Friday, August 7, 2020

येशू ख्रीष्ट कुन भाषा बोल्नुहुन्थ्यो ? येशू ख्रीष्टको समयमा इस्राएलमा कुन भाषा बोलिन्थ्यो ?

येशू कुन भाषा बोल्नुहुन्थ्यो होला भन्ने प्रश्न धेरै ख्रीष्टियनहरुको मनमा हुनसक्छ ? इस्राएलीहरु हिब्रू भाषा बोल्थे । येशू पनि एक इस्राएली भएर जन्मिनुभएको कारण उहाँले पनि शायद हिब्रू भाषा बोल्नुहुन्थ्यो भन्ने लाग्न सक्छ ! तर यथार्थ फरक छ । येशूले हिब्रू भाषा बोल्नुहुन्नथ्यो । येशू परमेश्वर हुनुहुन्छ र उहाँ सबै भाषाहरु बुझ्न सक्नुहुन्छ । उहाँको क्षमता भाषा र भुगोलमा सिमित छैन । येशू ख्रीष्टको समयमा प्रचलित भाषाहरुलाई बुझ्नका लागि त्यो समयको पृृष्ठभुमिलाई बुझ्न आवस्यक हुन्छ । हिब्रू इस्राएलीहरुले परापुर्वकालदेखि बोल्दै आएको भाषा थियो । हिब्रू भाषा केवल इस्राएलीहरुले मात्र नभई इस्राएल वरपरका क्षेत्रहरुमा लामो समयदेखि बोलिदैआएको भाषा थियो । हिब्रू धेरै प्राचिन भाषाहरुमध्ये एक हो । अहिले पनि हिब्रू इस्राएलको राष्टिय भाषा हो । अहिलेको समयमा केवल यहूदी अर्थात इस्राएलीहरुले मात्र हिब्रू भाषा बोल्दछन् भन्दा फरक नपर्ला ।

बाइबलको पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा नै लेखिएको थियो । केवल दानिएलको थोरै भाग, नहेम्याह र एज्राको पुस्तक मात्र आरमेइक भाषामा लेखिएका थिए । हिब्रू भाषाले सबैभन्दा ठुलो क्षति बेविलोनीहरुले इस्राएल कब्जा गरेपछि बेहोर्नु प¥यो । बेविलोनी राजा नबूकदनेसरले इस्राएलीहरुलाई पाँचौ शताव्दी इसापुर्वमा आक्रमण गरेर बेविलोनमा निर्वासनमा ल्याए । इस्राएलीहरु त्यहाँ सत्तरी वर्षभन्दा बढि रहे । बेविलोनीहरु आरमेइक भाषा बोल्ने गर्थे । बेविलोनीहरुसँग रहने क्रममा इस्राएलीहरुले हिब्रू भाषाको सट्टा आरमेइक भाषा बोल्न थाले । यसरी हिब्रू भाषा ओझेलमा प¥यो । हिब्रू भाषा केवल धार्मिक क्रियाकलापहरुमा प्रयोग गरिने भाषाको रुपमा सिमित रहन पुगेको थियो । इस्राएलीहरु बेविलोनबाट इस्राएलमा फर्किएर आएपछि पनि आरमेइक भाषा नै प्रयोग गरिरहे ।

तेस्रो शताव्दी इसापुर्वमा अलेक्जेण्डर ग्रिक साम्राज्यका सम्राट बने । उनको सपना पूरै दुनिया जितेर विश्वमा ग्रिक भाषा र सँस्कृति फैलाउनु थियो । उनको समयमा नै ग्रिक अन्तराष्टिय भाषा बन्न पुग्यो । त्यसकारणले नै नयाँ करारको समयमा ग्रिक अन्तराष्टिय बोलिचालीको भाषा थियो । नयाँ करारका सबै पुस्तकहरु नै ग्रिक भाषामा लेखिएका थिए । पूरानो करारको ठुलो हिस्सा हिब्रू भाषामा, केही भाग आरमेइकमा लेखिएको थियो । यसरी बाइबल तिन विभिन्न भाषाहरुः हिब्रू, ग्रिक र आरमेइकमा लेखिएको थियो ।

