Sunday, April 26, 2020

राजा हेरोदको बारेमा महत्वपुर्ण जानकारीहरु ! किन उनले आफ्ना रानी र छोरीहरुको हत्या गरेका थिए ? (भिडियो सहित)


को थिए हेरोदवँशीहरु========

हेरोद नाउँ नसुन्ने ख्रीष्टियनहरु कमै होलान् । सुसमाचारिय पुस्तकहरु प्रेरितको पुस्तकमा विभिन्न भागहरुमा हेरोद नाउँ उल्लेख गरिएको छ । हेरोद राजाले नै येशूको जन्महुदा बेथलेमहम र त्यस वरपरका २ वर्षमुनिका बालबालिकाहरुलाई मार्न लगाएका थिए । हेरोदले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । के तपाईलाई थाहा छ , बाइबलमा एकभन्दा बढि हेरोदको बारेमा उल्लेख गरिएको छ । के तपाईलाई थाहा छ ? बालबालिकाहरुको हत्या गर्ने हेरोद, बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद, र येशूको चेला याकूबलाई मृत्युदण्ड दिने हेरोद फरक व्यक्तिहरु थिए ! आजको यो लेखमा हेरोदवँशी राजाहरुको पुरा इतिहासलाई सँक्षित र सरल शैलीमा राख्ने जमर्को गरिएको छ ।

एन्टिपाटेरM हेरोदका घरानाका सँस्थापक

हेरोदको घरानाका संस्थापक एन्टीपाटेर थिए जो दक्षीण यहुदियामा भएको यदुमिया भन्ने ठाउँबाट आएका एक ठेम्मर यहुदी थिए । हेरोद तिनै एन्टिपाटेरका छोरा थिए । हेरोदवँशीहरु आधा एदोम वँशका थिए भने आधा यहूदीवँशका थिए । रोममा आफ्नो एकछत्र शासन कायम गर्नको निम्ति पम्पेसित युद्ध गर्न जूलियस सिजर मिश्र देशको युद्ध अभियानमा आएका बेला एन्टिपाटेरले यूद्धमा जूलियस कैसरलाई साथ दिएका थिए । युद्ध सिजरले जिते । एन्टिपाटेरबाट प्रसन्न भएका सिजरले उनलाई यहूदिया प्रान्तको शासक नियुक्त गरे । यस बाहेक सिजरले यहुदीहरुलाई दुई वटा कुराहरुमा पनि छुट दिएः १) अनिवार्य सैनिक सेवा र २) आफ्नै धर्म मान्ने अधिकार । हरेक गैरयहुदीले रोमीहरुको निम्ति काम गर्नैपर्दथ्यो र रोमी सम्राटलाई देवताको रुपमा पुजा गर्नुपर्दथ्यो । तर यहूदिहरुलाई भने यो कुरामा सिजरले छुट दिएका थिए ।

हेरोद “महान्”

ई=पु= ४२ मा एन्टिपाटेरको हत्या हुदा तिनका छोरा हेरोद गालिलका सेनाप्रमुख थिए । बुवाको हत्यापछि हेरोद यहूदियाको शासक नियुक्त भए । पुर्वी रोमका शासक मार्क एन्टोनीले हेरोदलाई ई.पु. ४० मा “यहुदीहरुको राजा”  उपाधी दिए । हेरोद केवल रोमीहरुको कठपुतली मात्र थिए । यहूदिहरु भने हेरोद र उनको वँशलाई घृणा गर्ने गर्दथे । हेरोदले यहुदीहरुको मन जित्नका लागि अनेकौ भव्य र सुन्दर भवन, गढी र नगरहरु निर्माण गर्न लगाए । उनलाई रोमीहरुले “हेरोद महान्” भन्ने गर्दथे तर यहुदीहरु उनलाई “महान्” भन्दैनथे । यहूदिहरुले उनलाई रोमीहरुका दलालको रुपमा मात्र लिन्थे । यहुदीहरुको मन जित्नका लागि हेरोदले ई.पु. २० येरुशलेमको पुरानो मन्दिरलाई भत्काएर त्यसको ठाउँमा नयाँ र भब्य मन्दिर बनाउन लगाए । यो मन्दिरले पुरै येरुशलेमको ६ भागको १ भागलाई ओगटेको थियो । नयाँ करारका सुसमाचारिय पुस्तकहरुमा उल्लेखित मन्दिर यहि नै थियो । यहि मन्दिरमा नै येशूले विद्युवाले चढाएको दुई सिक्का भेटिको तारिफ गर्नुभएको थियो । साथै यहि मन्दिरमा नै येशूले अन्तिम दिनहरुको बारेमा बताउनुभएको थियो । तर पछि गएर रोमी सेनापती टाईटसले उक्त मन्दिरलाई ई.स. ७० मा भत्काईदिए त्यसपछि यो मन्दिरको पुनर्निमाण फेरी कहिल्यै हुन सकेन ।

