Wednesday, June 5, 2019

विश्वविजेता अलेक्जेण्डर “महान्” को रोचक जिवनी (भिडियो सहित)


अलेक्जेण्डर महान्को जन्म २० जुलाई ३५६ ईसापुर्वमा प्राचिन ग्रिसको एक राज्य म्यासेडोनियाको पेल्लामा भएको थियो । उनको बुवा म्यासेडोनियाका राजा फिलिप दृतिय थिए भने उनकी आमाको नाउँ ओलम्पीया थियो । उनले सानोमा बुवासँग निकै कम समय विताउने मौका पाएका थिए । उनको बुवा युद्धहरुमा निकै व्यस्त हुने गर्दथे । उनकी आमाले सानैदेखि अलेक्जेण्डरलाई उनी फिलिपका छोरा नभई जिउस देउताका छोरा हुन् भनेर सिकाएकी थिइन् । जिउस देउताले आलम्पियाको पेटमा आकाशबाट चट्टयाङ्ग पारे र त्यो चट्याङ्गबाट अलेक्जेण्डर गर्भमा रहन गएका थिए भन्ने गर्थिन् । पछि गएर अलेक्जेण्डरले आफुलाई फिलिपको छोराको रुपमा ठान्न छोडिसकेका थिए । उनी आफूलाई भगवान जिउसको छोरा मान्ने गर्दथे । फिलिपले अलेक्जेण्डरको शिक्षाका लागि शिक्षकहरु नियुक्त गरेका थिए । उनले ट्रोयको युद्ध नामक पुस्तक पढेका थिए र उनी यसबाट प्रभावित थिए । उनको बुवाआमाले उनलाई सानैदेखि भविष्यको राजाको रुपमा हुर्काएका थिए । उनको बुवा सधै युद्धहरुमा व्यस्त हुने गर्दथे । बुवासँग उनको भेटघाट कमै हुने गर्दथ्यो । उनले बुवालाई एक पटक यसो भनेका थिए, “तपाईले सबै राज्यहरु जित्नुभयो भने मैले के जित्ने ?” 

अलेक्जेण्डर १३ वर्ष हुदा उनलाई शिक्षा दिने काम त्यो बेलाको प्रख्यात दर्शनशास्त्री एरिष्टोटलले गरे । अलेक्जेण्डरले एरिष्टोटलबाट विज्ञान, युद्धकला, चिकित्सा, र होमेर र ट्रोयको युद्ध जस्ता शास्त्रहरु सिकेका थिए । भनिन्छ अलेक्जेण्डरमा विश्व विजय गर्ने सपना पनि एरिष्टोटलले नै छरेका थिए । अलेक्जेण्डरले एरिष्टोटलको बारेमा एक पटक यसो भनेका थिएः “मेरो बुवाले मलाई जीवन दिनुभयो, तर एरिष्टोटलले मलाई असल जीवन दिनुभयो ।” एरिष्टोटलले अलेक्जेण्डरलाई केवल ३ वर्ष मात्र शिक्षा दिएका थिए । अलेक्जेण्डर १३ वर्षको छदा कसैले पनि काबुमा ल्याउन नसकेको घोडालाई काबुमा ल्याएका थिए । उक्त दृष्य देखेर प्रभावित भई उनको बुवा फिलिपले यसो भनेको थिए, “छोरा अलेक्जेण्डर, शासनका लागि तिमीले अर्को कुनै राज्य हेर, तिम्रो लागि म्यासेडोनिया निकै सानो हुनेछ !” अलेक्जेण्डरले काबुमा ल्याएको घोडाको नाउँ बुक्याफोलस थियो । अलेक्जेण्डरले पछि गएर त्यसलाई नै आफ्नो घोडा बनाए । यही घोडामाथि बसेर नै अलेक्जेण्डरले दुनिया जित्ने यात्रा सुरु गरेका थिए । यही घट््नाबाट अलेक्जेण्डरको विजयको यात्रा सुरुवात हुन्छ । अलेक्जेण्डरले उक्त घोडालाई निकै माया गर्दथे । उनले एउटा शहरको नाउँ नै यही घोडाको नाउँबाट बुक्याफुलस राखेका थिए ।

