Monday, June 10, 2019

आधुनिक बिज्ञानबाट समेत पुष्टि गरिएका बाइबलिय तथ्यहरु—भाग ३ (भिडियो सहित)



भौतिक विज्ञानका पिता भनेर चिनिने महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईसँगै आजको यो भिडियोलाई सुरु गर्न चाहन्छु । उनले यसो भनेका छन्, “धर्म विनाको विज्ञान लङ्गडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ !” उनको यो भनाईमा धर्म र विज्ञान कसरी एक आपसमा सम्बन्धित छन् भन्ने कुरा जान्न सकिन्छ । संसारमा थुप्रै धर्म र विश्वासहरु अस्तित्वमा छन् । कुन चाहिँ धर्म सहि र साँचो हो ? हाम्रो दिमागमा पक्कै यो प्रश्न आउने गर्दछ । पक्कै पनि त्यही विश्वास वा धर्म नै सहि हो जसलाई हरेक पक्षबाट जाँचिएको होस् र अन्तत् त्यो सत्य र सहि सावित भएको होस् । संसारमा त्यस्तो विश्वास केवल ख्रीष्टियन विश्वास नै हो भन्ने कुरा तपाईहरुलाई घोषणा गर्न चाहन्छु । बाइबललाई विभिन्न कालखण्डमा विभिन्न कोण र पक्षबाट जाँचिएको थियो अन्तत यो सिद्ध र सहि सावित भयो । आजको यो लेखमा बाइबलमा उल्लेख गरिएका यस्ता ५ तथ्यहरुको बारेमा चर्चा गर्न गइरहेको छुँ जसलाई आधुनिक विज्ञानले सत्य सावित गरिसकेको छ । अगाडी बढौं ।

(१) सुर्य पनि परिक्रमा गर्दछ


खगोल विज्ञानको उदयसँगै सुर्यले पृथ्वीलाई होईन तर पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने तथ्य प्रमाणीत भएपछि थुप्रै आलोचकहरुले बाइबलका विभिन्न खण्डहरुलाई लिएर बाईबलमा त्रुटी छ भन्न थाले । बाइबलमा सुर्य चलायनमान छ र यो स्थिर नभई परिक्रमा गर्ने गर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो । यसका कारण धेरै जनाहरुले बाइबलको आलोचना गर्न थाले  । पछि गएर थप अध्ययन भएसँगै एउटा यस्तो नयाँ तथ्य सामने आयो जसले सबैलाई चकित पारिदियो । खोजमा पत्ता लगाइए अनुसार सुर्य स्थिर नभई यसले सम्पुर्ण सौर्यमण्डललाई साथमा लिई मिल्कीवे ग्यालेक्सीको परिक्रमा गरिरहेको छ । सुर्य ६ लाख माईल प्रतिघण्टाको हिसाबले मिल्कीवे ग्यालेक्सीको आफ्नै परिधिमा परिक्रमा गरिरहेको छ । केवल त्यत्ति मात्र नभई समस्त ब्रम्हाण्डमा कुनै पनि थोक स्थिर छैनन् । ब्रम्हाण्डमा भएका प्रत्येक खगोलिय पिण्डहरु आफ्नो निश्चित गतिमा निश्चित दिशातर्फ दौडिरहेका हुन्छन् ।  बाईबलमा धेरै अगाडी नै आधुनिक बिज्ञानको यो तथ्यलाई उल्लेख गरिएको थियो । बाइबलमा भजनसँग्रह १८ः४–६ यसो लेखिएको छ, “......उहाँले आकाशमा सुर्यको निम्ति एउटा वासस्थान बनाउनुभएको छ । ऊ विवाह–मण्डपबाट निस्केको दुलहाजस्तै छ, एक जना विजेताझै, जो आफ्नो दौड दौड्नमा हर्षित हुन्छ । आकाशको एक छेऊमा उसको उदय हुन्छ, र अर्को सिमान्तसम्म परिक्रमा गर्छ । त्यसको तापबाट केही कुरा लुकेर रहदैन ।” यसरी बाइबलमा सयौं वर्ष अगाडी सुर्य पनि घुम्दछ भनेर उल्लेख गरेको तथ्य आधुनिक खगोल विज्ञानबाट समेत पुष्टि हुनगयो ।

(२) जल प्रक्रिया


आज स्कुलका साना बालबालिकाहरुलाई समेत जल प्रक्रियाको बारेमा ज्ञान रहेको छ । प्राचिन सँसारमा यसको बारेमा रत्तिभर पनि ज्ञान थिएन । सन् १८८० मा वर्नाड पालिसेले बर्षाको प्रक्रियाको बारेमा तथ्यगत खोज गरे । समुद्र, नदि वा पोखरीहरुमा भएको पानी घामका कारण वाफको रुपमा माथि आकाशमा जान्छ । वायुमण्डलमा चिसो बढि भएका कारण वाफ वरफका मसिना टुक्रा बन्दछ । त्यसपछि विस्तारै त्यो वरफ खस्दैजान्छ र वादल र तुसारोको रुप लिन्छ । वायुमण्डलमा ताप बढेको र बाफको घनत्व बढि भएकाले अवस्थामा पानी पर्न थाल्दछ । त्यही पानी खोलानाला, समुद्रमा जान्छ र फेरी त्यसैबाट बाफ बनेर वायुमण्डलमा गई पानी बनेर वर्सन्छ । यसैलाई जल चक्र भन्ने गरिन्छ । यो तथ्य त केवल आजभन्दा १४० वर्ष अगाडी मात्र पत्ता लगाइएको हो । तर बाइबलले आजभन्दा सयौं बर्ष अगाडी नै पानीको चक्रको बारेमा उल्लेख गरिसकेको थियो भन्ने जान्दा तपाईलाई अचम्म लाग्न सक्छ । बाइबलमा आमोश ९ः६ मा यसो लेखिएको छ, “........जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमीनभरी खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो ।” यसरी शताव्दीऔ अगाडी नै बाइबलमा पानी पर्ने प्रक्रियाको बारेमा उल्लेख गरिएको थियो ।

