Sunday, June 2, 2019

बाइबलमा भएका बैज्ञानिक तथ्यहरु ! के बाइबल बिज्ञानसँग मेल खान्छ ? (भाग १)—भिडियो सहित


बाइबल कुनै बिज्ञान सम्बन्धी पुस्तक होइन । यो मानवजातिप्रति परमेश्वरको प्रेमको बारेमा वर्णन गर्ने एक विशुद्ध धर्मग्रन्थ हो । बाइबल प्रेम र उद्धारको पुस्तक हो। बाइबल केवल एक पुस्तक मात्र नभई पुस्तकहरुको सँग्रह हो जसभित्र जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । बाइबलभित्र भविष्यवाणी, कविता, इतिहास, आत्मःकथा, जीवनी, उपदेशहरु र लेखहरु जस्ता धेरै विद्याहरु अटाउन सकेका छन् । बाइबलको अन्तिम पुस्तक आजभन्दा १९,०० वर्ष पहिले नै लेखिसकिएको थियो । त्यो बेलामा विज्ञान गौण अवस्था रहेको थियो । त्यत्ति पहिले नै बाइबलमा यस्ता तथ्यहरु उल्लेख गरिएका थिए जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु अन्तर्गत भाग १ को यो सृङ्खलामा ५ वटा यस्ता तथ्यहरु उल्लेख गरिएका जसलाई आधुनिक विज्ञानले समेत मोहर लगाइसकेको----- ः

(१) ब्रम्हाण्डमा असँख्य ताराहरु अस्तित्वमा छन्ः

बाईबलले आजभन्दा २४०० बर्षभन्दा अगाडी नै आकाशका ताराहरु गन्न सकिदैन भन्ने कुरा उल्लेख गर्दा सबैलाई अचम्म लागेको थियो । आधुनिक विज्ञानको उदय नभएको समयमा नै बाइबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन खगोलशास्त्रीहरुले आकाशमा ११०० ताराहरु रहेका छन् भनेर निश्चित गरेको थिए । आकाशमा देख्न सकिने गरी केवल ११०० ताराहरु मात्र रहेका छन् । सोह्रौ शताव्दीको सुरुवाततिर वैज्ञानिक ग्यालिली ग्यालिलियोले पहिलो पटक दुर्विनको आविस्कार गरे । उनले ब्रम्हाण्डमा नियाल्दा त्यहाँ केवल ११०० ताराहरु मात्र नभई असँख्य ताराहरु देखे । यसरी प्राचिन खगोलशास्त्रीहरुको अनुमान गलत सावित भयो । तर बाईबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा यर्मिया ३३ः२२ मा उल्लेख गरिसकेको थियो जसलाई आधुनिक खगोल बिज्ञानले पुष्टी गरेको छ । केवल हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र २ खरबभन्दा बढि ताराहरु रहेका छन् भने त्यस्ता ग्यालेक्सीहरु अरबौँ छन् जसमा अरबौ र खरबौको संख्यामा ताराहरु रहेका छन् । बाइबलमा यर्मिया ३३ः२२ मा यसो भनिएको छः “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोख्न नसकिनेजस्तै......” यसरी त्यो बेलाको खगोलविज्ञानको विपरित गई ब्रम्हाण्डमा असँख्या ताराहरु छन् भनेर बाइबलमा उल्लेख गरिएको तथ्य आधुनिक विज्ञानले अचम्म रितिमा पुष्टि गरिदिएको छ ।