त्यो बेलामा एथेन्स म्यासेडोनियाको सबैभन्दा ठुलो शत्रु थियो । अलेक्जेण्डरले पहिलो युद्ध एथेन्स र  थेव्सको विरुद्धमा च्यारोनियामा लडेका थिए । उक्त युद्धमा राजा फिलिप र राजकुमार अलेक्जेण्डर ३४००० सेनाका साथ थेव्स र एथेनीहरुको विरुद्धमा लडेका थिए । त्यो युद्धमा थेव्सहरु नराम्रोसँग पराजित भए । त्यो युद्ध जितेका कारण म्यासेडोनियाले ग्रिसमाथि अधिपत्य जमाउन सक्यो । त्यसको केही समयपछि फारसीरुसँगको युद्धको तयारीका बेला अलेक्जेण्डर र फिलिपको विचमा मन मुटाव भयो र अलेक्जेण्डर आफ्नी आमासँग म्यासेडोनिया छोडेर एपिरसमा मामाको घरमा गए । करिब एक वर्षपछि अलेक्जेण्डर फेरी म्यासेडोनियामा फर्किएर आए । बाबुछोराको विचमा पुर्नमिलन भयो । त्यसै समय त्यहा विवाह भोज आयोजना गरिएको थियो । त्यही कार्यक्रममा राजा फिलिपलाई उनकै रक्षक पौसानियसले सबैको सामु हत्या गरिदियो । यसरी बुवाको हत्यापछि सिँहासनमा जाने पालो अलेक्जेण्डरको थियो । सेनाको समर्थन लिएर अलेक्जेण्डर १९ वर्षको उमेरमा म्यासेडोनियाका राजा बने । अलेक्जेण्डरले सिँहासनका अन्य दावेदारहरुको हत्या गराइदिए । अलेक्जेण्डर राजा भइसकेपछि फेरी थेव्सहरुसँग युद्ध गरे । यो उनी राजा भएपछिको पहिलो युद्ध थियो । त्यो युद्धमा अलेक्जेण्डरले विजय प्राप्त गरे र ६००० भन्दा बढि थेव्सका सेनाहरुको मृत्यु भयो ।

थेव्सको पराजयले उनलाई ग्रिसभरी विजयको बाटो खोलिदिएको थियो । ग्रिसका सबै राज्यहरुलाई पराजित गरिसकेपछि अलेक्जेण्डर एशिया माइनरतर्फको विजयमा निस्किए । अधिकाँश राज्यले युद्ध नगरिकन नै उनको सामु आत्म समर्पण गरिदिए । अब अलेक्जेण्डरले ठुलो र बलियो साम्राज्यलाई ध्यान दिने बेला आएको थियो । उनले फारसी साम्राज्यको विरुद्ध लडाई गर्ने निर्णय गरे । फारसी साम्राज्य त्यो बेलाको सबैभन्दा ठुलो साम्राज्य थियो । फारसी साम्राज्य अलेक्जेण्डरको राज्यभन्दा ४० गुणा ठुलो थियो । यो साम्राज्य तिन वटा महादेशका विभिन्न भुभागहरुमा फैलिएको थियो । फारसी साम्राज्यसँग तिन लाख सेनाहरु थिए । राजा दारा तृतिय फारसी साम्राज्यको सम्राट थिए । त्यत्रो ठुलो साम्राज्यको विरुद्ध युद्ध गर्नु जोखिमयुक्त निर्णय थियो । तर अलेक्जेण्डरको सपना पुरै दुनियाभरी नै कव्जा गर्नुथियो । ग्रिसका ३७००० सेनाहरु लिएर अलेक्जेण्डर लडाईका लागि ३३४ ईसापुर्वमा इरानतर्फ लागे । ३३३ ईसापुर्वमा अलेक्जेण्डरले फारसी साम्राज्यको विरुद्ध पहिलो युद्ध लडे । यो युद्धमा अलेक्जेण्डरको सानो सेनाले फारसी साम्राज्यको ठुलो सेनालाई पराजित गर्न सफल भयो । 

अलेक्जेण्डरलाई विजय गरेका ठाउँका शहरहरुको नाउँ आफ्नो नाउँबाट राख्न निकै मन पर्दथ्यो । इजिष्टलाई कव्जा गरेपछि उनले एउटा शहर स्थापना गरे र त्यसको नाउँ आफ्नो नाउँबाट अलेक्जिेण्ड्रीया राखे । अलेक्जेण्डर जसरी पनि फारसी साम्राज्यको सम्राट दारालाई युद्धमा मार्न चाहन्थे र पुरै फासरी साम्राज्य कव्जा गर्न चाहन्थे । ३३१ ईसापुर्वमा फेरी अलेक्जेण्डर र दाराको विचमा गाउगामेलामा दोस्रो युद्ध भयोः दारा फेरी भाग्न सफल भए । फारसी साम्राज्यलाई अलेक्जेण्डरले दुई पटक पराजित गरिसकेका थिए । तर सम्राट दारा भने अझै जिवितै थिए । अलेक्जेण्डर तेस्रो पटक राजा दारालाई आक्रमण गर्नका लागि निस्किए । यो खबर सुनेर दाराका सेनाहरुले फेरी अलेक्जेण्डरसँग युद्ध नहोस् भनेर राजा दारालाई मारे र अलेक्जेण्डर आउदै गरेको बाटोमा छोडिदिए । यसरी अलेक्जेण्डरले त्यो बेलाको सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यमाथि पनि विजय प्राप्त गरे ।

