Thursday, May 2, 2019

पृथ्वी जस्तै ९ ग्रहहरु (के एलियनहरु ति ग्रहहरुमा छन् होला त ?)

आधुनिक विज्ञानको उदयसँगै ब्रम्हाण्ड सम्बन्धी पत्ता लागेका नयाँ तथ्यहरुले सबलाई चकित पारेको छ । मानिसको परिकल्पनामा पनि ब्रम्हाण्डको सिमा विस्तार हुन पुगेको छ । खगोल विज्ञानले पनि समयसँगै निकै फड्को मारिसकेको छ । हामीले रातमा देख्ने पिलपिलाईरहेका धमिला ताराहरुमाथि नजर राख्नका लागि आज हामीसम्म केप्लर र हव्वल जस्ता टेलिस्कोपहरु रहेका छन् । ब्रम्हाण्डलाई अझै नजिकबाट चिन्ने र यसको बारेमा वृस्तित अध्ययन गर्ने मानवजातिको कोशिष्ले तिव्रगतिमा निरन्तरता पाइरहेको छ ।

के पृथ्वीभन्दा बाहिर अन्य कुनै ग्रहहरुमा पनि जीवन रहेको छ ? यो अति नै रहस्यमयी प्रश्न हो । अनुसन्धानका क्रममा यस्ता थुप्रै ग्रहहरु पत्ता लागेका छन् जो देखिनमा हाम्रो पृथ्वी जस्तै छन् । वैज्ञानिकहरुमा अनुसार ति ग्रहहरुमा एलियन जीवन हुनसक्ने भारी सम्भावना रहेको छ । प्रविधीको कमिले ति ग्रहहरुको बारेमा पुर्ण अध्ययन हुने भने बाँकी नै रहेको छ । ति ग्रहहरु हामीबाट धेरै टाढा रहेका छन् । यो भिडियोमा यस्ता ९ वटा ग्रहहरुको सुचि उल्लेख गरिएको छ जो आफ्नो ताराको ह्याविटेवल जोनमा रहेर परिक्रमा गरिरहेका छन् । यि ग्रहहरुमा पानी, ठोस जमिन र वनस्पतीहरु हुने भारी सम्भावना रहेका छन् । यि ग्रहहरु पृथ्वी जस्तै देखिने भएकाले तिनलाई सुपर अर्थ नाम दिइएको छ । ति ९ ग्रहहरु यस प्रकार रहेका छन्ः

(१) केप्लर १८६ एफ (Kepler-186f)


यो अहिलेसम्म भेट्टाइएको पहिलो यस्तो ग्रह हो जो आकारमा पृथ्वी जत्रै रहेको छ । यो पृथ्वीबाट ४९० प्रकाशवर्ष टाढा रहेको छ । ४९० प्रकाशवर्ष भनेपछि हाम्रा लागि निकै टाढा हो । यो चट्टानबाट बनेको ग्रह हो र यसमा पानी हुने भारी सम्भावना रहेको छ । यो ग्रह पृथ्वीभन्दा केवल १० प्रतिशत मात्र ठुलो रहेको छ । यो ग्रहले आफनो ताराको ह्याविटिल जोनमा रहेर परिक्रमा गरिरहेको छ । यो ग्रहमा पानी रहेको कुरामा वैज्ञानिकहरु सहमत रहेका छन् ।

(२) ग्लीज ५८१ जी (Gliese 581g)


यो ग्रह सन् २०१० मा पत्ता लगाइएको थियो । यो ग्लिस ५८१ नामक ताराको ह्याविटेवल जोनमा रहेको छ । यो ग्रह देखिनमा पृथ्वी जस्तै रहेको छ । जीवनको भारी सम्भावना भएका ग्रहहरुमध्ये यो पनि एक पर्दछ । यो पृथ्वीबाट २० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीबाट दुई देखि तिन गुणा ठुलो रहेको छ । यसले आफ्नो तारा ग्लिस ५८१ लाई ३० दिनमा एक पटक चक्कर लगाउने गर्दछ । 

३) ग्लीज ६६७ सि सि (Gliese 667Cc)


ग्लिस ६६७ सि.सि. ग्रहलाई सुपर अर्थको नाउले पनि चिन्ने गरिन्छ । यो ग्रह स्कर्पिअस तारागणमा रहेर ग्लिस ६६७ ताराको परिक्रमा गरिरहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे चार गुणा ठुलो रहेको छ । यो पृथ्वीबाट २२ प्रकाशवर्ष टाढा रहेको छ । यसले आफ्नो तारालाई २८ दिनमा परिक्रमा गर्ने गर्दछ । यसको तारा एक डर्फ तारा हो र यो हाम्रो सुर्यको तुलनामा ३ गुणा सानो रहेको छ । यो ग्रह ठोस जमिन र पानीबाट बनेको अनुमान लगाइएको छ । वैज्ञानिकहरुले यो ग्रहमा पनि एलियन जीवन हुनसक्ने भारी सम्भावना जताएका छन् ।

४) केप्लर २२ वि -Kepler-22b)


यो ग्रह हाम्रो पृथ्वी भन्दा ढाई गुणा ठुलो रहेको छ । यसले यस्तो ताराको परिक्रमा गरिरहेको जसको आकार र तापक्रम हाम्रो सुर्यसँग लगभग समान रहेको छ । यो ग्रह सिग्नस कन्स्टिलेसन (तारागढा) मा रहेको छ । अनुसन्धानबाट यसको तापक्रम ७२ डिग्री फरेनहाइट अर्थात २२ डिग्री सेल्सीयस पत्ता लगाइएको छ । यो पृथ्वीबाट ६०० प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रहमा पनि पानी रहेको अनुमान वैज्ञानिकहरुले लगाएका छन् ।

