Tuesday, April 28, 2020

को थिए फरिसी र सदूकीहरु ? फरिसी र सदूकीहरुको बारेमा पूरा जानकारी ! (भिडियो सहित)

पहिलो शताव्दीका यहूदि राजनैतिक र धार्मिक समूदायहरु

सुसमाचारिय पुस्तकहरुलाई बुझ्नका लागि यी धार्मिक र राजनैतिक गुठहरुको बारेमा जान्न आवस्यक हुन्छ । येशु ख्रीष्टको समयमा धार्मिक र राजैनिक रुपमा इस्राएल पूर्णरुपमा बिभाजित थियो । सबै मानिसहरु रोमी साम्राज्यको अधिनमा थिए र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मशिहको प्रतिक्षा गरिरहेका थिए । पुरानो करारमा हामी फरिसी, सदूकी, उग्रपन्थी जस्ता नाउँहरु देख्दैनौ । तर नयाँ करारमा भने यि सबैको बारेमा उल्लेख गरिएको छ । 

सदूकीहरु
सदुकीहरु इस्राएलका पुजाहारी वर्गका मानिसहरु थिए । येशु ख्रीष्टको समयमा यिनीहरु अति नै शक्तीशाली थिए । नयाँ करारको समयमा महासभा र मन्दिर इस्राएलका दुई प्रभावशाली क्षेत्र थिए । यहुदीहरुको महासभा र मन्दिरमा सदूकिहरुको नै वर्चस्सो थियो । सदूकीहरु दाऊद राजाका पुजाहारी सादोकका वँशका मानिसहरु थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रलाई नभई पञ्चग्रन्थ अर्थात मोशाद्धारा दिइएको व्यवस्थालाई मात्र मात्र मान्ने गर्दथे । यिनीहरु शारिरीक पुनरुत्थान, स्वर्गदुत जस्ता कुराहरुमा बिश्वास गर्दैनथे । यिनीहरु यहुदी ब्यवस्थाप्रति अति नै कट्टर थिए । सदुकीहरुले येशुलाई एक खतरनाक क्रान्तिकारीको रुपमा हरेका थिए । यिनीहरु रोमी शासनसँग नजिक थिए । सदूकीहरुले येशूलाई एक उदायमान् क्रान्तिकारीको रुपमा लिएका थिए । येशूले आन्दोलन मच्चाउनुहोला र यसले गर्दा रोमीहरुले देशलाई आक्रमण गरेर नष्ट पार्लान् भन्ने डर यिनीहरुमा थियो । येशूलाई पक्राऊ गरिएपछि महासभामा प्रधान पुजाहारीहरुकहाँ लगिएको थियो । ति सबै प्रधान पुजाहारीहरु सदूकीहरु नै थिए । त्यसकारणले नै प्रधान पुजाहारी कैयाफाले “पूरा देश नष्ट हुनुभन्दा, एक जना मर्नुमा नै भलाई छ” भनेका थिए । यो कुरा यूहन्ना मा उल्लेख गरिएको छ । सदुकीहरु मन्दिरसँग सम्बन्धित थिए । त्यसकारण जब ई.स. ७० मा मन्दिर नष्ट पारिएपछि यिनीहरु पनि लोप भएर गए ।

फरिसीहरु
येशूले धेरै पटक फरिसीहरुको बारेमा उल्लेख गर्नुभएको छ । गुप्तरुपमा येशूका चेला बनेका निकोदेमस पनि एक फरिसी थिए । यो कुरा युहन्ना ३ः१ मा उल्लेख गरिएको छ । फरिसी शब्दको अर्थ “छुट्टार्ईएको वा अलग गरिएको” भन्ने हुन्छ । किनकि फरिसीहरु आफैलाई समस्त संसारबाट अलग गर्न खोज्थे र सबै प्रकारका अशुद्धताहरुबाट टाढा बस्ने कोशिष गर्दथे । यिनीहरु धेरै आत्मिक जीवन जिउने कोशिष गर्थे । पहिलो शताब्दीमा फरिसी अति नै प्रभावशाली धार्मिक समुहको रुपमा स्थापित थियो । ईतिहासकार जोसेफसका अनुसार येशु ख्रीष्टको समयमा फरिसीहरुको जनसँख्या करीब ६००० जति थियो । यिनीहरुको ज्ञान र दयालु ब्यवहारका कारण मानिसहरु सदुकीहरुभन्दा फरिसीहरुलाई बढी आदर दिने गर्दथे । यिनीहरु ब्यवस्थाका हरेक कुराहरुलाई साबधानी पुर्वक पालन गर्नुपर्दछ भन्ने कुरामा बिश्वास गर्दथे । यिनीहरु पनि यहुदी धर्मप्रति अति नै कट्टर थिए । यिनीहरु यहुदीहरुको सम्पुर्ण धर्मशास्त्रमा नै बिश्वास गर्दथे । प्रेरित पावल पनि एक फरिसी थिए (प्रेरित २३ः६) । फरिसीहरुमध्ये थोरैले येशूलाई समर्थन गरेका थिए भने अधिँकाशले उहाँको विरोध गर्ने गर्दथे ।

