुने बाँकी नै रहेको छ । यसमा पानी छ कि छैन भन्ने कुरामा वैज्ञानिकहरु अझै पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

७) टाउ सेटी ई -Tau Ceti e)


यो ग्रह डिसेम्बर २०१२ मा पत्ता लगाइएको थियो । टाउ सेटी एउटा तारा हो जो हाम्रो पृथ्वीबाट करिब १२ प्रकाशवर्ष टाढा सेटस कन्स्टिलेसन (तारागण) मा रहेको छ । यो सौर्यप्रणालीमा अन्य थुप्रै ग्रहहरु पनि पत्ता लगाइएको छ । ति मध्ये टाउ सेटी ई र एफ ह्याविटेवल जोनमा रहेर ताराको परिक्रमा गरिरहेका छन् । पृथ्वीको तुलनामा यसले आफ्नो सुर्यको परिक्रमा गर्न निकै कम समय लगाउने गर्दछ । यो ग्रह पनि जीवनका लागि उपयुक्त हुने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् ।

८) ग्लीस ५८१ डि -Gliese 581d)


एक अध्ययनले देखाएअनुसार यो ग्रहमा कार्वनडाइअक्साईड हुने सम्भावना भारी रहेको । ग्लीस ५८१ डि र ग्ली ५८१ जि दुवै ग्रहले ह्याविटेवल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेका छन् । यो ग्रह पनि चट्टानले बनेको छ र जीवनको प्रसस्त सम्भावना बोकेको छ । यो ग्रह हाम्रो पृथ्वीबाट करिब २० प्रकाशवर्ष टाढा रहेको छ ।

९) टाउ सेटी एफ -Tau Ceti f_


यो ग्रहले टाउ सेटी ताराको परिक्रमा गरिरहेको छ । टाउ सेटी इ र यो ग्रह उक्त ताराको ह्याविटेवल जोनमा रहेका छन् । यो ग्रह अर्को ग्रहको तुलनामा आफ्नो तारालाई नजिकबाट परिक्रमा गरिहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे ६ गुणा ठुलो रहेको छ । यो ग्रहको तापक्रम अलिक बढि रहेको छ तथापी यसमा जीवन हुनसक्ने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् । यो ग्रहको बारेमा थप अध्ययन भइरहेको छ ।

यि ग्रहहरुमा एलियनहरु छन् वा छैनन् भन्ने कुराको जानकारी पाउन हामीले केही समय पर्खनै पर्नेहुन्छ । हामी अझै पनि यति उन्नत भइसकेका छैनौ कि थुप्रै प्रकाशवर्ष टाढा रहेका ति ग्रहहरुको बारेमा अध्ययन गर्न सकौं । हाम्रो सवैभन्दा नजिकको तारा अल्फा सन्टौरीमा भएका ग्रहहरुको बारेमा समेत वृस्तित जानकारी हामीसँग छैन । अल्फा सेन्टोरी हामीबाट केवल चार प्रकाशवर्ष टाढा रहेको छ ।
तपाईहरुलाई के लाग्छ ? के ब्रम्हाण्डमा एलियनहरु छन् वा छैनन् ? पृथ्वीभन्दा बाहिर जीवन छ वा छैन ? के उल्लेखित ९ वटा ग्रहहरुमा एलियनहरु होलान् त ? कृपया तपाईको विचार कमेन्टमा लेख्न नविर्सनुहोला । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि ।

Wednesday, May 1, 2019

के हो “विग व्याङ्ग” को सिद्धान्त ? के यो एक प्रमाणीत सिद्धान्त हो ?

१) ब्रम्हाण्डको सँक्षिप्त परिचय



तपाई ब्रम्हाण्डको एक हिस्सा हुनुहुन्छ । ब्रम्हाण्ड तपाईकै एक हिस्सा हो । किनकी हामी ब्रम्हाण्डमै भएका चिजहरुबाट बनेका छौ र ब्रम्हाण्ड हामीमै भएको चिजबाट बनेको छ । ब्रम्हाण्डको बारेमा शताव्दीयौ देखि नै अध्ययन भइरहेको भएतापनि यसको बारेमा अचम्मलाग्दा तथ्यहरु भने आधुनिक युगमा नै पत्ता लगाइएका थिए । ग्यालिली ग्यालिलियोले अन्तरिक्षलाई आफुले आविस्कार गरेको दुर्विनले ननियालुञ्जेलसम्म हामीले कल्पना गरेको ब्रम्हाण्ड सानो र सँकचित थियो ।