येशूको समयमा इस्राएलमा तिन वटा भाषाहरु चलनचल्तीमा थिए । हिब्रू, ग्रिक र आरमेइक । त्यो बाहेक अर्को भाषा पनि इस्राएलमा प्रयोग गरिन्थ्यो । इस्राएलमा भएका रोमी अधिकारी र सेनाहरुले ल्याटिन भाषा बोल्ने गर्थे । ल्याटिन रोमीहरुको मातृभाषा थियो । येशू ख्रीष्टको समयमा रोमीहरुले ल्याटिन भाषा बोल्थे, इस्राएलमा पढे लेखेकाहरुले हिब्रू र ग्रिक भाषा बोल्थे । गालील र सामरिया जस्ता पिछडिएका क्षेत्रका मानिसहरुले भने आरमेइक भाषा बोल्ने गर्थे । अब प्रश्न यो आउँछ , येशूले कुन भाषा बोल्नुहुन्थो त ? येशूले आरमेइक भाषा बोल्नुहुन्थ्यो । यो कुरा सुसमाचारका पुस्तकहरुबाट पनि स्पष्ट हुन्छ । येशूले “तालिता कूमी” (मर्कूस ५ः४१), “इफ्फता” (मर्कूस ७ः३४), इलोइ, इलोइ लामा सबखतनी (मत्ती २७ः४६, मर्कूस १५ः३४), अव्वा (मर्कूस १४ः३६) जस्ता शव्दहरु प्रयोग गर्नुभएको देख्न सकिन्छ । यी सबै आरमेइक शव्दहरु थिए । तर येशूलाई हिब्रू भाषाको पनि ज्ञान भएको हुनसक्छ । किनकि उहाँले सभाघरहरुमा धर्मशास्त्रबाट शिक्षा दिनुभएको थियो । त्यो बेलामा यहूदी धर्मशास्त्र हिब्रू भाषामा थियो ।

अन्नतः भाषाले उहाँलाई सिमित पार्न सक्दैन । तथापी उहाँ संसारमा छदा सामान्य बोलिचालीमा आरमेइक भाषा बोल्नुहुन्थ्यो भने शिक्षाका लागि हिब्रू भाषा प्रयोग गर्नुहुन्थ्यो । आरमेइक र हिब्रू दुवै भाषा येशू ख्रीष्टको समयमा इस्राएलमा प्रयोग गरिने भाषा थिए भने ग्रिक चाहिँ अन्तराष्टिय भाषा थियो । र बाइबल हिब्रू, ग्रिक र आरमेइक गरि तिनवटा भाषाहरुमा लेखिएको थियो ।

सम्बन्धित भिडियो..........

Wednesday, May 27, 2020

के म “दलित” नै हु त ? जातिय विभेदका लागि को जिम्मेवार ?


जातियताको आधारमा पश्चिम रुकुममा घटेको घट्नाले सबैलाई स्तव्ध तुल्याएको छ । प्रेमिका लिन गएका ति दलित युवाले तथाकथित तल्लो जातको भएकै कारण आफ्नो ज्यान गुमाउनुप¥यो । अन्तरजातिय विवाह गर्न खोज्दा वा गर्दा ज्यान गुमाउनु परेको यो पहिलो घट्ना भने होइन । यस्ता घट्नाहरु हाम्रो समाज बेलावखतमा हुदै आएका छन् जसले हाम्रो समाजलाई कलङ्कित पार्ने काम गरिरहेको छ । वि.स. २००७ सालको सँविधानमा नै छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरिएको थियो । ७० वर्ष वितिसक्दा पनि व्यवहारमा धेरथोर छुवाछुत हटेतापनि मन र भावनामा भने जिवितै छ । अशिक्षित र पिछडिएको समाजमा मात्र नभई शिक्षितहरुकै मनमगजमा पनि जातियताले जरा गाँडेको छ । तथाकथित ठुला जातकाहरुमा “तिमीहरु साना जातिका हौ र हामी उच्च जातका हौ” भन्ने भावना छ भने साना जातिकाहरुमा “तिमीहरु ठुला जातका हौ र हामी साना जातका हौ” भन्ने सोच रहेको छ । जबसम्म “तिमी र म समान छौ” भन्ने भावना दुवै वर्गमा विकसित हुदैन, तबसम्म छुवाछुतजस्तो कलँक समाजबाट हट्न सक्दैन ।

हो, म दलित नै हुँ !

हो, म दलित हुँ ! के तपाईमा यो भन्ने आँट छ ? आजभोलि दलित समुदायबाट नै उनीहरुलाई “दलित” नभनिदिन वा दलित शव्द नै प्रयोग नगर्न जोड दिइएको देखिन्छ । प्रत्येक तल्लो जातको मानिस दलित हो । तपाई एतिहासिक तवरमा दलित हुनुुहुन्छ । कामीले फलामको काम ग¥यो, सुनारले सुनको काम ग¥यो, दमाइले लुगा सिएर समाजमा पु¥यायो, सार्कीले छालाको काम ग¥यो, गाइनेले गित गाउँदै मनोरन्ज दियो । तर समाजले यो वर्गलाई के दियो ? कामीको फलाम र औजार चल्यो, सुनारको सुन चल्यो, दमाइको लुगा पनि चल्यो, सार्कीले बनाएका जुत्ता चप्पल चले, गाइनेका गित चल्यो, तर यिनीहरुसँग अरु कुनै कुरा चलेन । चल्ला कुखुरा र कुकुर बिराला तथाकथित उच्च जातका मानिसहरुको घरमा स्वागत गरिए र भित्र भाँन्सासम्म पनि पु¥याइए, तर साक्षात मानिस, जो समाजमा श्रम गर्दै सेवा गरिरहेकाहरु भने बाहिर आगनसम्मै सिमित रहे र तल्लो जातको उपमा पाए । जनावर छुत रह्यो, तर मानिस नै भएर पनि तल्लो जातकाहरु अछुत रहे ।