अलेक्जेण्डर एक कुशल सेनापति मात्र नभई निकै चतुर कुटनितिज्ञ पनि थिए । उनले फासरीहरुसँग राम्रो सम्बन्ध बनाउनका लागि फारसको एक राज्यकी राजकुमारी रोक्जेनासँग विवाह गरेका थिए । अलेक्जेण्डरका ३ श्रिमतीहरु थिए । उनीहरु सबै फारसी राजकुमारीहरु थिए । उनको बिवाहको उद्धेश्य कुटनितिक स्वार्थ नै हुन्थ्यो । त्यो समयको दुनियाको अन्तिम भाग भारतलाई मान्ने गरिन्थ्यो । भारतभन्दा उता कुनै दुनिया नै छैन भन्ने विश्वास गरिन्थ्यो । अलेक्जेलण्डर १ लाख ३५ हजार सेना लिएर ईसापुर्व ३२६ मा हिन्दुकुस पार गर्दै भारत विजयको यात्रामा निस्किए । त्यो बेलामा भारतको एक हिस्सामा पोरसले शासन गरिरहेका थिए । अलेक्जेण्डरले पोरसलाई पराजित गरे । यो युद्ध जित्न अलेक्जेण्डरलाई निकै कठिन भएको थियो । तर अलेक्जेण्डर पोरसको युद्ध नितिबाट निकै प्रभावित भएका थिए । पछि गएर अलेक्जेण्डरले भारतमा पोरसलाई उनको राज्य फिर्ता गरिदिए । यो अलेक्जेण्डरले लडेको ठुलो अन्तिम युद्ध थियो । त्यही युद्धमा अलेक्जेण्डरको घोडा वुक्याफोलस मारियो । वुक्याफोलसको मृत्युबाट अलेक्जेण्डर निकै दुखित भए । अलेक्जेण्डरको जीवनका शुभदिनहरु त्यही घोडासँगै जोडिएका थिए भन्न सकिन्छ । वुक्याफोलसको आगमनसँगै अलेक्जेण्डर सफल हुदै गएका थिए । तर जसै वुक्याफोलस मारियो, अलेक्जेण्डरका काला दिनहरु पनि सुरु भए । 

उनको सेनाले ८ वर्षको समयमा १८००० किलो मिटरको दुरी पार गर्दै म्यासेडोनियाबाट भारतसम्म आइपुगेको थियो । लगातारको युद्धबाट उनका सेनाहरु थाकीसकेका थिए र उनीहरु फिर्ता म्यासेडोनिया जान चाहन्थे । तर पुरै दुनिया विजय गर्ने अलेक्जेण्डरको सपना अझै पुरा भएको थिएन । तर उनको सेना भारतमा व्यास नदि पार गरेर पारी जानै चाहदैनथ्यो । अन्तत उनी भारतबाट नै फिर्ता जानुप¥यो । दुनियाको अन्तिमसम्म जाने अलेक्जेण्डरको सपना यत्तिमै तुहियो । फिर्ता जादा उनले साना तिना राज्यहरुलाई ग्रिस साम्राज्यको अधिनमा ल्याउने काम गरे । अलेक्जेण्डरले आफ्नो युद्ध कौशलबाट एक विशाल साम्राज्य खडा गरे र त्यसमा १२ वर्षसम्म शासन गरे । अलेक्जेण्डरले कहिल्यै कुनै पनि युद्ध हारेनन् । अलेक्जेण्डर बेविलोनमा पुगे र त्यहाँ उनले रोम शहर कब्जा गर्ने रणनिती बनाउन लागे । त्यही समय उनीं मलेरीयाबाट ग्रसित भए । उनी निकै कमजोर भइसकेका थिए र बाँच्ने सम्भावना कम देखिन थालेको थियो । उनकी श्रिमती रोक्जेना गर्भवती थिइन् । अलेक्जेण्डर मृत्युको नजिक हुदा उनका सेनापतीहरुले उनलाई सोधे, “तपाईपछि तपाईको साम्राज्यमा कसले शासन गर्नेछ ?” उनले जवाफ दिए, “तिमीहरुमध्ये सबैभन्दा शक्तिशालीले !” १२ वर्षसम्म लगातार युद्ध गरेर जितेको विशाल ग्रिस साम्राज्यमा उनले कुनै उत्तराधिर छोडेका थिएनन् । अलेक्जेण्डरलाई उनको अन्तिम इच्छा के हो भनेर सोध्दा उनले यसो भने, “मलाई कफनमा राखेर चिहानसम्म लैजादा मेरा दुवै हातहरु कफनभन्दा बाहिर छोड्नु । ताकि समस्त दुनियाले यो जानोस् कि सारा दुनियामाथि शासन गर्ने अलेक्जेण्डर मरेपछि रित्तै हात गयो !” उनको मृत्यु १० जुन ३२३ ईसापुर्वमा ३२ वर्षको युवावस्थामा नै बेविलोनमा भएको थियो । यसरी विश्व जित्ने अलेक्जेण्डर मलेरीयासँग भने हारे । उनलाई अलेक्जेन्ड्रीयामा दफन गरिएको थियो । उनले शासनका लागि कुनै पनि उत्तराधिकारहरु नतोकेका कारण उनका सेनापतिहरुको विच राज्यका लागि आपसमै युद्ध भयो र केही दशकमा नै महान् ग्रिस साम्राज्य टुक्राटुक्रामा विभाजन भयो ।

मानिसहरु आजपनि अलेक्जेण्डरलाई पुरै दुनियामाथि कव्जा गर्ने उनको सपना र उनको युद्ध कौशलका कारण सम्झन्छन् । उनी इतिहासकै सर्वाधिक प्रभावशाली शासकहरुमध्ये एक हुन् । इतिहासमा केवल थोरैलाई मात्र “महान्” को उपाधी दिइएको छ र ति मध्ये एक अलेक्जेण्डर पनि हुन् । विश्वका ठुलाठुला सेनापति र शासकहरु जस्तै, नेपोलियन बोनेपार्ट, जुलियस सिजर अलेक्जेण्डरबाट प्रभावित थिए । उनले ग्रिक सँस्कृति र भाषालाई विश्वभरी नै फैलाए । ग्रिक भाषा एक समय विश्वको अन्तराष्ट्रीय भाषा थियो । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि । तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित भिडियो.........