“ब्रम्हाण्ड” शव्द आफैले समस्त कुराहरुलाई समावेश गर्दछ । ब्रम्हाण्ड भित्र नै अरवौं ग्यालेक्सीहरु रहेका छन् । ति अरवौ ग्यालेक्सीहरुभित्र अरवौं ताराहरु रहेका छन् । ति अरवौं ताराहरुका पनि अरवौं र खरवौं ग्रह र उपग्रहहरु रहेका छन् । हामी एक अति नै ठुलो घर अर्थात ब्रम्हाण्डको हिस्सा हौ । ब्रम्हाण्ड कति ठुलो छ ? यसको जवाफ हामीसँग छैन । तर दृष्य ब्रम्हाण्ड कति ठुलो छ भन्ने जवाफ भने आज हामीसँग रहेको छ । दृष्य ब्रम्हाण्ड भन्नाले हामीले देख्न सक्ने ग्यालेक्सीहरुले भरिएको ब्रम्हाण्डको क्षेत्रलाई चिनिन्छ । यो ९३ अरव प्रकाश वर्ष ठुलो रहेको छ । १ प्रकाश वर्ष भन्नाले प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई भनिन्छ । प्रकाशले १ सेकेण्डमा मात्रै ३ लाख कि.मी.को दुरी तय गर्दछ । यदि तपाई कुनै यस्तो यानमा बसेर ब्रम्हाण्डको एक किनारदेखि अर्को किनारको यात्रामा निस्कनुभयो जसले १ सेकेण्डमा ३ लाख कि.मी दुरी पार गर्दछ अर्थात पृथ्वीलाई १ सेकेण्डमा ५ पटक चक्कर लगाउन सक्छ । तपाइलाई ब्रम्हाण्डको एक किनारबाट अर्को किनारसम्म पुग्न ९३ अरव वर्ष लाग्नेछ । ब्रम्हाण्ड हाम्रो दिमागले नाप्न नसक्ने गरी विशाल रहेको छ । ब्रम्हाण्ड तिन वटा महत्वपुर्ण कुराहरुबाट बनेको छ ः डार्क म्याटर, डार्क एनर्जी र अणु अर्थात एटम्सबाट । समस्त व्रम्हाण्डको २७ प्रतिशत हिस्सा डार्क म्याटरबाट बनेको छ । ६८ प्रतिशत हिस्सा डार्क एनर्जीबाट बनेको छ भने केवल ५ प्रतिशत हिस्सा मात्र अणु अर्थात एटम्सबाट बनेको छ । हामीले देख्ने ग्यालेक्सी, तारा, ग्रह, उपग्रह यि सबै अणुबाट बनेका छन् र यि केवल समस्त ब्रम्हाण्डको ५ प्रतिशत अँश मात्रै हुन् । यति विशाल र रहस्यमयी ब्रम्हाण्ड कसरी अस्तित्वमा आयो ? यि सब ग्रह, नक्षत्र, तारा, ग्यासका बादलहरु, ग्यालेक्सीहरु कसरी अस्तित्वमा आए ? यसको पछाडीको रहस्य रहेको छ विग व्याङ्ग अर्थात महाविष्फोट ।

२) विग व्याङ्गको सिद्धान्तका प्रतिपादक को हुन् ?

विग व्याङ्गको सिद्धान्तलाई सन् १९२७ मा बेल्जिएमका एक क्याथोलिक प्रिस्ट साथै खगोल वैज्ञानिक जर्जस लेमाइट्रीले प्रतिपादन गरेका हुन् । सन् १९१७ मा सर्वप्रथम् महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको जनरल रिलेटीभिटीको सिद्धान्तले ब्रम्हाण्ड या त फैलदैछ या त साँघुरिदैछ भन्ने कुरा उल्लेख गरेको थियो । जर्जस लेमाइट्रीले ब्रम्हाण्ड साँघुरिने होइन तर फैलदैछ भन्ने सिद्धान्त प्रस्तुत गरे । त्यत्ति मात्र नभई उनले यदि ब्रम्हाण्ड फैलदैछ भने यो कुनै समय एउटै ठाउँमा मात्रै पनि थियो होला र कुनै विन्दुमा ब्रम्हाण्ड सुरु भएको पनि थियो होला भन्ने तर्क दिए । ब्रम्हाण्ड एक विन्दुको रुपमा थियो र त्यो समय कुनै अज्ञात कारणवस महाविष्फोट हुन पुग्यो र यसरी ब्रम्हाण्ड सुरु भयो र फैलिन पुग्यो भन्ने सिद्धान्त लेमाइट्रीले प्रस्तुत गरे जसलाई विग–व्याङ्ग अर्थात महा–विष्फोटको सिद्धान्त भनिन्छ । सुरुमा उनको यो सिद्धान्तलाई धेरैले स्विकार गरेनन् र उनको यो सिद्धान्तलाई मजाक बनाइयो । तर जब एडविन हब्वलले सन् १९२९ मा रेड सिफ्टहरुको अध्ययनबाट ब्रम्हाण्ड फैलदैछ भन्ने तथ्य पत्ता लगाएपछि भने सबैले लेमाइट्रिको विग व्याङ्ग सिद्धान्तलाई स्विकार गरे ।

३) विग व्याङ्ग सिद्धान्त के हो ?