तल्लो जातकाहरुलाई सामाजिक, आर्थिक, राजनैतिक र भावनात्मक रुपमा शोषण र दमन गरियो । अनि कुन अर्थमा अब तल्ला जातकाहरु दलित भएनन् ? तल्लो जातिका मानिसहरुलाई शोषण गरियो र गरिदैछ । के शव्द परिवर्तन गर्दैमा तल्ला जातकाहरुको अवस्था परिवर्तन हुन्छ ? दलित शव्द हटाउँदैमा तल्लो जातहरु पनि माथिल्लो जात समान हुनेभए म त आज हैन अहिले देखिनै यो शव्द प्रयोग गर्न चुटुक्कै छोडिदिन्छु ! शव्द वद्लिदैमा वास्तविकता परिवर्तन हुदैन । तबसम्म तल्लो जातिकाहरु दलित हुनेछन्, जबसम्म यिनीहरुले सामाजिक, आर्थिक, राजनैतिकरुपमा समान हक र अवसर पाउँदैनन् । 

जात लुकाउने सानो तर तुच्छ कोशिष् !

अब विशेष कुरा गरौ हाम्रै दलित अर्थात् तल्ला जातकाहरुको । विश्वकर्मा अर्थात् कामीले रसाइली, विसी र घिमिरे जस्ता उपथरहरु प्रयोग गर्न थाले । सार्किहरुले बोहरा, गैरे जस्ता उपथरहरु प्रयोग गरेको देख्न सकिन्छ । यसबाट एउटा कुरा प्रष्ट हुन्छ , तपाईको परिचयलाई तपाई स्वयम् घृणा गर्नुहुन्छ । यदि पुजा चन्द र निरुता सिँह जस्ता प्रतिभाशालि र सुन्दर नायिकाहरुले आफू तल्लो जातको भएको कुरा स्वीकार गरेको भए के हुन्थ्यो ? तर उनीहरुले आफ्नो जात लुकाएर आफ्नो वास्तविक परिचयलाई घृणा गरे । तर कतिपय दलित हस्थीहरुप्रति मेरो भारी सम्मान छ जसले आफ्नो जातलाई विना सँकोच र डर बाहिर ल्याए । तर अझैपनि कतिजनाहरु विश्वकर्मा वा कामी भन्न अप्ठ्यारो मानेर विसी भन्नमै रमाउँछन् ।

तपाई किन आफुलाई दलित वा तल्लो जातको भन्न डराउनुहुन्छ ? तपाईका पुर्खाहरु यो देशको माटोमा परिश्रम गर्ने र हात पाखुराहरु चलाउनेहरु थिए । तिनीहरु चोर थिएनन्, न त तिनीहरुले कुनै घृणित काम नै गरेका थिए । म विश्वकर्मा हुँ र मलाई मेरो जातमा सत प्रतिशत गर्व छ । मेरो पुर्खाले फलामको काम गरेर यो समाजलाई सेवा गरेकोमा म गर्व गर्छु । कसैले मेरो परिचय सोधेमा पहिलो नाम भनेर म रोकिन्न । पूरा आत्मविश्वासका साथ जात सहित मेरो नाम बताउँछु । हरेक दलित र तल्लो जातका व्यक्तिहरुले आफू र आफ्नो जातमा गर्व गर्नु आवस्यक छ । तपाई हाम्रा पुर्खाहरु “सिल्पीहरु” थिए । उनीहरु आफ्नो सिप प्रयोग गरेर समाजसेवा गर्नेहरु थिए । सँस्कृतमा लेखिएका ग्रन्थहरु गनगनाउँदै धर्मको आडम्वरमा पैसा र शक्ति कुम्ल्याउनेहरु थिएनन ।

कतै धार्मिक सँरचना नै दोषि त छैन जातिय विभेदका लागि ?

रामायण पढ्दा मलाई निकै आनन्द लाग्यो । रमाइ–रमाइ दिनको आठ दस पाना पढ्ने गर्थे । रामको त्यो आदर्शमयि जीवन देख्दा उनीप्रति निकै सम्मान जाग्थ्यो । उनीप्रति अझै पनि मेरो मनमा भारी श्रद्धा छ । तर एउटा यस्तो प्रसँग जसले मलाई झस्क्यायो र हिन्दुधर्मप्रति निकै नकारात्मक बनायोः निर्दोष शम्भुकको हत्या । कथा तपाईले पनि सुन्नु भएकै होला । रामले शासन गरेको १०,००० वर्षपछि अचानक एकजना ब्राम्हण आफ्नो मृत छोराको लाश लिएर रामको दरबारमा आइपुगे । उनले सिधै रामलाई चुनौति दिए र रामको कुनै पापका कारण उनको छोराको मृत्यु भएको घोषणा गरे । निकै छलफलपछि रामको राज्यभित्रै एकजना शुद्ध्र अर्थात तल्लो जातकोले तपस्या गर्दैछ भन्ने कुरा आयो । राम पुष्पक विमानमा चढि शम्भुक भएको ठाउँमा आइपुगे । रामले शम्भुकलाई सोध्दा उनले म एक शुद्र हुँ भन्ने वित्तिकै तरवार निकालेर तुरुन्तै शम्भुकको टाउको छिनाइदिए । तपस्या गर्ने काम ब्राम्हण र क्षेत्रीको मानिने भएकाले एक शुद्रले त्यो कोशिष् गर्दा अनाहकमा ज्यान गुमाउनुप¥यो ।