उग्रपन्थिहरु (जेलट)
उग्रपन्थीहरु स्वतन्त्र सेनाहरु थिए जसले इस्राएलमाथिको रामीहरुको अधिकारलाई फाल्न चाहन्थे । उग्रपन्थीहरु बिशेषगरी गालीलमा बस्ने गर्दथे । येशु र उहाँका चेलाहरु पनि गालिलकै हुनुहुन्थ्यो र अधिँकाश समय त्यही सेवकाई गरेर बिताउनुभयो । उहाँका चेलाहरुमध्ये एक जना सिमोन थिए पनि उग्रपन्थी दलको मानिस थिए । त्यसैगरी बारव्वा पनि उग्रपन्थि दलको थियो भन्ने आँकलन लगाइएको छ । यिनीहरु रोमीहरुको शासनप्रति अति नै आक्रामक थिए र तिनीहरुको बिरोध गर्दथे । रोमीहरु र हेरोदीहरुलाई एक्लै भेट्टाएभने हत्या समेत गरिदिन्थे । ई.स. ६६ मा रोमीहरुको बिरुद्धमा आन्दोलन भड्काउने पनि यिनीहरु नै थिए ।

एस्सीनहरु
एस्सीन एउटा पारिभाषिक शब्द हो, जसको अर्थ धर्म पछ्याउने भन्ने हुन्छ । यो पन्थका मानिसहरु मृत सागरको उत्तर–पश्चिममा स्थित कुम्रान जस्ता अन्य गुफाहरुमा रहेका मठहरुमा एकान्त जीवन विताउने गर्दथे । यिनीहरुलाई यहुदीहरुले भिक्षुहरु भनेर सम्बोधन गर्ने गर्दथे । यिनीहरु पापबाट अलग रहन र परमेश्वरसँग मात्र समय बिताउनका लागि गुफाहरुमा मठवासको जीवन बिताउदथे । यिनीहरु शान्तिमा बिश्वास गर्दथे, तर ई.स. ६८ मा यहूदी आन्दोलनलाई दवाउने क्रममा रोमी सेनाले यिनीहरुको नरसँहार ग¥यो । तर युद्धमा नाश हुनुभन्दा पहिले नै एस्सीनहरुले आफुसँग भएका यहुदी धर्मशास्त्रहरुलाई गुफाहरुमा सुरक्षीत साथ लुकाएका थिए । ति सबै पाण्डुलिपीहरु तिनीहरुले घैटाहरुमा लुकाएर राखेका थिए । ई.स. १९४७ मा एक जना गोठालो केटाले ति पाण्डुलिपीहरु मध्ये केही कुम्रान गुफामा भेट्टायो । ख्रीष्टियन ईतिहासमा भेटाईएका पाण्डुलिपीहरुमा यो सबैभन्दा पुरानो पाण्डुलिपी थियो । त्यहाँ भेटीएका पाण्डुलिपीहरु ई.पु. २५० सम्मका पनि छन् । यो सबै एस्सीनहरुको देन हो । कति बाईबल बिद्धानहरुको भनाईमा येशु पनि एक एस्सीन हुनुहुन्थ्यो र उहाँले आफ्नो अज्ञात वर्षको समय मृतसागर वरपरका गुफाहरुमा बिताउनुभएको थियो । यो विषयमा मैले येशूको जीवनमा अज्ञात वर्षहरु भन्ने भिडियोमा उल्लेख गरिसकेको छुँ । भिडियो यसै च्यानलमा गएर हेर्न सक्नुहुन्छ ।

शास्त्रीहरु
शास्त्रीहरु कुनै राजनैतिक दल वा धार्मिक समुह थिएनन् । यिनीहरु पढ्न लेख्न सक्ने ब्यवसायीक ब्यक्तीहरु थिए । आफैले धर्मशास्त्र लिपिबद्ध गर्नु, र धर्मशास्त्रको ब्याख्या गर्नु र शिक्षा दिनु यिनीहरुको प्रमुख कार्य थियो । यिनीहरुले धर्मशास्त्रलाई नक्कल गरेर त्यसका प्रतिहरु राख्ने काममा ठुलो भुमिका निभाएका थिए । आज हाम्रो हातमा रहेको बाइबललाई सुरक्षित राख्नमा शास्त्रीहरुको ठुलो देन रहेको छ । राजा हेरोदले मशिहको जन्म कहाँ हुन्छ भन्ने कुरा जान्नका लागि यिनीहरुलाई सोधेका थिए (मत्ती २ः४) ।

हेरोदीहरु
यो समुदायको मुख्य उद्धेश्य भनेको राजा हेरोदको वँशको शासनलाई इस्राएलमा जोगाइराख्नु थियो । एकअर्थमा यो राजा हेरादको एक विशेष सेना पनि थियो । यहूदिहरुले राजा हेरोदलाई एक गैरयहूदिको रुपमा हेर्ने गर्थे र उनलाई राजाको रुपमा स्वीकार गर्दैनथे । इस्राएलमा बारम्बार हेरोदवँशी राजाहरुको विरुद्धमा आन्दोलन पनि हुने गर्थे । त्यस्ता आन्दोलनलाई दबाउन र यहूदिहरुलाई हेरोदवँशीको पक्षमा ल्याउन यी हेरोदीहरुले भरसक कोशिष् गर्थे ।

सम्बन्धित भिडियो........

No comments:

Post a Comment