ब्रम्हाण्ड आजभन्दा १३.७ अरव वर्ष पहिले केवल एक अणु जत्रो एक सानो विन्दुको रुपमा अस्तित्वमा थियो । अर्थात आज तपाईले देख्ने समस्त चिजहरु एउटै विन्दुभित्र खादिएर रहेका थिए । त्यो विन्दु अति नै घना र तातो थियो कि त्यसको हामी कल्पना समेत गर्न सक्दैनौ । यो अवस्थालाई ग्रयाविटेसनल सिँगुलारिटी भनिन्छ । त्यो अवस्थामा त्यहाँ कुनै पनि भौतिक नियहरुले काम गर्दैनथे । तर त्यो विन्दुभित्र चार आधारभुत शक्तिहरु अर्थात फन्डमेन्टल फोर्सेजहरु अस्तित्वमा थिएः इलेक्ट्रोमेग्नेटिजम, विक न्यूक्लियर फोर्स, स्ट्रोङ्ग न्यूक्लियर फोर्स र गुरुत्वाकर्षण बल । अनि कुनै अज्ञात कारणवस विष्फोट हुनपुग्यो । त्यो विष्फोट यति भयानक थियो कि त्यसका कारण ब्रम्हाण्ड सेकेण्डभन्दा पनि सानो समयमा निकै ठुलो क्षेत्रमा विस्तार हुन पुग्यो । यसरी विग व्याङ्गसँगै समय र ब्रम्हाण्डको कहिल्यै अन्त्य नहुने विस्तार सुरुभयो ।

ब्रम्हाण्ड एक विन्दुको रुपमा छदा यसको तापक्रम अत्यन्त बढि थियो तर विग व्याङ्गसँगै ब्रम्हाण्ड फैलिन थालेपछि भने यसको तापक्रम घट्न थाल्यो । ब्रम्हाण्डको यो अवस्थालाई प्लाज्मा भनिन्छ । यो समयमा ब्रम्हाण्ड अन्धकार मात्र थियो र प्रकाशको अस्तित्व थिएन । यो युगमा अणु सृष्टि नै भएको थिएन । यो ब्रम्हाण्डको अन्धकारको युग थियो । यो समयमा ब्रम्हाण्डका कणहरु तिव्रगतिमा फैलिरहेका थिए । यसरी विग व्याङ्ग भएको ३ लाख ८० हजार बर्षपछि मात्र प्रोटोन र न्युट्रोन अस्तित्वमा आए । त्यससँगै इलेक्ट्रोनले प्रोटोन र न्यूट्रोनको चक्कर लगाउन सुरु ग¥यो र ब्रम्हाण्डकै पहिलो अणु अर्थात एटम रचना भयो । विग व्याङ्गको ३ लाख ८० हजार बर्षपछि मात्रै ब्रम्हाण्ड प्रकाशले भरिन सुरु ग¥यो । त्यो समयभन्दा अगाडी ब्रम्हाण्ड फैलिरहेको त थियो तर सबैतिर शान्त थियो र कुनै पनि भौतिक नियमहरुले काम गरिरहेका थिएनन् । ब्रम्हाण्ड जति फैलदैगयो त्यत्ति नै गुरुत्वाकर्षण बलले आफ्नो प्रभाव देखाउन सुरु ग¥यो । गुरुत्वार्षण बलका कारण बादलका थुप्राहरु एक ठाउँमा जम्मा हुन सुरु गरे । यसरी ब्रम्हाण्डमा थुप्रै विशालकाय ग्यासका थुप्राहरु देखिन थाले । ति ग्यासका बादलभित्र पनि गुरुत्वाकर्षण बलको प्रभाव थियो र त्यहाँ पनि ति बादलहरु खाँदिदै रहन थाले । यसरी ति ग्यासका बादलहरुभित्र ताराहरुको जन्म हुनथाल्यो । ब्रम्हाण्डमा अब ताराहरु पिल्पीलाइरहेका थिए । ति ताराहरुबाट पनि ग्रह र नक्षत्रहरुको जन्म भयो र यसरी एउटा लामो यात्रा तय गरेर ब्रम्हाण्ड आजको स्वरुपसम्म आइपुगेको छ ।