(३) ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।


प्राचिन संसारमा ब्रम्हाण्ड सम्बन्धी अठौना विश्वासहरु अस्तित्वमा थिए । ति प्रत्येक अवैज्ञानिक थिए र आधुनिक खगोल विज्ञानका नयाँ अनुसन्धानहरुबाट तिनीहरु अप्रमाणीत भइसकेका छन् । आधुनिक खगोल विज्ञानका ठुला खोजहरुमध्ये एक ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने तथ्य हो । सन् १९२९ मा प्रख्यात खगोल वैज्ञानिक एडविन हव्वलले सर्वप्रथम व्रम्हाण्ड फैलिरहेको छ भन्ने तथ्य प्रमाणीत गरेका थिए । विगव्याङ्गपछि व्रम्हाण्ड निरन्तर फैलिरहेको छ भन्ने कुरा आज सर्वमान्य तथ्य भइसकेको छ । यो एउटा यस्तो तथ्य हो जसमाथि कसैले प्रश्न उठाउनै सक्दैन । तर के तपाईलाई थाहा छ बाइबलमा ब्रम्हाण्ड फैलिएको यो तथ्य पाँच पटकभन्दा बढि उल्लेख गरिएको छ । तपाईहरुलाई पुन अवगत गराउन उपयुक्त लाग्यो कि बाइबलमा व्रम्हाण्ड भन्ने शव्द कहि पनि उल्लेख गरिएको छैन । तर यसको सट्टामा आकाश वा आकाशमण्डल भन्ने शव्द प्रयोग गरिएको छ । यसो हुनुको कारण यहि सृङ्खलाको भाग २ को भिडियो उल्लेख गरिसेकेको छुँ । बाइबलमा यशैया ४०ः२२ मा यसो लेखिएको छ , “.........उहाँले आकाशलाई पर्दाझै फिजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैं त्यो फैलाउनुहुन्छ ।” त्यसैगरी अयूव ९ः८ मा यसो लेखिएको छ , “उहाँले नै हो आकाश फिँजाउनुभएको....।” यसरी ब्रम्हाण्ड फैलिदैछ भन्ने तथ्य प्राचिन पुस्तकमा उल्लेख भएको देखेर वैज्ञानिकहरु समेत चकित परेका छन् ।

(४) ब्रम्हाण्ड अनन्त छैन


प्राचिन संसारमा ब्रम्हाण्ड अनन्त छ भन्ने विश्वास गरिन्थ्यो । ब्रम्हाण्ड सधैदेखि यही छ र सधै यस्तै रहिरहनेछ भन्ने विश्वास लोकप्रिय थियो । सन् १९२७ मा वेल्जियमका एक रोमन क्याथोलिक प्रिस्ट जर्जस लेमाइट्रीले विग व्याङ्गको सिद्धान्त सामुन्ने ल्याए । उनको खोजबाट ब्रम्हाण्ड एक समय अस्तित्वमा आएको थियो र यो अनन्त छैन भन्ने पत्ता लाग्यो । यसरी प्राचिन  विश्वको समस्त विश्वास फेरी खरानी भयो । तर के तपाईलाई थाहा छ बाइबलमा यो तथ्य हजारौ वर्ष अगाडी नै उल्लेख गरिएको थियो । बाइबलमा उत्पत्ती १ः१ मा यसो लेखिएको छ , “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।” यो खण्डबाट स्पष्ट हुन्छ कि ब्रम्हाण्ड र पृथ्वी समयको कुनै विन्दुमा अस्तित्वमा आएका थिए । त्यसैगरी बाइबलमा अनेकौ खण्डमा बारम्बार ब्रम्हाण्ड र पृथ्वी अनन्त छैन भन्ने कुरा उल्लेख गरिएको छ । बाइबलमा कही पनि ब्रम्हाण्ड र पृथ्वी अनन्त छ भन्ने कुरा उल्लेख गरिएको पाउदैनौ । यो तथ्यको केवल एउटा उदाहरण हेर्दा बाइबलमा हिब्रु १ः१०,११ मा यसो लेखिएको छ, “हे परमप्रभु, तपाईले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईका बाहुलीको काम हो । तिनीहरु त नष्ट हुनेछन्, तर तपाईचाहिँ रहिरहनुहुन्छ । तिनीहरु वस्त्रझै पुराना भइहाल्नेछन् ।” यहाँ पृथ्वी र ब्रम्हाण्ड नष्ट हुनेछन् भन्ने कुरा स्पष्टरुपमा उल्लेख गरेको देख्न सकिन्छ । थर्मोडाइनामिक्सको दोस्रो नियमले पनि यो सिद्धान्तलाई बल पु¥याउँछ ।

(5) तत्व र पदार्थ एक पटक मात्र सृष्टि गरिएका थिए


ब्रम्हाण्डमा सबैथोक एक पटक मात्र सृष्टि गरिएका थिए । यसमा कुनै कुरा थप्ने, नष्ट गर्ने वा बनाउने काम भइरहेको छैन । यो आधुनिक विज्ञानले सर्वत्र स्विकार गरेको तथ्य हो । थर्मोडाईनामिक्सको पहिलो नियमका अनुसार तत्व, पदार्थ र उर्जा कुनै समय अष्तित्वमा आएका थिए । त्यसपछि ति नयाँ सृष्टि हुने काम भईरहेको छैन । तत्व, पदार्थ र उर्जालाई सृष्टि गर्न वा नष्ट गर्न सकिदैन भन्ने कुरा थर्मोडाईनामिक्सको पहिलो नियमले उल्लेख गर्दछ । यदि यही तथ्यलाई बाइबलमा ल्याएर हेर्दा बाइबलमा स्पष्टसँग ब्रम्हाण्डका सबै कुराहरु सृष्टि गरेर सिद्धिएपछि कुनै कुरा थप्ने र बनाउने काम भएको छैन भनि उल्लेख गरिएको छ । इतिहासमा यो कुरामाथि कसैले खासै ध्यान नदिएतापनि आधुनिक विज्ञानबाट समेत यो तथ्य पुष्टि भएपछि भने सबैको ध्यान आकर्षित भयो । बाइबलमा उत्पत्ती २ः१ मा यस्तो लेखिएको छः “यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए ।” यहाँ स्पष्ट उल्लेख गरिएको छ कि ब्रम्हाण्ड र पृथ्वीका सबै कुराहरु बनाइसिद्धिए । काम पुरा भएको अर्थात सिद्धिएको कुरा यहाँ उल्लेख गरिएको छ । विज्ञानका अनुसार तत्व र पदार्थ एकै समय सृष्टि भएका थिए र तिनको सृष्टिको काम चलिरहेको छैन । अनि बाइबलमा पनि आधुनिक विज्ञानको उदय हुनुभन्दा सयौं वर्ष अगाडी नै यो अचम्मको तथ्य उल्लेख गरिएको थियो ।