शुद्रहरु ब्रम्हाको पैतलातिरको भागबाट बनाइएको कुरा रामायणमै उल्लेख गरेको पाए । त्यसकारण शुद्रहरु सेवा गर्ने तुच्छ वर्गको रुपमा हिन्दु धर्ममा उल्लेख गरिएको छ । हिन्दु धर्मका धर्मशास्त्रहरु पुर्णत शुद्र अर्थात तल्लो जातिका मानिसहरुको विरुद्धमा छ । हिन्दु धर्मशास्त्रहरु तथाकथित उच्च जातिका मानिसहरुको नियन्त्रणमा भएको कुरा सर्वविदितै छ । अनि कसरी ति धर्मशास्त्र अध्ययन गर्नेहरुले तल्लो जातिकाहरुलाई समान दृष्टिले हेर्न सक्लान् ? जबकि उनीहरुले धर्मशास्त्रले नै विभेद सिकाइरहेको छ ।

नेपालमा तल्लो जातिका मानिसहरुमा धर्मपरिवर्तन जवरदस्त तरिकामा भइरहेको छ । यसको कारण उनीहरुमा भएको हिन्दु धर्मप्रतिको घृणा एक कारण हो । “प्रलोभन” र “जवरजस्ती” धर्मपरिवर्तन जस्ता शव्दहरु चलाएर भ्रम सृजना गरेर ख्रीष्टियनहरुमाथि दोष थुपार्ने गरिएतापनि, यथार्थमा धर्मपरिवर्तनको एक ठुलो कारण जातिय विभेद हो । जुन धर्ममा पानी चल्दैन, जुन धर्ममा मन्दिर पस्न पाइदैन, त्यहाँ रहेर के गर्नु ? जुन धर्मले जिन्दगीभरि तल्लो जातको उपमा दिएर समाजमा तल्लो वर्गको रुपमा हेर्छ , त्यो धर्मलाई अङ्गालेर के गर्नु ? बौद्ध र जैंन धर्म सुरु भएपछि लाखौ हिन्दुहरु हिन्दु धर्म त्यागेर बौद्ध र जैंन धर्म अङ्गाले कुराको इतिहास साक्षी छ । यसको प्रमुख कारण हिन्दु धर्मले तल्लो जातिका मानिसहरुलाई स्थान नदिनु तर बौद्ध र जैंन धर्मले उनीहरुलाई सह्दय स्वागत गर्नु थियो । त्यसैगरि भारतका सँविधान निर्माता भनेर चिनिने बाबा भिमराव अम्बेडकरले पनि लाखौ मानिसहरुका साथ सामुहिकरुपमा हिन्दु धर्म त्यागगरि बौद्ध धर्म अङ्गालेका थिए । भिमराव अम्बेडकर तल्लो जातिका मानिस थिए र हिन्दु धर्ममा भएको जातिय विभेदबाट आक्रोषित भएर नै उनले बौद्ध धर्म अपनाएका थिए । हिन्दु धर्मका अगुवाहरुले प्रलोभन, डलर, जवरजस्ती जस्ता शव्दहरु चलाएर आफैलाई तिर हान्नुभन्दा पनि तल्लो जातिकाहरुलाई समान स्थान दिनमा समय र शव्द खर्चिएको भए धर्मपरिवर्तनको होडवाजी कम हुन्थ्यो कि ?

By: Hari BK

Tuesday, April 28, 2020

को थिए फरिसी र सदूकीहरु ? फरिसी र सदूकीहरुको बारेमा पूरा जानकारी ! (भिडियो सहित)

पहिलो शताव्दीका यहूदि राजनैतिक र धार्मिक समूदायहरु

सुसमाचारिय पुस्तकहरुलाई बुझ्नका लागि यी धार्मिक र राजनैतिक गुठहरुको बारेमा जान्न आवस्यक हुन्छ । येशु ख्रीष्टको समयमा धार्मिक र राजैनिक रुपमा इस्राएल पूर्णरुपमा बिभाजित थियो । सबै मानिसहरु रोमी साम्राज्यको अधिनमा थिए र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मशिहको प्रतिक्षा गरिरहेका थिए । पुरानो करारमा हामी फरिसी, सदूकी, उग्रपन्थी जस्ता नाउँहरु देख्दैनौ । तर नयाँ करारमा भने यि सबैको बारेमा उल्लेख गरिएको छ । 