यसरी सामान्य अर्थमा विग व्याङ्ग के हो भनेर हेर्दा । ब्रम्हाण्ड सुरुवातमा एउटा सानो धुलोको कणको आकारमा थियो । यो अति नै तातो र खाँदिएको अवस्थामा थियो । तपाईको घर, तपाईको सवारी साधन, तपाईले प्रयोग गर्ने मोबाइल, ल्यापटपदेखि लिएर तपाईले देख्ने गरेका सबै कुरा त्यही एउटा सानो विन्दुमा समाहित थिए । यतिसम्म कि तपाई र म पनि त्यही विन्दुमा नै थियौ । अचानक महाविस्फोट भयो । त्यो विस्फोट के कारणले भयो भन्ने बारेमा हामीलाई केही ज्ञान छैन । तर त्यही भयानक विस्फोटले नै समय र ब्रम्हाण्डलाई जन्म दियो अनि सुरु भयो ब्रम्हाण्डको कहिल्यै अन्त्य नहुने विस्तार । अनि आजपनि ब्रम्हाण्ड प्रकाशको गतिभन्दा पनि तिव्रगतिमा फैलिरहेको छ ।

४) के विग व्याङ्ग भरपर्दो स्रोत हो त ? (प्रमाणहरु)

के विग व्याङ्ग एक प्रमाणित सिद्धान्त हो त ? के १३ं.७ अरव वर्ष अगाडी घट्ेको तथाकथित विग व्याङ्गका प्रमाणहरु उपलव्धहरु छन् होला त ? वा यो एक सिद्धान्त मात्र हो ? यो प्रश्न हाम्रो दिमागमा आउन सक्छ । विगव्याङ्ग एक प्रमाणित सिद्धान्त हो । यसका केही अचम्मलाग्दा प्रमाणहरु आजपनि ब्रम्हाण्डमा उपलव्ध रहेका छन् । पहिलो प्रमाण तपाईको नजिक रहेको तपाईको टेलिभिजनमा रहेको छ । तपाईको टिभिले सिग्नल समात्न झयारझयार दुष्य देखाउँछ । यसो हुनुको कारण चाहिँ स्याटलाइटले कुनै सिग्नल समात्न नसकेको अवस्थामा उसले ब्रम्हाण्डमा विग व्याङ्गपछि यात्रा गरिरहेका रेडियसनहरुलाई टि.भीमा देखाइदिने गर्दछ । विग व्याङ्गपछि ति विकिरणहरु पुरै ब्रम्हाण्डमा फैलिरहेका छन् । यसको खोज सन् १९६५ मा भएको थियो । यदि रातमा चन्द्रमा र ताराहरु नभएको भए ब्रम्हाण्डमा एक प्रकारको मन्दरातो प्रकाशलाई देख्न सकिन्थ्यो । यसलाई कस्मिक माइक्रोवाव व्याकग्राउण्ड भनिन्छ जो विगव्याङ्गपछि समस्त ब्रम्हाण्डमा फैलिरहेको छ । त्यसैगरी अर्को प्रमाण । यदि ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ र प्रत्येक ग्यालेक्सीहरु एकअर्काबाट टाढा गइरहेका छन् भने कुनै समय यि पक्कै एउटै ठाउँमा थिए होला । यिनको सुरुवात एउटै विन्दुबाट भएको हुनुपर्दछ । साथै जब हाइड्रोजन र हिलियम जस्ता तत्वहरुको खोजी भयो तब विगव्याङ्ग भएकै रहेछ भन्ने कुरा प्रमाणित भयो ।

अब अन्त्यमा.....

ब्रम्हाण्ड निकै रोचक रहेको छ । ब्रम्हाण्ड अझै पनि थुप्रै रहस्यहरुले भरिएको छ । ब्रम्हाण्डलाई जान्ने मानवजातिको आकाँक्षाले पनि शिखर चढ्दैछ । के हामीले कहिल्यै ब्रम्हाण्डलाई पुरै बुझन सकौला त ? यसको जवाफ हो, सक्दैनौ । किनकि यो व्रम्हाण्ड यति विशाल र रहस्यले भरिएको छ कि यसको सामु त हाम्रो हैसियत केही पनि छैन । हामी ब्रम्हाण्डकै हिस्सा हौ र एकदिन यसैमा नै फेरी फर्किएर जानेछौ । त्यसकारण मृत्युले केही गर्न अघि नै जीवनमा केही गरौ । ताकि यो विशाल व्रम्हाण्डमा तपाइले प्राप्त गर्नुभएको बहुमुल्य जीवन असल तरिकामा जिउन सक्नुभएको होस् ।