अब अन्त्यमा......
के तपाई परमेश्वर र बाइबलमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कुरामा गर्व गर्नुहोस् । तपाईको परमेश्वर अवैज्ञानिक र असान्दर्भिक हुनुहुन्न । तपाईले पढ्ने र शिक्षा दिने बाइबल अवैज्ञानिक र असान्दिर्भिक छैन । यो भिडियो हेरिरहनुभएका प्रत्येकलाई बाइबललाई पुर्वाग्रहरहित भएर हरेक पक्षबाट जाँच गर्न मेरो अनुरोध रहेको छ । जाँच्नुहोस्, हेर्नुहोस् र अन्त्यमा तपाईले बाइबललाई संसारकै सिद्ध पुस्तकको रुपमा पाउनुहुनेछ । बाइबलले जीवन परिवर्तन गर्ने क्षमता राख्दछ किनकि यो समस्त ब्रम्हाण्ड सृष्टि गर्ने जिवित इश्वरको वचन हो । बाइबललाई हेर्नुहोस् अनि विज्ञानलाई हेर्नुहोस् । परिणाम स्वरुप तपाई परमेश्वरबाट टाढा होइन तर परमेश्वरको झन् नजिक पुग्नुहुनेछ ।

भिडियो.........

Sunday, June 9, 2019

के येशू नेपाल र भारतमा आउनुभएको थियो ? येशूको जीवनका अज्ञात वर्षहरु ! (भिडियो सहित)


कति वर्ष देखि कति वर्षसम्मलाई अज्ञात वर्षहरु भनेर चिनिन्छ ?

ख्रीष्टियन इतिहासमा येशूको जीवनका अज्ञात वर्षहरुलाई लिएर निकै बिवाद चलेको थियो । येशू बाह्र वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको थियो । यो बारेमा लूका २ः४२ मा यसो लेखिएको छ ः “जब येशू बाह्र वर्षका हुनुभयो, तब उहाँहरु चाडको रीतिअनुसार येरुशलेममा जानुभयो ।” त्यसपछि बाइबलमा येशूको बारेमा उहाँ एकैपटक ३० वर्ष पुगिसकेपछि घट्ना उल्लेख गरिएको छ । लूका ३ः२३ मा यसो लेखिएको छः “येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुदा उहाँ करिब तीस बर्षका हुनुहुन्थ्यो......।” येशू १२ वर्षको उमेरमा येरुशलेमको मन्दिरमा जानुभएको घट्नापछिको उहाँ सिधै यर्दन नदिमा वप्तिष्मा दिने यूहन्नाकहाँ वप्तिष्मा लिन देखा पर्नुभएको छ । यसरी यो समयको विचमा १८ वर्षको अन्तराल रहेको छ । यही समयलाई नै “अज्ञात वर्षहरु” भन्ने गरिन्छ । यो अठार वर्षको अवधिमा येशू कहाँ हुनुहुन्थ्यो र के गर्नुभयो भन्ने बारेमा बाइबलमा कुनै घट्ना उल्लेख नगरिएकाले विभिन्न प्रकारका सिद्धान्तहरुको रचना हुन पुगेका छन् । आजको यो लेखमा येशूको जीवनका अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु, यसका बारेमा रहेका विभिन्न भ्रमहरु र अन्तमा वास्तविकता चाहिँ के हो भन्ने बारेमा हेर्नेछौ ।

अज्ञात वर्षहरु सम्बन्धि केही प्रमुख सिद्धान्तहरु

सिद्धान्त १ः येशू बेलायत जानुभएको सिद्धान्त
लेखक डेन्निस प्राइसले उनको पुस्तक “येशूका अज्ञात वर्षहरुः येशू बेलायत आउनुभएको अचम्मलाग्दा प्रमाणहरु” नामक पुस्तकमा येशू व्यापार गर्नका लागि अरिमाथियाका योसेफका साथ बेलायत आउनुभएको थियो भन्ने दावि गरेका छन् । साथै सन् ३० तिर बेलायतको एक जातिले “इसू” नाउँ गरेका प्रभावशाली व्यक्तिको नाउँ उल्लेख गरिएको सिक्का समेत प्रचलनमा ल्याएका थिए भन्ने दावि उनले गरेका छन् ।

सिद्धान्त २ः येशू जापान जानुभएको सिद्धान्त
कतिपय इतिहासकारहरुले उहाँ अज्ञात वर्षहरुमा जापानमा जानुभएको थियो भन्ने दावि गरेका छन् । यस सिद्धान्तका अनुसार येशू २१ वर्षको उमेरमा जापानको पश्चिमी किनारको भुभागमा आइपुग्नुभएको थियो र त्यसपछि उहाँ पूmजी पर्वतमा जानुभयो । फूजी पर्वत जापानको निकै प्रख्यात पर्वत हो र यसको धार्मिक महत्व रहेको छ । फूजी पर्वतमा नै येशूले जापानी भाषा, सँस्कृति, धर्म र दर्शनशास्त्र सिक्नुभयो । यस सिद्धान्तका अनुसार येशू जापानमा करिब १० वर्ष रहेपछि उहाँ फेरी आफ्नो देश इस्राएल फिर्ता जानुभयो । आजपनि जापानको एक सहर सिङगोका वासिन्दाहरु येशू क्रुसमा टाँगिनुभएन तर त्यहाँबाट उम्केर उहाँ त्यहाँ आउनुभएको थियो, उहाँ त्यही रहनुभयो, विवाह गर्नुभयो, उहाँका छोराछोरीहरु पनि जन्मिए र कालान्तरमा उहाँ त्यही मर्नुभयो भन्ने दावि गर्दछन् ।