५) एच डि ४०३०७ जि -HD 40307g)


यो ग्रहलाई अक्टोवर २०१२ मा पत्ता लगाइएको थियो । एच डि ४०३०७ जि ले रातो डर्फ ताराको परिक्रमा सही तरिकामा ह्याविटेवल जोनमा रहेर गरिरहेको छ । यसको सौर्यमण्डलमा ६ वटा ग्रहहरु रहेका छन् । यो ग्रह पृथ्वीबाट ४२ प्रकाशवर्षबाट पिक्टर कन्स्टिलेसनमा (तारागण) रहेको छ । यसले आफ्नो ताराको वरपर करिब ९ करोड किलो मिटरको दुरीलाई पार गरेर परिक्रमा गर्दछ । यो हाम्रो पृथ्वीभन्दा ७ गुणा ठुलो रहेको छ । यो ग्रहमा चट्टान र वायुमण्डल दुवै रहेको छ । वैज्ञानिकहरुले यो ग्रहलाई वृस्तितरुपमा अध्ययन गरिरहेका छन् ।

६) एच डि ८५५१२ वि -HD 85512b)


यो ग्रह भेला कस्न्टिलेसनमा पृथ्वीबाट ३५ प्रकाशवर्ष टाढा रहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे तिन गुणा भारी रहेको छ । अनुसन्धानबाट यो ग्रहको तापक्रम २५ डिग्री सेल्सीयस रहेको पत्ता लगाइएको छ । यो ग्रहको बारेमा थप अध्ययन हुने बाँकी नै रहेको छ । यसमा पानी छ कि छैन भन्ने कुरामा वैज्ञानिकहरु अझै पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

७) टाउ सेटी ई -Tau Ceti e)


यो ग्रह डिसेम्बर २०१२ मा पत्ता लगाइएको थियो । टाउ सेटी एउटा तारा हो जो हाम्रो पृथ्वीबाट करिब १२ प्रकाशवर्ष टाढा सेटस कन्स्टिलेसन (तारागण) मा रहेको छ । यो सौर्यप्रणालीमा अन्य थुप्रै ग्रहहरु पनि पत्ता लगाइएको छ । ति मध्ये टाउ सेटी ई र एफ ह्याविटेवल जोनमा रहेर ताराको परिक्रमा गरिरहेका छन् । पृथ्वीको तुलनामा यसले आफ्नो सुर्यको परिक्रमा गर्न निकै कम समय लगाउने गर्दछ । यो ग्रह पनि जीवनका लागि उपयुक्त हुने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् ।

८) ग्लीस ५८१ डि -Gliese 581d)


एक अध्ययनले देखाएअनुसार यो ग्रहमा कार्वनडाइअक्साईड हुने सम्भावना भारी रहेको । ग्लीस ५८१ डि र ग्ली ५८१ जि दुवै ग्रहले ह्याविटेवल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेका छन् । यो ग्रह पनि चट्टानले बनेको छ र जीवनको प्रसस्त सम्भावना बोकेको छ । यो ग्रह हाम्रो पृथ्वीबाट करिब २० प्रकाशवर्ष टाढा रहेको छ ।

९) टाउ सेटी एफ -Tau Ceti f_


यो ग्रहले टाउ सेटी ताराको परिक्रमा गरिरहेको छ । टाउ सेटी इ र यो ग्रह उक्त ताराको ह्याविटेवल जोनमा रहेका छन् । यो ग्रह अर्को ग्रहको तुलनामा आफ्नो तारालाई नजिकबाट परिक्रमा गरिहेको छ । यो ग्रह पृथ्वीभन्दा साढे ६ गुणा ठुलो रहेको छ । यो ग्रहको तापक्रम अलिक बढि रहेको छ तथापी यसमा जीवन हुनसक्ने कुरामा वैज्ञानिकहरु आशावादी देखिन्छन् । यो ग्रहको बारेमा थप अध्ययन भइरहेको छ ।

यि ग्रहहरुमा एलियनहरु छन् वा छैनन् भन्ने कुराको जानकारी पाउन हामीले केही समय पर्खनै पर्नेहुन्छ । हामी अझै पनि यति उन्नत भइसकेका छैनौ कि थुप्रै प्रकाशवर्ष टाढा रहेका ति ग्रहहरुको बारेमा अध्ययन गर्न सकौं । हाम्रो सवैभन्दा नजिकको तारा अल्फा सन्टौरीमा भएका ग्रहहरुको बारेमा समेत वृस्तित जानकारी हामीसँग छैन । अल्फा सेन्टोरी हामीबाट केवल चार प्रकाशवर्ष टाढा रहेको छ ।
तपाईहरुलाई के लाग्छ ? के ब्रम्हाण्डमा एलियनहरु छन् वा छैनन् ? पृथ्वीभन्दा बाहिर जीवन छ वा छैन ? के उल्लेखित ९ वटा ग्रहहरुमा एलियनहरु होलान् त ? कृपया तपाईको विचार कमेन्टमा लेख्न नविर्सनुहोला । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि ।

No comments:

Post a Comment