Sunday, June 2, 2019

कसरी फेरी नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्न सफल भए ? (विश्लेषणात्मक लेख)



भर्खरै भारतमा नरेन्द्र मोदी पुन प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । उनको पार्टी बिजेपीले ३०० पारको आँकडा प्राप्त गरेर एतिहासिक जित हासिल गर्न सफल भएको छ । भारतको लोकतान्त्रिक इतिहासमा कुनै गैरकाँग्रेसी पार्टीले यति ठुलो जनमत प्राप्त गरेको यो पहिलो पटक हो । सत्ताधारी पार्टी विजयबाट साह्रै गद्गद् छ भने विपक्षीहरु आत्ममन्थनको पक्षमा अगाडी बढिरहेका छन् । हिन्दुत्वको वकालत गर्ने पार्टी बिजेपीका खुरन्धार नेता नरेन्द्र मोदीको छवि पनि हिन्दुत्ववादी नै रहेको छ । यो लेखमा मैले भर्खरै भारतको यूपी हुदै राजस्थानसम्म यात्रा गर्ने क्रममा गरेको अनुभवमा आधारित रहेर किन नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्न पुगे भन्ने बारेमा केही लेख्न गइरहेको छु ।
नरेन्द्र मोदी २००२ मा भएको गुजरात दङ्गाका दोषी हुन् । २००२ मा गुजरातमा हिन्दुहरुले मुसलमानहरुको नरसँहार गरेपछि अमेरिकाले नरेन्द्र मोदीलाई अमेरिका छिर्न प्रतिवन्ध लगाइदिएको थियो । पछि उनी २०१४ मा प्रधानमन्त्री चुनिएपछि त्यो प्रतिवन्ध हटाएको थियो । नरेन्द्र मोदीले गुजरातमा लामो समय मुख्यमन्त्रीको रुपमा काम गरिसकेका छन् । गुजरातमा निकै ठुलो विकास गरेको श्रेय उनलाई दिने गरिन्छ । तर प्रधानमन्त्रीको रुपमा २०१४ देखि २०१९ सम्मको उनको कार्यकाल भने विकासका दृष्टिले हेर्दा खासै सफल देखिएन । २०१४ मा नै उनले कालोधन ल्याउने उद्धेश्यले नोटबन्धी गरे । त्यो पनि पुर्णत असफल भयो । जनताले व्यर्थमा सास्ती भोग्नुप¥यो । रिजर्व व्याङ्क अफ इण्डियाले ९९ प्रतिशत पैसा बैंकमा नै फिर्ता आइसकेको घोषणा गरेर नोटबन्धी सफल नभएको सँकेत दियो । नरेन्द्र मोदीको शासनका दौरान एक पनि स्मार्ट सिटी बन्न सकेन । उनको शासन अवधीमा शिक्षामा कुनै नयाँ काम हुन सकेन । गुजरातमा विकासवादी छवि बनाएका उनी देशमा भने सफल मानिएनन् । साइनिङ्ग इण्डिया, मेकइन इण्डिया, स्वच्छ भारत, प्रधानमन्त्री उज्वला योजना जस्ता उनले अघि सारेका थुप्रै योजनाहरु नराम्रोसँग असफल भए ।
भारतमा अहिले विगत ४५ वर्षमा सबैभन्दा बढि बेरोजगारी रहेको छ । हरेक बर्ष २ करोड युवाहरुलाई रोजगारी दिने नरेन्द्र मोदीको बाँचा केवल बाँचामै सिमित रह्यो । २०१४ मा नरेन्द्र मोदीको एउटा नारा रहेको थियोः राम्रा दिन आउनेछन् (अच्छे दिन आएँगे !) । त्यो केवल एक सपनामा मात्रै सिमित रहन पुग्यो । कैयौ किसानहरु रिणको भार थेग्नै नसकेर आत्महत्या गरिरहेका छन् । उनको शासनको दौरानमा किसानहरुको आत्महत्याको दौर सबैभन्दा उच्च थियो । बलात्कार र हत्याका घट्नाहरुमा कमी आएन । उनको शासनकालमा नै कश्मिर विवादले झनै विकराल रुप लियो । कश्मिरका कैयौ युवाहरु शासनसक्ताको विरुद्धमा जङ्गलतिर पसे यात सडकमा निस्किए । नरेन्द्र मोदीको शासनको दौरान सबैभन्दा राम्रोसँग “साम्प्रदायिकता” भने मौलायो । हिन्दु र मस्लिमहरुको विचको दुरी झनै बढ्यो । उनको दौरानमा थुप्रै अल्पसँख्यकहरुमाथि अत्याचार भयो । मोब लिन्चिङ्ग (भिडद्धारा कसैलाई सामुहिकरुपमा मार्नु) का घट्नाहरु बढ्दैगए । यि सबै कुराप्रति नरेन्द्र मोदीले कहिल्यै मुख खोलेनन् । हिन्दुत्व साह्रै मौलायो र यसले भारतमा उन्मादी रुप लियो । विश्व नेताको रुपमा चिनिन कोशिष् गरिरेका नरेन्द्र मोदीको सपनामा यसले पानी खन्याइदियो ।
काममा असफल भएतापनि नरेन्द्र मोदी पव्लीसिटीमा भने सफल रहेका छन् । भारतका अधिँकास मिडियाहरु विकाऊ रहेका छन् । तिनीहरु पैसा लिएर कसैको बारेमा पनि प्रापागाण्डा फैलाउन तैयार हुन्छन् । ठिक यस्तै भयो नरेन्द्र मोदीको पक्षमा पनि । उनले मिडिया र केही व्यूरोक्रेसीहरुलाई प्रयोग गरेर आफ्नो छविलाई सुधार्नतर्फ लागे । मिडियाहरुले उनलाई साक्षात भगवानकै रुपमा प्रस्तुत गरे । उनका चुनावी बाँचाहरुलाई विर्सिए । उनको शासनको असफलतालाई बिर्सिए र मिडियाहरु उनको महिमामण्डलमै लिप्त भए । नरेन्द्र मोदी मिडियासँग भने डराउने व्यक्ति हुन् । उनको पाँच बर्षे शासनको दौरानमा उनले धेरै मागपछि केवल १ पटक मात्र पत्रकार सम्मेलन गरे । त्यसमा पनि उनले कुनै पनि पत्रकारको प्रश्नको जवाफ दिएनन् बरु ति प्रश्नहरुका जवाफ बिजेपी अध्यक्षले दिए । २०१४ मा मुलधारका मिडिया र सोसल मिडियाहरुमा नायकको रुपमा चिनिने उनी २०१९ भने सोसल मिडियाहरुमा खलनायक भइसकेका थिए । तर मिडियामा भने उनी नायक नै थिए । यि सबै असफलता र चुकका बावजुद उनी किन फेरी २०१९ को चुनावमा भारी बहुमतले विजयी भए त ? यो एक रोचक र गम्भिर प्रश्न हो ।