सिद्धान्त ३ः सील्क रोडमा यात्रा गर्नुभएको सिद्धान्त
सील्क रोड प्राचिन समयमा यूरोप, मध्य एशिया र पुर्वी एशियालाई जोड्न एक प्रख्यात व्यापारिक मार्ग थियो । सन् १८८७ मा निकोलास रोइरीकले तिव्वतमा यात्रा गरेका थिए । उनका अनुसार त्यो बेला उनले येशू ख्रीष्ट त्यहाँ आउनुभएको विभिन्न इतिहासिक प्रमाणहरु भेट्टाएका थिए । उनका अनुसार येशू सील्क रोडमा यात्रा गर्दै अफगानिस्तान र तिव्वत हुदै भारतसम्म आउनुभएको थियो । येशूले दिनुभएका शिक्षाहरु धेरै मात्रामा पुर्विय दर्शनशास्त्रसँग मेल खानुलाई पनि उनले यसको प्रमाणको रुपमा दावि गरेका छन् ।

सिद्धान्त ४ः “एस्सीन” (साधु) को रुपमा मृत–सागरका गुफाहरुमा रहनुभएको सिद्धान्त
पहिलो शताव्दीमा मृत–सागरको क्षेत्र वरपरका गुफाहरुमा एक धार्मिक पन्थका मानिसहरु एक्लो र साधुको जीवन विताउथे जसलाई एस्सीन भन्ने गरिन्थ्यो । उनीहरु समाजबाट परै रहेर शान्त जीवन विताउथे । कतिपयका अनुमानमा येशू साधुको रुपमा मृतसागर वरपरका गुफाहरुमा एस्सीनको रुपमा १८ वर्षसम्म रहनुभएको थियो । येशू जीवनभर अविवाहित रहनुलाई पनि उनीहरुले यसको प्रमाणको रुपमा लिने गर्दछन् किनकि त्यो समयमा एस्सीनहरुले विवाह गर्दैनथे ।

सिद्धान्त ५ः बौद्ध भिक्षुको रुपमा भारत र नेपालमा आउनुभएको सिद्धान्त
सन् १९८४ मा निकोलास नोटोभिचले “ख्रीष्टको अज्ञात जीवन” भन्ने पुस्तक प्रकाशित गरे । उनको यो पुस्तकले त्यो समयमा निकै उथलपुथल मच्यायो । निकोलास एक रसियन डाँक्टर थिए । उनले भारतको पञ्जाब, लद्धाख, कश्मिर जस्ता ठाउँहरु र कश्मिरमा यात्रा गरेका थिए ।

उनले दावि गरे अनुसार उनी लद्धाखमा छदा उनले केही बौद्ध भिक्षुहरुलाई भेटेका थिए जससँग “सन्त ईशाको जीवनीः मानिसहरुका सन्तानहरुमध्ये उत्कृष्ट” भन्ने ग्रन्थ थियो । उनले उक्त पुस्तकलाई अनुवाद गरे र त्यसलाई “ख्रीष्टका अज्ञात वर्षहरु” भन्ने नाउँ दिए । त्यो पुस्तकको एक भागमा यसो लेखिएको छ ः “पाली भाषा पुर्णरुपमा सिकिसकेपछि धर्मि व्यक्ति ईशाले आफैलाई पवित्र शास्त्रहरु सिक्नमा समर्पित गर्नुभयो । ईशा, जसलाई बुद्धले आफ्नो पवित्र वचन फैलाउनको लागि चुन्नुभएको थियो, ७ वर्षपछि पवित्र शास्त्रहरुलाई पुर्णरुपमा व्याख्या गर्न सक्ने हुनुभयो । त्यसपछि उहाँले नेपाल र हिमालय पर्वत छोडेर राजिपोल्टनको उपत्यकातर्फ लाग्नुभयो र त्यसपछि बिभिन्न व्यक्तिहरुलाई प्रचार गर्दै पश्चिमतर्फ जानुभयो ।”
उनले कश्मिरमा येशूको चिहान भेट्टाएको दावि पनि गरे । खोजी गर्दा त्यहाँ सन्त ईशाको चिहान पनि भेट्टियो । तर अधिँकाश बाइबल विद्धानहरु त्यो चिहान येशू ख्रीष्टको नभएको कुरामा सहमत रहेका छन् ।

बाइबलले के भन्छ ?
माथि उल्लेखित कुनै पनि सिद्धान्तहरु केवल सिद्धान्त मात्र हुन् र यि कुनै पनि सर्वमान्य, ठोस र प्रमाणित सिद्धान्तहरु होइनन् । येशूको जीवनको बारेमा उल्लेख गर्ने भरपर्दो एकमात्र स्रोत बाइबल हो । बाइबलमा कही पनि येशू व्यापार गर्न बेलायत जानुभएको, वा उहाँ जापान जानुभएको वा भारत वा नेपाल आउनुभएको कुरा उल्लेख गरिएको छैन । उहाँ एक हिन्दु, एस्सीन वा बौद्धमार्गी भएको पनि कही उल्लेख गरिएको छैन । बाइबलको समयमा लेखकहरुले कसैको जिवनी लेख्नुपरेमा पात्रको सम्बन्धित र आवस्यक जानकारीहरु मात्र लेख्ने गर्दथे । हुनसक्छ येशूको जीवनका ति १८ वर्षहरु येशूको जीवनको उद्धेश्य र सुसमाचारसँग खासै महत्व नराख्ने भएका कारण लेखकहरुले ति वर्षहरुको बारेमा केही उल्लेख गरेनन् । बाइबलमा यि १८ वर्षहरुको विचका कुनै पनि घट्नाहरु उल्लेख नगरेतापनि यि १८ वर्षहरुमा के भएको थियो भन्ने बारेमा भने लेखिएको छ ः