(२) पृथ्वी शुन्यतामा झुण्डिरहेको छ

पृथ्वीको आकार र यसको अवस्थाको बारेमा प्राचिन विश्वमा अनैकौ मित्थ्याहरु रहेका थिए । प्राचिन विश्वमा ग्रिकहरुले बिश्वास गर्दथे कि पृथ्वी हर्कुलस नामक राक्षसको काँधमा राखिएको छ । त्यसकारण ले नै हामी अर्कूलस नामक कम्पनीको साइकलमा पृथ्वी एउटा मानिसको काँधमा राखिएको आकृति राखिएको देख्दछौ । अनि अन्य कतिपयका अनुसार पृथ्वी कछुवाको ढाँडमा राखिएको छ भन्ने बिश्वास गरिन्थ्यो । मैले पनि सानो छदा पृथ्वी कछुवाको ढाडमा अवस्थित छ र कछुवा हल्लियो भने पृथ्वीमा भुकम्प जान्छ भन्ने कथाहरु सुनेको थिए । तपाईहरुले पनि यस्तै प्रकारका मित्थ्याहरु सुन्नु भएकै थियो होला । तर बाईबलले आजभन्दा ३५०० बर्ष अगाडी नै
अचम्म रितिमा पृथ्वी शुन्य ब्रम्हाण्डमा झुण्डिएको छ भन्ने तथ्य उल्लेख गरेको छ । बाइबलमा अयुब २६ः७ मा यस्तो लेखिएको छः “उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ , र शुन्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ ।” आधुनिक विज्ञानको उदयसँगै पृथ्वी र ब्रम्हाण्डको वृस्तित हुदा पृथ्वी त वास्तवमै शुन्य आकाशमा झुण्डियर सुर्यको परिक्रमा गरिरहेको छ भन्ने तथ्य पत्ता लाग्यो । एक पटक फेरी बाइबलले सबैलाई चकित पारिदियो ।

(३) अणुबाट ब्रम्हाण्डको सृष्टि

यो तथ्य पनि बाइबलमा अद्भुत तरिकामा उल्लेख गरिएको थियो । आज हामी सबैलाई थाहा छ कि जे जति हामी सृष्टिमा देख्दछौ ति सबै कुराहरु केवल अणुबाट बनेका छन् । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले देखिएको सम्पुर्ण सृष्टि एउटा अदृष्य कुराबाट बनेको हो भन्ने कुरा उल्लेख ग¥यो । विज्ञान गौण रुपमा रहेका कारण यो तथ्यप्रति कसैले खासै ध्यान दिएन । आधुनिक विज्ञानको उदयसँगै यो कुरा प्रष्ट हुन गयो कि विश्वब्रम्हाण्डका प्रत्येक पदार्थ एक अदृष्य कुराबाट बनेको छ जसको नाउँ अणु हो । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले सम्पुर्ण संसार अदृष्य कुराबाट बनेको छ भन्ने कुरा उल्लेख गरिसकेको थियो । बाइबलमा हिब्रु ११ः३ मा यो विषयमा यस्तो लेखिएको छ ः “..........र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।” यहाँ अणु शव्द उल्लेख नगरिएतापनि हामी स्पष्टरुपमा दृष्य कुराहरु एक अदृष्य चिजबाट बनेको छ भन्ने कुरा उल्लेख गरेको देख्दछौ । हामी अणुलाई देख्न सक्दैनौ तर अणुबाट नै समस्त थोकहरु बनेका छन् ।

(४) रगत जीवनको आधार हो

आजको चिकित्सा विज्ञान रगत नै शरीरको सबैभन्दा महत्वपुर्ण चिज हो र यो नै जीवनको आधार हो भन्ने तथ्यसँग पुर्णत सहमत छ । त्यसकारणले नै शरीरमा कुनै रोग छ वा छैन भन्ने कुरा जान्नका लागि रगत जाँच गर्ने गरिन्छ । तर प्राचिन विश्वमा यो कुराको ज्ञान थिएन । आजभन्दा १२० बर्ष अगाडी सम्म पनि रोगी मानिसहरुको शरीरमा चोट पारेर रगत बग्न दिईन्थ्यो र यसैको कारणले थुपै्र जनाको मृत्यु हुने गर्दथ्यो । अमेरिकाका राष्टपिता भनेर चिनिने जर्ज वासिङ्गनको मत्यु पनि यसै कारणले नै भएको थियो भन्ने अनुमान लगाइएको छ । तर आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले रगत जीवनको स्रोत हो भन्ने कुरा घोषणा गरेको थियो । आधुनिक समयमा यो कुरा पुर्णत सिद्ध भईसकेको छ । हामीले रगत गुमायौ भने प्राण गुमाउदछौ । बाइबलमा लेवी १७ः१ यस्तो लेखिएको छ ः “किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।” । यो खण्डमा हरेक जीवित प्राणीको प्राण अर्थात जीवन त्यसको रगतमा हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । अचम्म रितिमा बाइबलमा यो तथ्य आधुनिक चिकित्सा विज्ञानको उदयभन्दा कैयौ पहिले नै उल्लेख गरिसकिएको थियो ।