केही दिन अघि मात्रै म राजस्थानको उदयपुरबाट मेरो छोटो बसाइलाई समाप्त गर्दै नेपाल फिर्ता आउदै थिए । बसमा एक जना त्यहीको स्थानिय युवाकै छेऊमा बस्ने मौका पाए । भारतिय चुनावको माहौल पनि सिद्धिएको र नरेन्द्र मोदी पुन भारतमा प्रधानमन्त्री चुनिएको माहौलमा त्यही सन्दर्भमा भलाकुसारी सुरु गर्न मन लाग्यो । मैले उनलाई प्रश्न सोधे, “नरेन्द्र मोदीको बारेमा तपाई के सोच्नुहुन्छ ?” यो प्रश्नप्रति ति युवक साह्रै उत्तेजित भए । उनको अनुहारको भाव नै बद्लियो । उनले मलाई जवाफ दिए, “उनी त महान् छन् ! उनी हिन्दु ह्दय–सम्राट हुन् ! तिनको कारण आज हामी हिन्दुहरु गौरवका साथ हिड्न पाइरहेका छौ । उनको कारणले नै यो देशमा फेरी हिन्दुत्व सुरक्षित भएको छ । म त मोदीको ठुलो प्रँससक हुँ । उनले नै यो देशमा हिन्दुत्वको रक्षा गर्न सक्छन् !” उनी जस्तो युवकबाट यो प्रकारको जवाफ सुन्दा म अचम्भित भए । मैले फेरी अर्को प्रश्न दागिहाले, “विकास ! के के विकास गरे नरेन्द्र मोदीले उनको पाँच बर्षे दौरानका बेलामा ?” अहिले भने ति मित्रको अनुहारमा गम्भिरता छायो । उनी रनभुल्ल परे जस्तो देखिए र विस्तारै जवाफ दिए, “धेरै ! धेरै विकास गरेका छन् उनले ।” तर उनले के विकास गरे भन्ने कुराचाहिँ केही पनि उल्लेख गरेनन् । त्यसपछि उनी फेरु पुरानै विषयमा नै फर्किआए । मोदीले कसरी पाकिस्तानको बालाकोटमा सर्जिकल स्ट्राइक गर्न गरे भन्ने कुरा उनले घोषणा गरे । कसरी भारतले मुस्लिम राष्ट्र पाकिस्तानलाई ठिक पार्दैछ भन्ने कुरा उनले बताए । ति साथीले कसरी इतिहासमा मुसलमान्हरुले भारतलाई नष्ट गरेका थिए र त्यसलाई फेरी पुरानै गौरवमा ल्याउने काम नरेन्द्र मोदीले गरिरहेका छन् भन्ने कुराको चर्चा गरे । यात्राको क्रममा थुप्रै जनासँग नरेन्द्र मोदीको बारेमा जिज्ञासा राख्दा प्रायको जवाफ हिन्दुत्वसँग गएर जोडिएको पाए ।
भारतमा करिब ८० प्रतिशत जनसँख्या हिन्दु धर्मावलम्बीहरुको रहेको छ । नरेन्द्र मोदीले हिन्दु र मुस्लिमहरुको बिचको दुरी झनै बढाइदिए । भनिन्छ ब्रिटिसहरुले “फुट निम्त्याऊ, राज गर !” को निति अवलम्वन गरेका थिए । भारतमा नरेन्द्र मोदीले पनि ठिक त्यही गरे । उनले हिन्दुत्वलाई सँरक्षण दिए र आफुलाई हिन्दुत्वको रक्षकको रुपमा चिनाए जसका कारण सजिलै हिन्दुहरुको मत उनी तर्फ गयो । अमेरिकाको प्रतिष्ठीत पत्रिका टाइम्सले भर्खरै यसको कवर पृष्ठमा नरेन्द्र मोदीलाई  प्रमुख विभाजनकारीको सँज्ञा दिएर लेख छापेको थियो । यसरी ८० प्रतिशत मत उनले कुनै पनि प्रकारको गतिलो विकास नगरेर नै फेरी २०१९ मा हासिल गर्न सफल भए । यसरी २०१९ को उनको चुनावी विजयको आधार विकास वा परिवर्तन होइन तर हिन्दुत्वको छवि थियो । मानिस विवेकी र भावनात्मक दुवै गुणहरु रहेका छन् । कतिपटक भावनात्मकता विवेकमाथि हावि हुदा परिणाम सहि निस्कदैन । मानिसहरुको भावनासँग खेल्नु कुनै कठिन कुरा होइन । नरेन्द्र मोदीले पनि भारतमा मानिसहरुको भावनात्मकतासँग सहि समयमा सहि दाऊ चलेर खेल्न सफल भए । मानिसहरुले साम्प्रदायिक सोचका कारण भारतले पाकिस्तानमा गरेको बालाकोट स्ट्राइकलाई मात्र हेरे, तर कसरी भारतभित्र नै नरेन्द्र मोदी सरकारको असफलताका कारण पुलवामामा आतँककारी आक्रमण भएको थियो भन्ने कुरा हेरेनन् । यो सबै साम्प्रदायिक चश्माको दृष्य हो । जब देशमा साम्प्रदायिकता र विभाजन बढ्दैजान्छ , त्यहाँ विकास पछि पर्दछ । भारतमा साम्प्रदायिकता विषझै फैलिरहेको छ । भारतिय जनताले यो कुरालाई बेलैमा बुझन नसक्नुको परिणाम उनीहरुले कालान्तरमा भोग्नुपर्नेछ नै !