बाइबलमा येशूलाई प्रत्यक्षरुपमा सिकर्मी भनेर सम्बोधन गरिएको छ ः
“के यिनी त्यही सिकर्मी होइनन् र ?” (मर्कूस ६ः३) । किन ति व्यक्तिहरुले येशूलाई यसरी सिकर्मी भने होलान् ? किनकि तिनीहरुले उहाँलाई देखेका र चिनेका थिए । तिनीहरुले उहाँलाई सिकर्मीको रुपमा काम गरेको देखेका थिए ।

येशू बुवाआको अधिनमा रहनुभयोः
“तब उहाँ तिनीहरुसँग नासरत जानुभयो, र तिनीहरुका आज्ञाकारी भई बस्नुभयो ।” (लूका २ः५१) । यो पदमा स्पष्टरुपमा उल्लेख गरिएको छ कि येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभएको थियो । यो पद उहाँ १२ वर्ष हुँदा उल्लेख गरिएको छ ।

अन्ततः यसरी बाइबलिय आधारमा यि अज्ञात वर्षहरुमा येशू नासरतमा आफ्नो बुवाआमाको अधिनमा रहनुभयो र जिविकोपार्जनका लागि सिकर्मीको काम गर्नुभएको थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

सम्बन्धित भिडियो............

Saturday, June 8, 2019

के विक्रम् सम्वत् नेपाली पात्रो हो ? के यो नेपालमा सुरु भएको थियो ? (भिडियो सहित)



विश्वमा सबैभन्दा प्रचलित क्यालेण्डर इस्वी सम्वत् हो । समस्त विश्वमा यो क्यालेण्डर प्रयोग हुन्छ । धेरै देशमा यो क्यालेण्डरलाई आधिकारिक क्यालेण्डरको मान्यता दिइएको छ । इस्वी सम्वत् क्यालेण्डरलाई ग्रेगोरियन क्यालेण्डर पनि भनिन्छ । यो क्यालेण्डर जिजस क्राइष्टको जन्म मितिलाई केन्द्रमा राखेर सुरुवात गरिएको थियो । विक्रम् सम्वत् क्यालेण्डर इस्वी सम्वत्भन्दा ५७ वर्ष अगाडी रहेको छ । तर नेपालमा भने आधिकारिक रुपमा विक्रम सम्वत् क्योलेण्डर प्रयोग हुदै आएको छ । नेपालमा सरकारी कामकाज र तिथिमिति निर्धारणका कुराहरुमा विक्रम् सम्वत् क्यालेण्डरलाई नै प्रयोग गरिन्छ । नेपालमा विक्रम् सम्वत् एकमात्र निर्विवाद क्यालेण्डर हो भन्दा फरक नपर्ला ।

यो क्यालेण्डर कसरी सुरु भएको थियो ? यो क्यालेण्डर कसले सुरु गरेका थिए ? के यो क्यालेण्डरको सुरुवात नेपालमा भएको थियो ? कसको नाउँमा सुरु गरिएको थियो यो क्यालेण्डर ? यि र यस्तै रोचक प्रश्नहरुको जवाफ यो भिडियोमा दिने कोशिष् गरिनेछ । भिडियोलाई अन्त्यसम्मै हेर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । र साथै यस्तै प्रकारका रोचक, ज्ञानवर्दक र जानकारीमुलक भिडियोहरु हेर्नका लागि मेरो यो च्यानललाई सवस्क्राइव गर्न र छेऊमा भएको घण्टीको चिन्हलाई दबाउन पनि अनुरोध गर्दछु ।

यसका विशेषताहरु
इस्वी सम्वत् क्यालेण्डर सुर्यमा मात्र आधारित क्यालेण्डर हो भने विक्रम् सम्वत् सुर्य र चन्द्रमा दुवैमा आधारित क्यालेण्डर हो । त्यसकारण पनि विक्रम् सम्वत्लाई निकै वैज्ञानिक क्यालेण्डर मानिन्छ । इस्वी सम्वत्मा झै यसमा पनि ३६५ दिनको नै एक वर्ष हुनेगर्दछ । यो क्यालेण्डरमा पनि १२ महिनाको एक वर्ष र ३० दिनको एक महिना हुने गर्दछ ।

विक्रम् सम्वत् क्यालेण्डरको सुरुवात्
विक्रम् सम्वत् क्यालेण्डरको इतिहास जान्नका लागि हामीले भारतको इतिहासलाई हेर्नुपर्ने हुन्छ । विक्रम् सम्वत् एक इतिहासिक भारतिय राजा र उनको राज्यसँग सम्बन्धित रहेको छ । ईसा पुर्व ७० तिर भारतभरी नै मध्यपुर्वको क्षेत्रबाट आएका शक जातिका राजाहरुले शासन गरिरहेका थिए । उनीहरुले भारतमा निकै निरँकुश तरिकामा शासन गरिरहेका थिए । त्यसै समयमा ईसा पुर्वको ५० औ शताव्दीमा चन्द्रगुप्त वँशका विक्रमादित्यले सेना लिएर उज्जैनमा शकहरुमाथि आक्रमण गरे । उनले शक राजालाई पराजित गरे । उनले उक्त साम्राज्यको शासन हातमा लिए । उनको साम्राज्यलाई मालावा साम्राज्य भनिन्थ्यो । त्यसै समयमा उनले आफैलाई उक्त साम्राज्यको नयाँ सम्राट घोषणा गरे । उनलाई विक्रमादित्यको उपाधी दिईयो । विक्रमादित्य ति राजाको नाउँ थिएन तर यो उनलाई दिइएको एक उपाधी थियो । ति राजाको नाउँ के थियो भन्ने कुरा अज्ञात रहेको छ । विक्रमादित्यले शकहरुलाई हराएको दिनलाई स्मरण गर्नका लागि नयाँ क्यालेण्डरको सुरुवात गर्ने विचार गरे । तर त्यो समयमा कुनै राजाले आफ्नो सम्झनामा क्यालेण्डर सुरु गर्नका लागि आफ्नो समस्त प्रजाको रिणहरु तिर्नुपर्दथ्यो । विक्रमादित्यले प्रजाको रिण चुकाउन राज्यकोषलाई ठुलो धनरासी तिरे र नयाँ क्यालेण्डर सुरु गरे । उक्त क्यालेण्डर सम्राट विक्रमादित्यको नाउँमा विक्रम् सम्वत् भनेर नामाकरण गरियो । यो घट्ना ई.पु ५७ को हो । त्यो समयमा भारतमा शक् क्यालेण्डर पनि प्रचलनमा थियो । साथै विभिन्न क्षेत्रहरुमा बुद्ध र महाविर जैनको नाउँबाट पनि स्थानिय क्यालेण्डरहरु प्रचलनमा थिए । विक्रम् सम्वत् सुरु भएपछि भने यसलाई अत्यधिकरुपमा प्रयोग गर्न थालियो । भारतमा शक र विक्रम् सम्वत् यि दुई क्यालेण्डरलाई इतिहासमा अत्यधिक प्रयोग भएको पाइन्छ । व्रिटिशहरुको शासन सुरु भएपछि भने भारतमा यि क्यालेण्डरहरुको प्रयोग हराएर गयो ।