सदूकीहरु
सदुकीहरु इस्राएलका पुजाहारी वर्गका मानिसहरु थिए । येशु ख्रीष्टको समयमा यिनीहरु अति नै शक्तीशाली थिए । नयाँ करारको समयमा महासभा र मन्दिर इस्राएलका दुई प्रभावशाली क्षेत्र थिए । यहुदीहरुको महासभा र मन्दिरमा सदूकिहरुको नै वर्चस्सो थियो । सदूकीहरु दाऊद राजाका पुजाहारी सादोकका वँशका मानिसहरु थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रलाई नभई पञ्चग्रन्थ अर्थात मोशाद्धारा दिइएको व्यवस्थालाई मात्र मात्र मान्ने गर्दथे । यिनीहरु शारिरीक पुनरुत्थान, स्वर्गदुत जस्ता कुराहरुमा बिश्वास गर्दैनथे । यिनीहरु यहुदी ब्यवस्थाप्रति अति नै कट्टर थिए । सदुकीहरुले येशुलाई एक खतरनाक क्रान्तिकारीको रुपमा हरेका थिए । यिनीहरु रोमी शासनसँग नजिक थिए । सदूकीहरुले येशूलाई एक उदायमान् क्रान्तिकारीको रुपमा लिएका थिए । येशूले आन्दोलन मच्चाउनुहोला र यसले गर्दा रोमीहरुले देशलाई आक्रमण गरेर नष्ट पार्लान् भन्ने डर यिनीहरुमा थियो । येशूलाई पक्राऊ गरिएपछि महासभामा प्रधान पुजाहारीहरुकहाँ लगिएको थियो । ति सबै प्रधान पुजाहारीहरु सदूकीहरु नै थिए । त्यसकारणले नै प्रधान पुजाहारी कैयाफाले “पूरा देश नष्ट हुनुभन्दा, एक जना मर्नुमा नै भलाई छ” भनेका थिए । यो कुरा यूहन्ना मा उल्लेख गरिएको छ । सदुकीहरु मन्दिरसँग सम्बन्धित थिए । त्यसकारण जब ई.स. ७० मा मन्दिर नष्ट पारिएपछि यिनीहरु पनि लोप भएर गए ।

फरिसीहरु
येशूले धेरै पटक फरिसीहरुको बारेमा उल्लेख गर्नुभएको छ । गुप्तरुपमा येशूका चेला बनेका निकोदेमस पनि एक फरिसी थिए । यो कुरा युहन्ना ३ः१ मा उल्लेख गरिएको छ । फरिसी शब्दको अर्थ “छुट्टार्ईएको वा अलग गरिएको” भन्ने हुन्छ । किनकि फरिसीहरु आफैलाई समस्त संसारबाट अलग गर्न खोज्थे र सबै प्रकारका अशुद्धताहरुबाट टाढा बस्ने कोशिष गर्दथे । यिनीहरु धेरै आत्मिक जीवन जिउने कोशिष गर्थे । पहिलो शताब्दीमा फरिसी अति नै प्रभावशाली धार्मिक समुहको रुपमा स्थापित थियो । ईतिहासकार जोसेफसका अनुसार येशु ख्रीष्टको समयमा फरिसीहरुको जनसँख्या करीब ६००० जति थियो । यिनीहरुको ज्ञान र दयालु ब्यवहारका कारण मानिसहरु सदुकीहरुभन्दा फरिसीहरुलाई बढी आदर दिने गर्दथे । यिनीहरु ब्यवस्थाका हरेक कुराहरुलाई साबधानी पुर्वक पालन गर्नुपर्दछ भन्ने कुरामा बिश्वास गर्दथे । यिनीहरु पनि यहुदी धर्मप्रति अति नै कट्टर थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रमा नै बिश्वास गर्दथे । प्रेरित पावल पनि एक फरिसी थिए (प्रेरित २३ः६) । फरिसीहरुमध्ये थोरैले येशूलाई समर्थन गरेका थिए भने अधिँकाशले उहाँको विरोध गर्ने गर्दथे ।

उग्रपन्थिहरु (जेलट)
उग्रपन्थीहरु स्वतन्त्र सेनाहरु थिए जसले इस्राएलमाथिको रामीहरुको अधिकारलाई फाल्न चाहन्थे । उग्रपन्थीहरु बिशेषगरी गालीलमा बस्ने गर्दथे । येशु र उहाँका चेलाहरु पनि गालिलकै हुनुहुन्थ्यो र अधिँकाश समय त्यही सेवकाई गरेर बिताउनुभयो । उहाँका चेलाहरुमध्ये एक जना सिमोन थिए पनि उग्रपन्थी दलको मानिस थिए । त्यसैगरी बारव्वा पनि उग्रपन्थि दलको थियो भन्ने आँकलन लगाइएको छ । यिनीहरु रोमीहरुको शासनप्रति अति नै आक्रामक थिए र तिनीहरुको बिरोध गर्दथे । रोमीहरु र हेरोदीहरुलाई एक्लै भेट्टाएभने हत्या समेत गरिदिन्थे । ई.स. ६६ मा रोमीहरुको बिरुद्धमा आन्दोलन भड्काउने पनि यिनीहरु नै थिए ।