(Writer: Hari BK)

बाइबलमा भएका बैज्ञानिक तथ्यहरु ! के बाइबल बिज्ञानसँग मेल खान्छ ? (भाग १)—भिडियो सहित


बाइबल कुनै बिज्ञान सम्बन्धी पुस्तक होइन । यो मानवजातिप्रति परमेश्वरको प्रेमको बारेमा वर्णन गर्ने एक विशुद्ध धर्मग्रन्थ हो । बाइबल प्रेम र उद्धारको पुस्तक हो। बाइबल केवल एक पुस्तक मात्र नभई पुस्तकहरुको सँग्रह हो जसभित्र जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । बाइबलभित्र भविष्यवाणी, कविता, इतिहास, आत्मःकथा, जीवनी, उपदेशहरु र लेखहरु जस्ता धेरै विद्याहरु अटाउन सकेका छन् । बाइबलको अन्तिम पुस्तक आजभन्दा १९,०० वर्ष पहिले नै लेखिसकिएको थियो । त्यो बेलामा विज्ञान गौण अवस्था रहेको थियो । त्यत्ति पहिले नै बाइबलमा यस्ता तथ्यहरु उल्लेख गरिएका थिए जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु अन्तर्गत भाग १ को यो सृङ्खलामा ५ वटा यस्ता तथ्यहरु उल्लेख गरिएका जसलाई आधुनिक विज्ञानले समेत मोहर लगाइसकेको----- ः