नेपालमा यसको प्रयोग
स्पष्ट छ विक्रम् सम्वत् क्यालेण्डर नेपालमा सुरु पनि भएको होइन र भौगोलिक र इतिहासिकरुपमा नेपालसँग यसको कुनै प्रत्यक्ष सम्बन्ध छैन । इतिहासलाई नियाल्दा विक्रमादित्यको राज्यले नेपाललाई छोएको पनि थिएन । त्यसकारण भौगोलिकरुपमा हेर्दा विक्रम् सम्वत् नेपालको क्यालेण्डर होइन । नेपालमा कहिलेदेखि यो क्यालेण्डर प्रचलनमा थियो भन्ने कुरा अज्ञात नै रहेको छ । तर यो क्यालेण्डरको बारेमा उल्लेख गरिएको पाण्डुलिपी भने नवौ शताव्दीको पाइएको छ । यसबाट के बुझन सकिन्छ भने नेपालमा यो क्यालेण्डर प्राचिन समयदेखि नै प्रयोग गरिदै आएको थियो । तर विक्रम् सम्वत् मात्र नेपालमा प्रयोग गरिएको एकमात्र क्यालेण्डर भने होइन । नेपालमा नेपाल सम्वत् र शाक्य सम्वत् जस्ता मौलिक र स्थानिय सम्वत्हरुको प्रयोग गरिदै आएको थियो र गरिदैछ । विक्रम् सम्वत्लाई नेपालभरी नै सरकारी आधिकारिक क्यालेण्डरकोरुपमा दर्जा दिने श्रेय भने चन्द्र शमशेर राणालाई जान्छ । उनले विक्रम् सम्वत् १९५८ मा विक्रम् सम्वत्लाई नेपालको आधिकारिक क्यालेण्डरको रुपमा प्रयोगमा ल्याएका थिए र त्यसपछि यो लगातार नेपालको एकमात्र निर्विवाद र आधिकारिक पात्रोको रुपमा प्रयोग भइरहेको छ । तर अपवाद् कस्तो जुन देशमा यो क्यालेण्डर सुरु भएको थियो त्यहाँ यसलाई प्रयोग गरिदैन र यसलाइृ खासै महत्वका साथ हेरिदैन । तर जुन देशसँग न त यो क्यालेण्डरको कुनै भौगोलिक र इतिहासिक महत्व थियो त्यहाँ भने यसले आधिकारिक क्यालेण्डरको दर्जा पाएर व्यापकरुपमा प्रयोग गरिएको छ । यसो किन भयो त भन्ने प्रश्न आउँनसक्छ । यसको जवाफ हो विक्रम् सम्वत् एक हिन्दु क्यालेण्डर हो । यसको सम्बन्ध हिन्दु विश्वाससँग जोडिएको छ । विक्रम् सम्वत्का मितिहरु व्यापकरुपमा हिन्दु पौराणिकतासँग जोडिएका छन् । त्यसकारण यो आयातित क्यालेण्डर भएतापनि नेपालमा व्यापकरुपमा स्विकार गरिएको हो ।

सम्बन्धित भिडियो.........

Thursday, June 6, 2019

के बाइबल विज्ञान सम्मत्त छ ? पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (भाग २)—(भिडियो सहित)


महान् वैज्ञानिक आइज्याक न्यूटनले विज्ञान र धर्मको बारेमा यसो भनेको थिए: “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” एक पटक फेरीः “गुरुत्वाकर्षण बलको सिद्धान्तले हामीलाई ग्रहहरु कसरी परिक्रमा गर्दछन् भन्ने कुराको व्याख्या गर्दछ, तर गुरुत्वाकर्षण बलको सिद्धान्तले ति ग्रहहरुलाई कसले त्यसरी परिक्रमा गर्ने बनायो भन्ने बारेमा केही व्याख्या गर्दैन ।” विज्ञान धर्मका लागि चुनौति हो भन्नेहरुको सँख्या उल्लेखनिय रहेको छ । वास्तवमा विज्ञान धर्मका लागि चुनौति होइन तर विज्ञानका लागि धर्म एक प्रेरणाको स्रोत हो । बाइबल शताव्दियौ देखि वैज्ञानिकहरुका लागि अनुसन्धानको स्रोत बनिरहेको छ । विज्ञान जगतमा पश्चिमा वैज्ञानिकहरुको निकै महत्वपुर्ण भुमिका रहेको छ । के तपाईलाई थाहा छ ति वैज्ञानिकहरुमध्ये अधिँकाश ख्रीष्टियन थिए र उनीहरु बाइबलबाट प्रेरित भएर नै खोज र अनुसन्धानमा लागेका थिए । यदि बाइबल अवैज्ञानिक भएको भए किन ति महान् वैज्ञानिकहरुले बाइबललाई समर्थन गर्ने थिए ? त्यसकारण केवल तिनीहरुले मात्र बाइबललाई र ख्रीष्टियनमतलाई अन्धविश्वासको रुपमा लिन्छन् जसले न त विज्ञानलाई पुर्णरुपमा बुझन सकेका हुन्छन् न त बाइबल र ख्रीष्टियनमतलाई नै । आजको यो लेखमा बाइबलमा अच्चम्मरितिमा शताव्दीऔ वर्ष पहिले नै उल्लेख गरिएका वैज्ञानिक तथ्यहरुमध्ये पाँचवटा तथ्यहरु हेर्नेछौ ।