हेरोद महान्ले ई=स= ४ सम्म ईस्राएलमा शासन गरे । अरु कसैले आफ्नो सिँहासन खोसिदिन्छ कि भन्ने हेरोदलाई सधै डर लागिरहन्थ्यो । यो डरको कारणले गर्दा आफ्नो सिँहासनको निम्ति खतरा मानिएका हरेकलाई उनी मृत्युदण्ड दिन्थे । उनैले नै येशु ख्रीष्टको जन्मको खबर पाएर सिपाहीहरुलाई येशुलाई मार्नका लागि बेथलेहममा पठाएका थिए (मत्ती २ः३, १६) । आफ्नो सिँहासनको निम्ति नै उनले आफ्ना १० जना रानीहरुमध्ये २ जनालाई र ११ जना छोरीहरुमध्ये ३ जनालाई मृत्युदण्ड दिएका थिए । उनी आफ्नो सिँहासन बचाउन जुनसुकै हदसम्म पनि जान तयार थिए । जे होस्, हामीले हेरोदको बारेमा जे सोचे तापनि उनी एक दक्ष र प्रभावशाली प्रशासक हुन्, नत्रता सधै उथलपुथल र दङ्गा भईरहने यहुदीहरुको देशमा उनलाई निरन्तर ३८ बर्षसम्म शासन गर्न सक्ने अधिकार रोमले दिने थिएन होला ।

उनका उत्तराधिकारीहरु

हेरोदको मृत्युपछि उनको राज्य उनका तिन छोराहरुमा बाँडियो ।
अर्खिलाउसः उनले यहूदिया र सामरियामा इसापुर्व ४ देखि इ.स. ७ सम्म शासन गरेका थिए । उनी शासन सुरु गर्ने वित्तिकै यहूदिहरुमाथि दमन गर्न सुरु गरे । यहूदिहरुले उनको विरुद्ध रोममा कैसरकहाँ कुरा पु¥याए । त्यसपछि सम्राटले अर्खिलाउसलाई देश निकाला गरिदिए र उनको ठाउँमा रोमी राज्यपाल नियुक्त गरिदिए । अर्खिलाउसपछि नै पिलातसले यहूदिया र सामरियामा राज्यपालको रुपमा शासन गरेका थिए । अर्खिलाउसको बारेमा छोटकरीमा मत्ती २ः१९–२३ मा उल्लेख गरेको पाइन्छ ।

हेरोद एन्टिपासः उनले गालील र पेरियामा इसापुर्व ४ देखि ई.सँ. ३९ सम्म शासन गरेका थिए । त्यसपछि उनलाई रोमी सम्राटले अपदस्थ गरिदए । यिनै हेरोदले नै आफ्नो भाई फिलिपको श्रिमती राखेका थिए । बप्तिष्मा दिने यूहन्नाको शिर काट्ने हेरोद यिनै थिए । यो विषयमा मर्कूस ६ः१४–२९ मा उल्लेख गरिएको छ । यिनले नै येशू पक्राउ पर्नुभएको बेला येशूलाई भेटेका थिए । यो विषयमा लूका २३ः६–१५ मा उल्लेख गरिएको छ ।

फिलिपः यिनलाई फिलिप द टेट्रार्क पनि भनिन्छ । उनलाई यसो भनिनुको कारण उनले बुवाको राज्यको एक चौथाई भागमा शासन गर्ने भएकाले थियो । यिनले इसापुर्व ४ देखि ई.स. ३४ सम्म शासन गरेका थिए । यिनी हेरोद महान्का छोराहरुमा सबैभन्दा योग्य शासक मानिन्छन् । यिनले एउटा शहर बसाए जसको नाउँ रोमी सम्राट र आफ्नो नाउँ जोडेर कैसरीया फिलिप्पीया भनिन्थ्यो । यहि शहरमा नै येशूले चेलाहरुलाई तिमीहरु मेरो बारेमा के भन्छौ भनेर सोध्नुभएको थियो । यो घट्ना मत्ती १६ अध्याय र मर्कूस ८ः२७–३० मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपाः प्रेरितको १२ः१ मा उनलाई हेरोद राजा भनिएको छ । उनी हेरोद एन्टिपासका छोरा र हेरोद महान्का नाति थिए । उनले इस्वी सवत् ४१ देखि ४४ सम्म इस्राएलमा शासन गरेका थिए । प्रेरित १२ः२ मा उल्लेख गरिएअनुसार उनले नै येशूको चेला याकूबलाई मृत्युदण्ड दिएका थिए । हेरोद अग्रिपाले नै पत्रूसलाई पक्रेर झ्यालखानमा राखेका थिए जसको बारेमा प्रेरित १२ः३–१९ मा उल्लेख गरिएको छ । इस्वी सँवत् ४४ मा परमेश्वरका स्वर्गदुतले यिनलाई प्रहार गरेपछि यिनको मृत्यु भएको कुरा प्रेरित १२ः२३ मा उल्लेख गरिएको छ ।

हेरोद अग्रिपा दृतियः उनी हेरोद महान्का पनाति र हेरोद एन्टिपासको नाति र हेरोद अग्रिपाको छोरा थिए । उनलाई बाइबलमा राजा अग्रिपा भनेर उल्लेख गरिएको छ । उनले नै येरुशलेममा प्रेरित पावलको मुद्धा सुन्ने काम गरेका थिए । यो कुरा प्रेरित २५ः१३–२६ः३२ मा उल्लेख गरिएको छ । हेरोद अग्रिपा नै अन्तिम हेरोदवँशी राजा थिए । उनले सन् ४४ देखि उनको मृत्यु नहोऊन्जेलसम्म सन् ९३ सम्म इस्राएलमा शासन गरेका थिए ।

सम्बन्धित भिडियो===========

No comments:

Post a Comment