(१) ब्रम्हाण्डमा असँख्य ताराहरु अस्तित्वमा छन्ः

बाईबलले आजभन्दा २४०० बर्षभन्दा अगाडी नै आकाशका ताराहरु गन्न सकिदैन भन्ने कुरा उल्लेख गर्दा सबैलाई अचम्म लागेको थियो । आधुनिक विज्ञानको उदय नभएको समयमा नै बाइबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन खगोलशास्त्रीहरुले आकाशमा ११०० ताराहरु रहेका छन् भनेर निश्चित गरेको थिए । आकाशमा देख्न सकिने गरी केवल ११०० ताराहरु मात्र रहेका छन् । सोह्रौ शताव्दीको सुरुवाततिर वैज्ञानिक ग्यालिली ग्यालिलियोले पहिलो पटक दुर्विनको आविस्कार गरे । उनले ब्रम्हाण्डमा नियाल्दा त्यहाँ केवल ११०० ताराहरु मात्र नभई असँख्य ताराहरु देखे । यसरी प्राचिन खगोलशास्त्रीहरुको अनुमान गलत सावित भयो । तर बाईबलले ब्रम्हाण्डमा असँख्य ताराहरु रहेका छन् भन्ने कुरा यर्मिया ३३ः२२ मा उल्लेख गरिसकेको थियो जसलाई आधुनिक खगोल बिज्ञानले पुष्टी गरेको छ । केवल हाम्रो मिल्कीवे ग्यालेक्सीमा मात्र २ खरबभन्दा बढि ताराहरु रहेका छन् भने त्यस्ता ग्यालेक्सीहरु अरबौँ छन् जसमा अरबौ र खरबौको संख्यामा ताराहरु रहेका छन् । बाइबलमा यर्मिया ३३ः२२ मा यसो भनिएको छः “आकाशका तारा गन्न नसकिने र समुद्रका किनारका बालुवा जोख्न नसकिनेजस्तै......” यसरी त्यो बेलाको खगोलविज्ञानको विपरित गई ब्रम्हाण्डमा असँख्या ताराहरु छन् भनेर बाइबलमा उल्लेख गरिएको तथ्य आधुनिक विज्ञानले अचम्म रितिमा पुष्टि गरिदिएको छ ।

(२) पृथ्वी शुन्यतामा झुण्डिरहेको छ

पृथ्वीको आकार र यसको अवस्थाको बारेमा प्राचिन विश्वमा अनैकौ मित्थ्याहरु रहेका थिए । प्राचिन विश्वमा ग्रिकहरुले बिश्वास गर्दथे कि पृथ्वी हर्कुलस नामक राक्षसको काँधमा राखिएको छ । त्यसकारण ले नै हामी अर्कूलस नामक कम्पनीको साइकलमा पृथ्वी एउटा मानिसको काँधमा राखिएको आकृति राखिएको देख्दछौ । अनि अन्य कतिपयका अनुसार पृथ्वी कछुवाको ढाँडमा राखिएको छ भन्ने बिश्वास गरिन्थ्यो । मैले पनि सानो छदा पृथ्वी कछुवाको ढाडमा अवस्थित छ र कछुवा हल्लियो भने पृथ्वीमा भुकम्प जान्छ भन्ने कथाहरु सुनेको थिए । तपाईहरुले पनि यस्तै प्रकारका मित्थ्याहरु सुन्नु भएकै थियो होला । तर बाईबलले आजभन्दा ३५०० बर्ष अगाडी नै
अचम्म रितिमा पृथ्वी शुन्य ब्रम्हाण्डमा झुण्डिएको छ भन्ने तथ्य उल्लेख गरेको छ । बाइबलमा अयुब २६ः७ मा यस्तो लेखिएको छः “उहाँले खाली ठाउँमा उत्तरीय आकाशलाई फैलाउनुहुन्छ , र शुन्यतामा पृथ्वीलाई झुण्डयाउनुहुन्छ ।” आधुनिक विज्ञानको उदयसँगै पृथ्वी र ब्रम्हाण्डको वृस्तित हुदा पृथ्वी त वास्तवमै शुन्य आकाशमा झुण्डियर सुर्यको परिक्रमा गरिरहेको छ भन्ने तथ्य पत्ता लाग्यो । एक पटक फेरी बाइबलले सबैलाई चकित पारिदियो ।

(३) अणुबाट ब्रम्हाण्डको सृष्टि

यो तथ्य पनि बाइबलमा अद्भुत तरिकामा उल्लेख गरिएको थियो । आज हामी सबैलाई थाहा छ कि जे जति हामी सृष्टिमा देख्दछौ ति सबै कुराहरु केवल अणुबाट बनेका छन् । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले देखिएको सम्पुर्ण सृष्टि एउटा अदृष्य कुराबाट बनेको हो भन्ने कुरा उल्लेख ग¥यो । विज्ञान गौण रुपमा रहेका कारण यो तथ्यप्रति कसैले खासै ध्यान दिएन । आधुनिक विज्ञानको उदयसँगै यो कुरा प्रष्ट हुन गयो कि विश्वब्रम्हाण्डका प्रत्येक पदार्थ एक अदृष्य कुराबाट बनेको छ जसको नाउँ अणु हो । आजभन्दा २००० बर्ष अगाडी नै बाईबलले सम्पुर्ण संसार अदृष्य कुराबाट बनेको छ भन्ने कुरा उल्लेख गरिसकेको थियो । बाइबलमा हिब्रु ११ः३ मा यो विषयमा यस्तो लेखिएको छ ः “..........र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।” यहाँ अणु शव्द उल्लेख नगरिएतापनि हामी स्पष्टरुपमा दृष्य कुराहरु एक अदृष्य चिजबाट बनेको छ भन्ने कुरा उल्लेख गरेको देख्दछौ । हामी अणुलाई देख्न सक्दैनौ तर अणुबाट नै समस्त थोकहरु बनेका छन् ।