एस्सीनहरु
एस्सीन एउटा पारिभाषिक शब्द हो, जसको अर्थ धर्म पछ्याउने भन्ने हुन्छ । यो पन्थका मानिसहरु मृत सागरको उत्तर–पश्चिममा स्थित कुम्रान जस्ता अन्य गुफाहरुमा रहेका मठहरुमा एकान्त जीवन विताउने गर्दथे । यिनीहरुलाई यहुदीहरुले भिक्षुहरु भनेर सम्बोधन गर्ने गर्दथे । यिनीहरु पापबाट अलग रहन र परमेश्वरसँग मात्र समय बिताउनका लागि गुफाहरुमा मठवासको जीवन बिताउदथे । यिनीहरु शान्तिमा बिश्वास गर्दथे, तर ई.स. ६८ मा यहूदी आन्दोलनलाई दवाउने क्रममा रोमी सेनाले यिनीहरुको नरसँहार ग¥यो । तर युद्धमा नाश हुनुभन्दा पहिले नै एस्सीनहरुले आफुसँग भएका यहुदी धर्मशास्त्रहरुलाई गुफाहरुमा सुरक्षीत साथ लुकाएका थिए । ति सबै पाण्डुलिपीहरु तिनीहरुले घैटाहरुमा लुकाएर राखेका थिए । ई.स. १९४७ मा एक जना गोठालो केटाले ति पाण्डुलिपीहरु मध्ये केही कुम्रान गुफामा भेट्टायो । ख्रीष्टियन ईतिहासमा भेटाईएका पाण्डुलिपीहरुमा यो सबैभन्दा पुरानो पाण्डुलिपी थियो । त्यहाँ भेटीएका पाण्डुलिपीहरु ई.पु. २५० सम्मका पनि छन् । यो सबै एस्सीनहरुको देन हो । कति बाईबल बिद्धानहरुको भनाईमा येशु पनि एक एस्सीन हुनुहुन्थ्यो र उहाँले आफ्नो अज्ञात वर्षको समय मृतसागर वरपरका गुफाहरुमा बिताउनुभएको थियो । यो विषयमा मैले येशूको जीवनमा अज्ञात वर्षहरु भन्ने भिडियोमा उल्लेख गरिसकेको छुँ । भिडियो यसै च्यानलमा गएर हेर्न सक्नुहुन्छ ।

शास्त्रीहरु
शास्त्रीहरु कुनै राजनैतिक दल वा धार्मिक समुह थिएनन् । यिनीहरु पढ्न लेख्न सक्ने ब्यवसायीक ब्यक्तीहरु थिए । आफैले धर्मशास्त्र लिपिबद्ध गर्नु, र धर्मशास्त्रको ब्याख्या गर्नु र शिक्षा दिनु यिनीहरुको प्रमुख कार्य थियो । यिनीहरुले धर्मशास्त्रलाई नक्कल गरेर त्यसका प्रतिहरु राख्ने काममा ठुलो भुमिका निभाएका थिए । आज हाम्रो हातमा रहेको बाइबललाई सुरक्षित राख्नमा शास्त्रीहरुको ठुलो देन रहेको छ । राजा हेरोदले मशिहको जन्म कहाँ हुन्छ भन्ने कुरा जान्नका लागि यिनीहरुलाई सोधेका थिए (मत्ती २ः४) ।

हेरोदीहरु
यो समुदायको मुख्य उद्धेश्य भनेको राजा हेरोदको वँशको शासनलाई इस्राएलमा जोगाइराख्नु थियो । एकअर्थमा यो राजा हेरादको एक विशेष सेना पनि थियो । यहूदिहरुले राजा हेरोदलाई एक गैरयहूदिको रुपमा हेर्ने गर्थे र उनलाई राजाको रुपमा स्वीकार गर्दैनथे । इस्राएलमा बारम्बार हेरोदवँशी राजाहरुको विरुद्धमा आन्दोलन पनि हुने गर्थे । त्यस्ता आन्दोलनलाई दबाउन र यहूदिहरुलाई हेरोदवँशीको पक्षमा ल्याउन यी हेरोदीहरुले भरसक कोशिष् गर्थे ।

सम्बन्धित भिडियो........