(५) बग्ने पानीमा नुहाउनु वा सरसफाई गर्नु

आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले कुनै पनि बिरामी निको भएको अवस्थामा उसले ताजा अर्थात बगिरहेको पानीले नुहाउनु पर्दछ भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन समयमा बिरामीहरु निको भयो भने तलाउमा वा जम्मा गरिराखेको थोरै पानीमा नुहाईदिने गरिन्थ्यो जसको कारणले किटाणुबाट सँक्रमित भई अझै धेरै मानिसहरुको मृत्यु हुने गर्दथ्यो । नबग्ने पानीमा किटाणुहरु झनै फस्टाउन पाउने हुनाले मानिसहरुमा यसको सँक्रमण हुनु स्वभाविक थियो । आधुनिक चिकित्सा बिज्ञानले बग्ने पानीमा वा तातो पानीले मात्र बिरामीलाई नुहाउनु पर्दछ भन्ने कुरा प्रमाणीत गरिसकेको छ । बाइबलमा लेवी १५ः१३ मा यसको बारेमा यसो लेखिएको छ ः “त्यो मानिस जब आफ्नो रोगबाट निको हुन्छ , तब त्यसले आफ्नो लुगा धोएर आफ्नो जीउ ताजा पानीले नुहाओस्.........” यो तथ्य प्राचिनमा समयमा नै बाइबलमा उल्लेख गरिएको थियो ।

अब अन्त्यमा........
बाइबल संसारकै सबैभन्दा बढि प्रभावशाली धर्मग्रन्थ हो भन्ने कुरामा दुइमत छैन । बाइबल भित्र थुप्रै विषयहरु अटाउन सकेका छन् र ति प्रत्येक सामाजिक, व्यवहारिक, आध्यात्मिक, चिकित्सा, मनोवैज्ञानिक र वैज्ञानिक तवरमा सठिक र मान्य छन् । त्यसकाणले बाइबल आजपनि अति नै पढिने, विक्रि गरिने, अनुवाद गरिने र छापिने पुस्तक हो । आधुनिक विज्ञानको उदय हुनुपुर्व नै त्यो अन्धकारको युगमा कसरी बाइबलमा यस्ता अचम्म लाग्दा विज्ञान सम्बन्धी तथ्यहरु उल्लेख गरिए होलान् भन्ने प्रश्न हाम्रो मनमा आउनु स्वभाविक नै हो । बाइबलमा २ पत्रूस १ः२१ मा यसो लेखिएको छ ः “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन् ।” बाइबल किन यति शुद्ध र सान्दर्भिक छ र भन्ने प्रश्नको जवाफ होः यो कुनै मानिसको इच्छा र बुद्धिको आधारमा लेखिएको पुस्तक होइन । यो समस्त संसार सृष्टि गर्ने परमेश्वरको इच्छाद्धारा लेखिएको पुस्तक हो । अनि परमेश्वरले कहिल्यै पनि गल्ती गर्नुहुन्न त्यसकारण बाइबलमा कुनै भुल वा त्रुटिहरु छैनन् ।

सम्बन्धित भिडियो.........


No comments:

Post a Comment