(१) ब्रम्हाण्डको अस्तित्वका लागि आवस्यक पाँच कुराहरु


वर्तमान् समयमा भौतिक विज्ञान र खगोल विज्ञानले निकै फड्को मारिसकेका छन् । ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबैलाई चकित तुल्याइदिएको छ । ब्रम्हाण्डका पाँच आधारभुत तत्वहरु समय, शक्ति, अन्तरिक्ष, पदार्थ र चाल हो भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाए । यि पाँच कुराका आधारमा नै ब्रम्हाण्ड कार्यरत छ । तर के तपाईलाई थाहा छ यि पाँच कुरा नै बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा नै उल्लेख गरिएको थियो । जब बैज्ञानिकहरुले यो कुरा बाइबलको पहिलो वाँक्याशमाा नै उल्लेख गरेको देखे उनीहरु चकित भए । बाइबलमा उत्पत्ती १ः१–२ पदमा यसो भनिएको छः “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकारविनाको र शून्य थियो । अथाह समुद्रमाथि अन्धकार थियो, र परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो ।” यसमा भएका कुराहरुलाई खगोल–विज्ञानका आधारमा हेर्दा—आदिमा अर्थात “समय”, परमेश्वरले अर्थात (शक्ति), आकाशमण्डल अर्थात “अन्तरिक्ष”, पृथ्वी अर्थात “पदार्थ” र....परिभ्रमण गर्दैरहनुहुन्थ्यो अर्थात “चाल” । अचम्भ रितिले बाईबलको पहिलो पदमा नै सम्पुर्ण सृष्टिको सञ्चालन सम्बन्धी बैज्ञानिक जवाफ पाउन सकिन्छ ।

(२) डाइनोसरको विनास


कतिका लागि यो अचम्मको कुरा हुनसक्छ । के बाइबलमा डाइनोसरको बारेमा पनि उल्लेख गरिएको छ र ? डाइनोसर शव्दको नेपाली अर्थ हुन्छ “भयानक छेपारो” । डाइनोसर छेपारो प्रजातीको एक ठुलो प्राणी थियो । अनुसन्धानहरुले देखाए अनुसार लाखौ वर्ष पहिले डाइनोसरको विनास भइसकेको थियो । बाइबलमा अयुब ४०ः१५–२० मा एउटा यस्तो प्राणीको बारेमा व्याख्या गरेको छ जसको बनोट र स्वभाव डाइनोसरसँग मिल्न जान्छ । उक्त खण्डमा त्यो प्राणीलाई बहेमोथ भनिएको छ । यो नाउँ हिब्रू भाषाको नाउँ हो र यसको अर्थ “भयङ्कर पशू” भन्ने हुन्छ । यो बारेमा अयूव ४०ः१५–२० मा यसो भनिएको छ ः“मैले तँसँगै बनाएको बहेमोथलाई विचार गर, जसले गाईबस्तुहरुले झै घाँस निल्छ । त्यसको कम्मर कस्तो बलियो हुन्छ । त्यसको पेटको मांसपेशीमा कस्तो शक्ति हुन्छ । त्यसको पुच्छर देवदारुको रुखझै कडा हुन्छ, त्यसका तिघ्राका नसाहरु खुब कसिएका हुन्छन् । त्यसका हड्डीहरु काँसाका नलीहरुजस्तै हुन्छन्, र त्यसका हात–खुट्टाहरु फलामका आग्ला जस्तैहुन्छन् । परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपि त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजीक जान सक्छन् ।” यहाँ उल्लेख गरिएको प्राणीको अधिँकाश ढाँचा डाइनोसरसँग मिल्न गएको देखिन्छ । हामीलाई थाहा छ कि नाइनोसर प्राणीहरुमा सबैभन्दा भयानक थियो र यो खण्डमा पनि हामी यसो लेखिएको पाउँछौ “परमेश्वरको कार्यहरुमा त्यो सबैभन्दा मुख्य छ यद्यपी त्यसका सृष्टिकर्ता आफ्नो तरवार लिएर त्यसको नजिक जान सक्छन् ।” यहाँ परमेश्वरले डाइनोसरलाई अन्त्य गर्न सक्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । यसरी डाइनोसरको बारेमा पनि बाइबलमा उल्लेख गरिएको छ ।

३) पृथ्वी गोलाकार छ


प्राचिन समयमा पृथ्वी समतल आकारमा रहेको छ भन्ने कुरा बिश्वास गरिन्थ्यो । तथापी पृथ्वी गोलाकार रहेको छ भन्ने कुरा ख्रीष्ट पुर्व ५०० तिर ग्रिक दार्शनिक पाइथागोरसले पनि घोषणा गरेका थिए । पछि गएर अर्का ग्रिक दार्शनिक अरस्तुले पनि पृथ्वी गोलो छ भन्ने कुरा घोषणा गरे । तर के तपाईलाई थाहा छ पाइथागोरसको समयभन्दा २०० वर्ष अगाडी नै परमेश्वरले यशैया अगमवक्ताद्धारा पृथ्वी गोलाकार छ भन्ने कुरा घोषणा गरिसक्नुभएको थियो । बाइबलमा यशैया ४०ः२२ मा यो विषयमा यसो लेखिएको छ ः “उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ..........।” हामीलाई थाहा छ केवल गोलाकार वस्तुको मात्र परिधि हुन्छ । यसरी बाइबलमा पृथ्वीको आकारको बारेमा सठिक कुरा लेखेको देख्न सकिन्छ । शताव्दीऔसम्म पृथ्वी गोलाकार नभई समतल आकारको मात्र रहेको छ भन्ने विश्वास गरियो । आधुनिक विज्ञानले बाइबलमा आजभन्दा २७०० वर्ष अगाडी लेखेको कुरालाई प्रमाणीत गरिदियो । यो कुराले बाइबललाई कमजोर बनाउने नभई झनै मजबुत बनायो ।

