Wednesday, May 8, 2019

के वास्तवमै “एलियन” छन् त ? अहिलेका अनुसन्धानहरुबाट के पत्ता लगाइएको छ ?


१) के एलियनको अस्तित्वको सम्भावना छ त ?
एलियनहरुको अस्तित्वलाई बिभिन्न तरिकामा पुष्टि गर्ने प्रयत्न भइरहेका छन् र यस सम्बन्धी बिभिन्न धारणाहरु अगाडी आएका छन् । तर यसलाई अहिलेसम्म कसैले पनि तथ्यगतरुपमा प्रमाणीत गर्न भने सकेको छैन । हाम्रो ब्रम्हाण्डमा खरबौँको सँख्यामा ग्रहहरु रहेका छन् र ति सबैले आ–आफ्ना ताराहरुको परिक्रमा गरिरहेका छन् । अहिलेसम्मको हाम्रो खोजमा केवल हामीले पृथ्वीमा मात्र जीवन पाउन सकेका छौ । एलियन भन्ने बित्तिकै हाम्रो दिमागमा टाउको र आँखा ठुलो भएको र जिउ सानो भएको प्राणीको चित्र आउने गर्दछ । हाम्रो ब्रम्हाण्ड यति बिशाल रहेको छ कि यसले एलियनहरुको अस्तित्वको प्रसस्त सम्भावनाहरु बोकेको छ । यि सबैका बावजुद पनि अहिलेसम्मका खोजहरुले एलियन जीवनको अस्तित्वलाई पुष्टी गर्न सकेका छैनन् । एलियन जीवन पत्ता लगाउनकै लागि भनेर सुदुर अन्तरिक्षमा छोडिएको केप्लर टेलिस्कोपले थुप्रै ताराहरुमाथि आफ्नो निगरानी गरिरहेको छ र त्यसको बावजुद पनि एलियनहरुको अस्तित्वको कुनै पनि प्रमाण पत्ता लगाउन सकेको छैन । त्यसकारण प्रश्न यो आउँछ, के यो बिशाल ब्रम्हाण्डमा हामी मात्र एक्लो छौ त ? के अन्यत्र कतै पनि जीवन छैन त ? के एलियनहरुको अस्तित्वको सम्भावना छ ? 
कुनै ग्रहमा पनि जीवन हुनका लागि बिभिन्न कुराको उल्लेखनिय भुमिका हुन्छ । अहिलेसम्म हामीले देखेका ति ग्रहहरुमा चाहिँ यो सँयोग केवल पृथ्वीमा मात्र देखिएको छ । कुनै पनि ग्रहमा जीवनको उत्पत्ती हुनका लागि त्यो ग्रह गोल्डी लक जोनमा अवस्थित हुनुपर्दछ । गोल्डी लक जोनमा पर्ने ग्रहहरु त्यसले परिक्रमा गरिरहेको ताराबाट उपयुक्त दुरीमा अवस्थित हुनुपर्दछ । यदि त्यो ग्रह उपयुक्त दुरीमा नभई आफ्नो ताराको धेरै नजिक रहेको छ भने त्यहाँ तापक्रम बढि भएर जीवन उत्पत्ती हुने सम्भावना असम्भव हुन्छ । यदि त्यो ग्रह अलिक टाढाबाट परिक्रमा गरिरहेको छ भने त्यो बढि चिसो हुन्छ र त्यहाँ जीवन उत्पत्ती हुन सक्दैन । त्यो ग्रहले आफ्नो तारालाई सहि समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । अर्थात अन्य ग्रहमा पनि जीवन सम्भव हुनका लागि त्यसले पृथ्वीले सुर्यको परिक्रमा गर्न जति समय लगाउँछ तिनले पनि लगभग त्यत्ति नै समयमा परिक्रमा गरिरहेको हुनुपर्दछ । त्यत्तीमात्र नभई त्यो तारा आफ्नो तारापुञ्ज अर्थात ग्यालेक्सीको उपयुक्त ठाउँबाट परिक्रमा गरिरहेको हुनुपर्दछ । तारापुञ्जका सबै क्षेत्रमा भएका ग्रहहरुमा जीवन सम्भव हुदैन । जीवन सम्भव रहनका लागि त्यो तारा तारापुञ्जको बाहिरी भागतिर अवस्थित हुनुपर्दछ । यि सबै कुराहरु भएर त्यो ग्रह आफ्नो उपग्रहबाट सहि दुरीमा छैन भने पनि त्यो ग्रहमा जीवन सम्भव हुन सक्दैन । पृथ्वीमा जीवन सम्भव हुनका लागि चन्द्रमासँगको यसको दुरीको महत्वपुर्ण भुमिका रहेको छ । र कुनै पनि ग्रह वा पिण्डमा जीवन उत्पत्तीका लागि सबैभन्दा आवस्यक कुरा पानी हो । यदि त्यहाँ एच.