Sunday, April 26, 2020

राजा हेरोदको बारेमा महत्वपुर्ण जानकारीहरु ! किन उनले आफ्ना रानी र छोरीहरुको हत्या गरेका थिए ? (भिडियो सहित)


को थिए हेरोदवँशीहरु========

हेरोद नाउँ नसुन्ने ख्रीष्टियनहरु कमै होलान् । सुसमाचारिय पुस्तकहरु प्रेरितको पुस्तकमा विभिन्न भागहरुमा हेरोद नाउँ उल्लेख गरिएको छ । हेरोद राजाले नै येशूको जन्महुदा बेथलेमहम र त्यस वरपरका २ वर्षमुनिका बालबालिकाहरुलाई मार्न लगाएका थिए । हेरोदले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । के तपाईलाई थाहा छ , बाइबलमा एकभन्दा बढि हेरोदको बारेमा उल्लेख गरिएको छ । के तपाईलाई थाहा छ ? बालबालिकाहरुको हत्या गर्ने हेरोद, बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद, र येशूको चेला याकूबलाई मृत्युदण्ड दिने हेरोद फरक व्यक्तिहरु थिए ! आजको यो लेखमा हेरोदवँशी राजाहरुको पुरा इतिहासलाई सँक्षित र सरल शैलीमा राख्ने जमर्को गरिएको छ ।

एन्टिपाटेरM हेरोदका घरानाका सँस्थापक

हेरोदको घरानाका संस्थापक एन्टीपाटेर थिए जो दक्षीण यहुदियामा भएको यदुमिया भन्ने ठाउँबाट आएका एक ठेम्मर यहुदी थिए । हेरोद तिनै एन्टिपाटेरका छोरा थिए । हेरोदवँशीहरु आधा एदोम वँशका थिए भने आधा यहूदीवँशका थिए । रोममा आफ्नो एकछत्र शासन कायम गर्नको निम्ति पम्पेसित युद्ध गर्न जूलियस सिजर मिश्र देशको युद्ध अभियानमा आएका बेला एन्टिपाटेरले यूद्धमा जूलियस कैसरलाई साथ दिएका थिए । युद्ध सिजरले जिते । एन्टिपाटेरबाट प्रसन्न भएका सिजरले उनलाई यहूदिया प्रान्तको शासक नियुक्त गरे । यस बाहेक सिजरले यहुदीहरुलाई दुई वटा कुराहरुमा पनि छुट दिएः १) अनिवार्य सैनिक सेवा र २) आफ्नै धर्म मान्ने अधिकार । हरेक गैरयहुदीले रोमीहरुको निम्ति काम गर्नैपर्दथ्यो र रोमी सम्राटलाई देवताको रुपमा पुजा गर्नुपर्दथ्यो । तर यहूदिहरुलाई भने यो कुरामा सिजरले छुट दिएका थिए ।

हेरोद “महान्”

ई=पु= ४२ मा एन्टिपाटेरको हत्या हुदा तिनका छोरा हेरोद गालिलका सेनाप्रमुख थिए । बुवाको हत्यापछि हेरोद यहूदियाको शासक नियुक्त भए । पुर्वी रोमका शासक मार्क एन्टोनीले हेरोदलाई ई.पु. ४० मा “यहुदीहरुको राजा”  उपाधी दिए । हेरोद केवल रोमीहरुको कठपुतली मात्र थिए । यहूदिहरु भने हेरोद र उनको वँशलाई घृणा गर्ने गर्दथे । हेरोदले यहुदीहरुको मन जित्नका लागि अनेकौ भव्य र सुन्दर भवन, गढी र नगरहरु निर्माण गर्न लगाए । उनलाई रोमीहरुले “हेरोद महान्” भन्ने गर्दथे तर यहुदीहरु उनलाई “महान्” भन्दैनथे । यहूदिहरुले उनलाई रोमीहरुका दलालको रुपमा मात्र लिन्थे । यहुदीहरुको मन जित्नका लागि हेरोदले ई.पु. २० येरुशलेमको पुरानो मन्दिरलाई भत्काएर त्यसको ठाउँमा नयाँ र भब्य मन्दिर बनाउन लगाए । यो मन्दिरले पुरै येरुशलेमको ६ भागको १ भागलाई ओगटेको थियो । नयाँ करारका सुसमाचारिय पुस्तकहरुमा उल्लेखित मन्दिर यहि नै थियो । यहि मन्दिरमा नै येशूले विद्युवाले चढाएको दुई सिक्का भेटिको तारिफ गर्नुभएको थियो । साथै यहि मन्दिरमा नै येशूले अन्तिम दिनहरुको बारेमा बताउनुभएको थियो । तर पछि गएर रोमी सेनापती टाईटसले उक्त मन्दिरलाई ई.स. ७० मा भत्काईदिए त्यसपछि यो मन्दिरको पुनर्निमाण फेरी कहिल्यै हुन सकेन ।