४) रेडियो विकिरणको यात्रा


रेडियो विकिरणहरुका कारण नै आज हामी टेलिभिजन हेर्न सक्छौ, इन्टरनेट प्रयोग गर्न सक्छौ, मोबाइबलद्धारा पृथ्वीको पल्लो छेऊमा भएको साथीसँग कुरा गर्न सक्छौ । रेडियो विकिरणहरुको खोजी आधुनिक विज्ञानको ठुलो खोजहरुमध्ये एक हो । यसको खोजका कारण मानवजाति निकै उन्नत हुन पुगेको छ । ३००० बर्ष अगाडी नै बाईबलले एक अति नै बैज्ञानिक कुराको घोषणा गरेको छ ः रेडियो विकिरण अर्थात प्रकाशलाई पठाउन सकिन्छ र यसलाई बोल्ने बनाउन सकिन्छ । के तपाईलाई थाहा छ रेडियो तरँगहरु प्रकाशको गति बराबर यात्रा गर्न सक्छन् ? आधुनकि प्रविधीको विकास हुनभन्दा सयौं वर्ष अगाडी बाइबलमा यो कुराको बारेमा उल्लेख गरिएको थियो । बाइबलमा अयुब ३८ः५ पदमा यसो लेखिएको छः “के तैले बिजुलीलाई तिनीहरुको मार्गमा पठाउँछस् ? के तिनीहरुले हामी यहाँ छौ भनी तँलाई भन्छन् र ?” यहाँ विजुली अर्थात विकिरणहरुलाई पठाउने विषयमा उल्लेख गरिएको छ । यो कुरालाई ब्रिटिस बैज्ञानिक जेम्स क्लेर्क मेक्सवेलले १८६४ मा प्रमाणीत गरिदिए र उनको भनाई अनुसार बिधुत र बिजुलीका तरँगहरु एउटै कुराका बेग्लै बेग्लै रुपहरु हुन् । आज समस्त प्रविधिको भित्रि रहस्य रेडियो विकिरणमा नै रहेको छ र यसको विषयमा बाइबलले विज्ञान सुक्ष्म अवस्थामा रहदा नै घोषणा गरिसकेको थियो ।

५) प्रकाशको मार्ग


यो एक सर्वमान्य तथ्य भइसकेको छ । हामी ज्योति अर्थात प्रकाशलाई कुनै कुराबाट उत्पन्न भएको र यसले यात्रा गरेको देख्न सक्दछौ । आधुनिक बिज्ञानले प्रकाश (ईलेक्ट्रोमेग्नेटिक्स रेडियसन) हरुको मुहान हुन्छ भन्ने कुरा प्रमाणीत गरेको छ जुन कुरा आजभन्दा ३५०० बर्ष अगाडी बाईबलले उल्लेख गरिसेकेको थियो । बाइबलमा अयुब ३ः१९ मा यसो लेखिएको छ ः “ज्योतिको मुहान कता छ ? र अन्धकार कहाँ बास बस्छ ?” ईलेक्ट्रोमेग्नेटिक्स रेडियसनहरुले ३ लाख किलो मिटर प्रति सेकेण्डको हिसाबमा यात्रा गर्दछ । प्रकाश समस्त ब्रम्हाण्डमा सबैभन्दा तिव्रगतिमा यात्रा गर्ने चिज हो । यसरी बाइबलले ज्योति अर्थात प्रकाशको मुहान हुन्छ भन्ने कुरा घोषणा गरेको थियो र त्यसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ ।

अब अन्त्यमा....
बाइबल संसारभरी नै सर्वाधिक प्रेम गरिएको, छापिएको, वितरण गरिएको र पढिएको पुस्तक हो । अमेरिका जस्तो बौद्धिक, आधुनिक र शक्तिशाली मुलुकमा आज पनि एक सेकेण्डमा दुई वटा बाइबलहरु विक्रि हुने गर्दछन् । प्रख्यात बाइबल वितरक सँख्या गिदोन इन्टरनेशनले सार्वजनिक गरेको तथ्याङ्कमा उनीहरुले अहिलेसम्म विश्वभरी २ अरवभन्दा बढि बाइबलहरु वितरण गरिसेका छन् । किन बाइबल यति लोकप्रिय र सम्मानित पुस्तक हो ? यसको जवाफ हो, बाइबल एक मात्र इश्वरको वचन हो र यो सबै अवस्थामा सबैका लागि सान्दर्भिक रहेको छ । बाइबलमा जातपात, वर्ग, लिङ्ग, भाषा, धर्म र कामको आधारमा कुनै पनि विभेद नगर्न आज्ञा दिइएको छ । यो धर्मग्रन्थले कुनै देश, भाषा र जाति विशेषलाई नभई समस्त मानवजातिलाई नै सम्बोधन गर्दछ । अनि अति नै महत्वपुर्ण कुरा यो विज्ञानबाट समेत पुष्टि भएको पुस्तक हो । अमेरिकाका ४० औ राष्टपति रोनाल्ड रेगनले बाइबलको बारेमाा भनेको भनाइसँगै आजको भिडियोलाई अन्त्य गर्न चाहन्छुः “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” फेरी एक पटक “बाइबलका पानाहरुभित्र मानवजातिले सामना गर्नुपरेका प्रत्येक समस्याका जवाफहरु रहेका छन् !” 

सम्बन्धित भिडियो............