टु.ओ. को अस्तित्व छ भने मात्र जीवन सम्भव हुन्छ र त्यहाँको बातावरणमा अक्सीजन र कार्बनडाइअक्साईड ठिक स्तरमा हुनुपर्दछ । माथि उल्लेख गरिएका सबै कुराहरु कुनै पनि ग्रहमा जीवनको अस्तित्व हुनका लागि आधारभुत कुराहरु हुन् । यि भन्दा बाहेक अन्य थुप्रै कुराहरु पनि छन् जसले जीवनको अस्तित्वका लागि महत्वपुर्ण भुमिका खेल्दछन् ।
भौतिकशास्त्रको नियम सबै ठाउँमा एकनाश नै लागु हुन्छ । त्यसकारण सम्पुर्ण बिशाल ब्रम्हाण्डमा केवल हाम्रो पृथ्वी मात्र गोल्डी लक जोनमा पर्दछ भन्नु मुर्खता हुन्छ । ब्रम्हाण्डमा अवस्थित यी असँख्य तारामण्डलहरुमा कहि पनि जीवन हुनसक्ने सम्भावना रहेको छ । यदि सम्पुर्ण ग्रहहरुको सँख्याहरुलाई लिएर केवल ०.०१ प्रतिशतमा मात्र जीवनको अस्तित्व हुनसक्छ भनेर मान्ने हो भनेता पनि जीवनको अस्तित्व हुन सक्ने ग्रहहरुको सँख्या १० लाख भन्दा बढि हुन जान्छ । त्यसोभए यति बिशाल सम्भावना बोकेको ब्रम्हाण्डमा हामीले किन एलियनहरुलाई अहिलेसम्म भेट्न सकेका छैनौ त ? 
२) किन हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ त ?
भौतिकशास्त्री फ्रेन डेरेकले गहिरो खोज र अध्ययनपछि १९६१ मा एक समिकरण निकाले जसलाई “डेरेक समिकरण” भनिन्छ । उनका अनुसार हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र करिब १०,००० भन्दा बढि ग्रहहरुमा जीवन हुनसक्छ । यति ठुलो सँख्याको बावजुद पनि हामीले किन उनीहरुलाई भेट्न सकेका छैनौ त ? बर्षौ अगाडी पठाइएका भोएजरर्सहरुले अरौबौ किलो मिटरको दुरी तय गरेर हाम्रो सौर्य–मण्डललाई समेत पार गरेर अरौबौ किलो मिटर टाढा गइसक्दा पनि एलियन जीवन कतै पत्ता लाग्न सकेन । बैज्ञानिकहरुले बर्षौदेखि रेडियसनहरुबाट ब्रम्हाण्डमा सन्देशहरु पठाउने काम गरिरहेका छन् तर आजसम्म कसैले पनि ति सन्देशहरुको जवाफ पठाएको छैन । यदि एलियनहरु अति नै उन्नत छन् र पृथ्वीमा मिनेटभरको समयमा आउँन सक्छन् भने किन तिनीहरुले हामीले पठाएका सन्देशहरुको प्रतिक्रिया दिएनन् त ? त्यसकारण कतिको भनाईमा मानिस मात्र ब्रम्हाण्डमा एकमात्र बुद्धिजिवी प्राणी हो र कुनै एलियन सभ्यताको अस्तित्व नै छैन । यदि एलियनको अस्तित्वलाई स्विकार्ने हो भने उनीहरुसँगको हाम्रो भेट सहज छैन भन्ने कुरा बुझनु अत्यावस्यक छ । यसको निम्ति सबैभन्दा ठुलो बाधा ताराहरुको आपसी दुरी हो । ताराहरु एकअर्काबाट यति टाढा रहेका छन् कि एउटा ताराबाट अर्को तारासम्म यात्रा गर्नका लागि थुप्रै प्रकाश बर्ष लाग्दछ ।