हेरोद महान्ले ई=स= ४ सम्म ईस्राएलमा शासन गरे । अरु कसैले आफ्नो सिँहासन खोसिदिन्छ कि भन्ने हेरोदलाई सधै डर लागिरहन्थ्यो । यो डरको कारणले गर्दा आफ्नो सिँहासनको निम्ति खतरा मानिएका हरेकलाई उनी मृत्युदण्ड दिन्थे । उनैले नै येशु ख्रीष्टको जन्मको खबर पाएर सिपाहीहरुलाई येशुलाई मार्नका लागि बेथलेहममा पठाएका थिए (मत्ती २ः३, १६) । आफ्नो सिँहासनको निम्ति नै उनले आफ्ना १० जना रानीहरुमध्ये २ जनालाई र ११ जना छोरीहरुमध्ये ३ जनालाई मृत्युदण्ड दिएका थिए । उनी आफ्नो सिँहासन बचाउन जुनसुकै हदसम्म पनि जान तयार थिए । जे होस्, हामीले हेरोदको बारेमा जे सोचे तापनि उनी एक दक्ष र प्रभावशाली प्रशासक हुन्, नत्रता सधै उथलपुथल र दङ्गा भईरहने यहुदीहरुको देशमा उनलाई निरन्तर ३८ बर्षसम्म शासन गर्न सक्ने अधिकार रोमले दिने थिएन होला ।

उनका उत्तराधिकारीहरु

हेरोदको मृत्युपछि उनको राज्य उनका तिन छोराहरुमा बाँडियो ।
अर्खिलाउसः उनले यहूदिया र सामरियामा इसापुर्व ४ देखि इ.स. ७ सम्म शासन गरेका थिए । उनी शासन सुरु गर्ने वित्तिकै यहूदिहरुमाथि दमन गर्न सुरु गरे । यहूदिहरुले उनको विरुद्ध रोममा कैसरकहाँ कुरा पु¥याए । त्यसपछि सम्राटले अर्खिलाउसलाई देश निकाला गरिदिए र उनको ठाउँमा रोमी राज्यपाल नियुक्त गरिदिए । अर्खिलाउसपछि नै पिलातसले यहूदिया र सामरियामा राज्यपालको रुपमा शासन गरेका थिए । अर्खिलाउसको बारेमा छोटकरीमा मत्ती २ः१९–२३ मा उल्लेख गरेको पाइन्छ ।

हेरोद एन्टिपासः उनले गालील र पेरियामा इसापुर्व ४ देखि ई.सँ. ३९ सम्म शासन गरेका थिए । त्यसपछि उनलाई रोमी सम्राटले अपदस्थ गरिदए । यिनै हेरोदले नै आफ्नो भाई फिलिपको श्रिमती राखेका थिए । बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद यिनै थिए । यो विषयमा मर्कूस ६ः१४–२९ मा उल्लेख गरिएको छ । यिनले नै येशू पक्राउ पर्नुभएको बेला येशूलाई भेटेका थिए । यो विषयमा लूका २३ः६–१५ मा उल्लेख गरिएको छ ।

फिलिपः यिनलाई फिलिप द टेट्रार्क पनि भनिन्छ । उनलाई यसो भनिनुको कारण उनले बुवाको राज्यको एक चौथाई भागमा शासन गर्ने भएकाले थियो । यिनले इसापुर्व ४ देखि ई.स. ३४ सम्म शासन गरेका थिए । यिनी हेरोद महान्का छोराहरुमा सबैभन्दा योग्य शासक मानिन्छन् । यिनले एउटा शहर बसाए जसको नाउँ रोमी सम्राट र आफ्नो नाउँ जोडेर कैसरीया फिलिप्पीया भनिन्थ्यो । यहि शहरमा नै येशूले चेलाहरुलाई तिमीहरु मेरो बारेमा के भन्छौ भनेर सोध्नुभएको थियो । यो घट्ना मत्ती १६ अध्याय र मर्कूस ८ः२७–३० मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपाः प्रेरितको १२ः१ मा उनलाई हेरोद राजा भनिएको छ । उनी हेरोद एन्टिपासका छोरा र हेरोद महान्का नाति थिए । उनले इस्वी सवत् ४१ देखि ४४ सम्म इस्राएलमा शासन गरेका थिए । प्रेरित १२ः२ मा उल्लेख गरिएअनुसार उनले नै येशूको चेला याकूबलाई मृत्युदण्ड दिएका थिए । हेरोद अग्रिपाले नै पत्रूसलाई पक्रेर झ्यालखानमा राखेका थिए जसको बारेमा प्रेरित १२ः३–१९ मा उल्लेख गरिएको छ । इस्वी सँवत् ४४ मा परमेश्वरका स्वर्गदुतले यिनलाई प्रहार गरेपछि यिनको मृत्यु भएको कुरा प्रेरित १२ः२३ मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपा दृतियः उनी हेरोद महान्का पनाति र हेरोद एन्टिपासको नाति र हेरोद अग्रिपाको छोरा थिए । उनलाई बाइबलमा राजा अग्रिपा भनेर उल्लेख गरिएको छ । उनले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । यो कुरा प्रेरित २५ः१३–२६ः३२ मा उल्लेख गरिएको छ । हेरोद अग्रिपा नै अन्तिम हेरोदवँशी राजा थिए । उनले सन् ४४ देखि उनको मृत्यु नहोऊन्जेलसम्म सन् ९३ सम्म इस्राएलमा शासन गरेका थिए ।

सम्बन्धित भिडियो===========