हाम्रो सौर्यमण्डल कै कुरा ग¥यो भने हाम्रो सौर्यमण्डलको सबैभन्दा नजिकको तारा प्रोक्जीमा सेन्टौरीसम्म पुग्न हामीलाई ४.३३ प्रकाशबर्षको भन्दा बढ्दा समय लाग्छ । अर्थात कुनै यस्तो यानको आबिस्कार गरियो जसले एक सेकेण्डको समयमा पृथ्वीलाई ७ चक्कर लगाउन सक्छ र त्यो यानमा त्यही गतिमा यात्रा गर्न सकियो भने प्रोक्जीमा सेन्टौरीसम्म पुग्नका लागि ४.३३ बर्ष लाग्नेछ । प्रोक्जीमा सेन्टौरी हामीबाट खरौबौ किलो मिटर टाढा रहेको छ र अहिले अस्तित्वमा रहेका अन्तरिक्षयानबाट यात्रा गरेर त्यहाँ जानका लागि हामीलाई ३०,००० बर्षको समय लाग्नेछ । यदि कुनै सभ्यता बिकसित अवस्थामा भएतापनि त्यसका लागि यत्रो लामो दुरी तय गर्नु साधारण कुरा होइन । यदि एलियनहरुको अस्तित्व छ भनेर स्विकार्ने नै हो भने पनि तिनीहरुलाई भेट्नका निम्ति ताराहरुको आपसी दुरी ठुलो बाधक र चुनौति हो । ब्रम्हाण्डमा प्रकाश नै सबैभन्दा तिब्रगतिमा यात्रा गर्ने चिज हो जसले एक सेकेण्डमा ३ लाख किलो मिटरको दुरी तय गर्दछ । मानौ कोही एलियन सभ्यता यति बिकसित छ कि तिनीहरुले तिब्रगतिमा यात्रा गर्ने यानहरु आबिस्कार गरिसकेका छन् र पनि तिनीहरुलाई पृथ्वीसम्म आउन थुप्रै समय लाग्नेछ । अल्वर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त अनुसार कुनै पनि बस्तु प्रकाशको गतिभन्दा छिटो यात्रा गर्न सक्दैन । यदि त्यस्तो भएमा त्यो वस्तु आगोमा परिणत हुन्छ ।
केप्लर टेलिस्कोपले बर्षौदेखि करीब ३५,०० ग्रहहरुमाथि निगरानी राखिरहेको छ र एलियन जीवन पत्ता लगाउने प्रयत्न गर्दैछ । तर अहिलेसम्मको नतिजा भने निराशाजनक नै देखिएको छ । एलियन भन्ने बित्तिकै हामी कस्तो जीवन बुझदछौ ? के एलियन हामीहरुभन्दा बढि उन्नत र बिकसित हुनैपर्दछ त ? यस्तो अवस्य पनि होइन । एलियनहरु सानो ब्याक्टेरिया, साना प्राणीहरु र अबिकसित प्राणीका रुपमा पनि रहन सक्छन् । हुनसक्छ अरौबौ ग्रहहरुमध्ये केवल केही लाखमा मात्र जीवन अस्तित्वमा रहन सक्दछ भने ति लाखौ ग्रहहरुमध्ये केवल केही सयमा मात्र मानिस जस्तै बिवेकशिल प्राणी रहेका होलान् । त्यसकारण पनि हामीले एलियनहरुलाई भेट्न सकेका छैनौ । एलियनहरुलाई भेट्ने हाम्रो ठुलो धोको भएतापनि हामीले अहिलेसम्म उनीहरुलाई भेट्न सकेका छैनौ तर नाशाका बैज्ञानिकहरु भने २०४० सम्म एलियन जीवनको अस्तित्व पत्ता लाग्ने कुरामा आशावादी देखिन्छन् । यदि त्यसो भएमा यो यस शताब्दीकै सबैभन्दा ठुलो खोज हुनेछ । 
३) एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका प्रयत्नहरु
अब एलियन जीवन पत्ता लगाउनका निम्ति गरिएका केही प्रयत्नहरुको बारेमा हेरौ । भोयजर्सहरुको उद्धेश्य एलियन जीवन नै पत्ता लगाउनु नभएतापनि यसको प्रयोग एलियन जीवनको बारेमा अध्ययन गर्न भइरहेको छ । बैज्ञानिकहरुले थुप्र्रै बर्ष अगाडी भोयजर्स वन र भोयजर्स टु लाई ब्रम्हाण्डको अनन्त यात्राका लागि छोडिदिएका छन् । यि दुवै यन्त्रहरु पृथ्वीबाट अरबौ किलो मिटर टाढा गइसकेका छन् र त्यहाँबाट नयाँ नयाँ तस्विरहरु पठाइरहेका छन् । त्यसैगरी नाशाले २००९ मा एलियनहरुको अस्तित्व पत्ता लगाउनकै लागि भनेर केप्लर स्पेश टेलिस्कोप छोडेको थियो । यसले आकाशमा करीब ३५०० वटा ग्रहहरुमाथि नजर लगाईरहेको छ । हालसम्म यसले ग्लीज ६६७ सि, ग्लीज ५८१ डि., केप्लर ४५२ बि., केप्लर २२ बि., केप्लर ६२ डि., केप्लर ६९ सि., जस्ता ग्रहहरु पत्ता लगाएको छ जो ह्याबिटेबल जोनमा रहेका छन् र जीवनको भारी सम्भावना बोकेका छन् । चाडै नै यि ग्रहहरुमा जीवन छन् वा छैनन् भन्ने कुरामा बैज्ञानिकहरु निष्कर्षमा पुग्ने सम्भावना रहेको छ । एलियन जीवन पत्ता लगाउनका लागि गरिएका प्रयत्नहरुमध्ये सबैभन्दा महत्वपुर्ण प्रयत्न “ब्रेक थ्रु” परियोजना हो । फेसबुकका सँस्थापक मार्क जुकरबर्ग र भौतिकशास्त्री प्रख्यात बैज्ञानिक स्टेफेन हकिङ्ग र रुसी ब्यापारी युरी मिलनरले अगष्ट २०१६ मा यो परियोजनाको सुरुवात गरेका थिए । यो परियोजनाले एउटा सानो चिपको आकारको यन्त्रलाई हाम्रो सबैभन्दा नजिकको तारागण अल्फा सेन्टोरीमा पठाएको छ । अल्फा सेन्टौरी ३ वटा ताराहरुको समुह हो र त्यहाँ एउटा ग्रह ह्याबिटेबल जोनमा रहेर आफ्नो ताराको परिक्रमा गरिरहेको पत्ता लागेको छ । उक्त स्टार–चिपले प्रकाशको यात्राको जम्मा गतिको ५ भागको १ भाग बराबर यात्रा गर्नेछ । यसरी करिब साढे चार प्रकाश बर्ष टाढा रहेको अल्फा सेन्टोरीसम्म यात्रा गर्नका लागि उक्त स्टार–चिपलाई २० देखि ३० बर्षको समय लाग्नेछ । यो परियोजनाबाट एलियन जीवन पत्ता लाग्ने कुराप्रति बैज्ञानिकहरु आशावादी देखिन्छन् ।
अब अन्त्यमा........
के वास्तवमै एलियन छन् त ? यो प्रश्नको तथ्यगत उत्तर आजको समयसम्म हामीसँग छैन । सम्भावनाहरु प्रसस्तै देखिएता पनि तिनीहरुको उपस्थिती तथ्यगतरुपमा प्रमाणीत नभइसकेकाले  यसै भन्न सक्ने अवस्था पनि छैन । मानिस मात्र यति बुद्धिजीवि र बिवेकशिल प्राणी बन्नुले पनि थुप्रै प्रश्नहरु उब्जाउछ । ईश्वरको यो सृष्टि अद्भुत र रहस्यले भरिपुर्ण छ । जबसम्म सबै कुराहरु हाम्रा अगाडी छर्लङ्ग हुदैनन् तब सम्म सबै कुरा रहस्यकै गर्भमा रहनेछन् । आजसम्मका सबै खोज र अनुसन्धानहरुबाट मानवजाति नै सम्पुर्ण ब्रम्हाण्डको एकमात्र बुद्धिजिवी प्राणीको रुपमा अस्तित्वमा रहेको देखिन्छ । तसर्थ इश्वरले उपहार स्वरुप यो अनन्त ब्रम्हाण्डमा हामीलाई दिएको यो बहुमुल्य जीवनलाई भरपुर उपयोग गर्न सके जीवनको अर्थ अझ सार्थक हुन सक्छ ।  यदि हामीले यही पुस्तामा कुनै ग्रहमा जीवन पत्ता लगाउन सफल भयौ भने इतिहासमा हामी नै त्यो पूस्ता हुनेछौ जसले सबैभन्दा ठुलो रहस्य उजागर गर्नेछौ र के हामी वास्तवमै एक्लै छौ त ? वा के वास्तवमै एलियन छन् त ? भन्ने चुनौतिपुर्ण र रहस्यमयी प्रश्नको जवाफ पत्ता लगाउनेछौ ।
सम्बन्धित भिडियो..........

No comments:

Post a Comment