(४) रगत जीवनको आधार हो

आजको चिकित्सा विज्ञान रगत नै शरीरको सबैभन्दा महत्वपुर्ण चिज हो र यो नै जीवनको आधार हो भन्ने तथ्यसँग पुर्णत सहमत छ । त्यसकारणले नै शरीरमा कुनै रोग छ वा छैन भन्ने कुरा जान्नका लागि रगत जाँच गर्ने गरिन्छ । तर प्राचिन विश्वमा यो कुराको ज्ञान थिएन । आजभन्दा १२० बर्ष अगाडी सम्म पनि रोगी मानिसहरुको शरीरमा चोट पारेर रगत बग्न दिईन्थ्यो र यसैको कारणले थुपै्र जनाको मृत्यु हुने गर्दथ्यो । अमेरिकाका राष्टपिता भनेर चिनिने जर्ज वासिङ्गनको मत्यु पनि यसै कारणले नै भएको थियो भन्ने अनुमान लगाइएको छ । तर आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले रगत जीवनको स्रोत हो भन्ने कुरा घोषणा गरेको थियो । आधुनिक समयमा यो कुरा पुर्णत सिद्ध भईसकेको छ । हामीले रगत गुमायौ भने प्राण गुमाउदछौ । बाइबलमा लेवी १७ः१ यस्तो लेखिएको छ ः “किनकि जीवधारीको प्राण त्यसको रगतमा हुन्छ ।” । यो खण्डमा हरेक जीवित प्राणीको प्राण अर्थात जीवन त्यसको रगतमा हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । अचम्म रितिमा बाइबलमा यो तथ्य आधुनिक चिकित्सा विज्ञानको उदयभन्दा कैयौ पहिले नै उल्लेख गरिसकिएको थियो ।

(५) बग्ने पानीमा नुहाउनु वा सरसफाई गर्नु

आजभन्दा ३००० बर्ष अगाडी नै बाईबलले कुनै पनि बिरामी निको भएको अवस्थामा उसले ताजा अर्थात बगिरहेको पानीले नुहाउनु पर्दछ भन्ने कुरा उल्लेख गरेको थियो । प्राचिन समयमा बिरामीहरु निको भयो भने तलाउमा वा जम्मा गरिराखेको थोरै पानीमा नुहाईदिने गरिन्थ्यो जसको कारणले किटाणुबाट सँक्रमित भई अझै धेरै मानिसहरुको मृत्यु हुने गर्दथ्यो । नबग्ने पानीमा किटाणुहरु झनै फस्टाउन पाउने हुनाले मानिसहरुमा यसको सँक्रमण हुनु स्वभाविक थियो । आधुनिक चिकित्सा बिज्ञानले बग्ने पानीमा वा तातो पानीले मात्र बिरामीलाई नुहाउनु पर्दछ भन्ने कुरा प्रमाणीत गरिसकेको छ । बाइबलमा लेवी १५ः१३ मा यसको बारेमा यसो लेखिएको छ ः “त्यो मानिस जब आफ्नो रोगबाट निको हुन्छ , तब त्यसले आफ्नो लुगा धोएर आफ्नो जीउ ताजा पानीले नुहाओस्.........” यो तथ्य प्राचिनमा समयमा नै बाइबलमा उल्लेख गरिएको थियो ।

अब अन्त्यमा........
बाइबल संसारकै सबैभन्दा बढि प्रभावशाली धर्मग्रन्थ हो भन्ने कुरामा दुइमत छैन । बाइबल भित्र थुप्रै विषयहरु अटाउन सकेका छन् र ति प्रत्येक सामाजिक, व्यवहारिक, आध्यात्मिक, चिकित्सा, मनोवैज्ञानिक र वैज्ञानिक तवरमा सठिक र मान्य छन् । त्यसकाणले बाइबल आजपनि अति नै पढिने, विक्रि गरिने, अनुवाद गरिने र छापिने पुस्तक हो । आधुनिक विज्ञानको उदय हुनुपुर्व नै त्यो अन्धकारको युगमा कसरी बाइबलमा यस्ता अचम्म लाग्दा विज्ञान सम्बन्धी तथ्यहरु उल्लेख गरिए होलान् भन्ने प्रश्न हाम्रो मनमा आउनु स्वभाविक नै हो । बाइबलमा २ पत्रूस १ः२१ मा यसो लेखिएको छ ः “किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरुले परमेश्वरको तर्फबाट बोलेका हुन् ।” बाइबल किन यति शुद्ध र सान्दर्भिक छ र भन्ने प्रश्नको जवाफ होः यो कुनै मानिसको इच्छा र बुद्धिको आधारमा लेखिएको पुस्तक होइन । यो समस्त संसार सृष्टि गर्ने परमेश्वरको इच्छाद्धारा लेखिएको पुस्तक हो । अनि परमेश्वरले कहिल्यै पनि गल्ती गर्नुहुन्न त्यसकारण बाइबलमा कुनै भुल वा त्रुटिहरु छैनन् ।

सम्बन्धित भिडियो.........


“इस्राएलीहरु ७० वर्षसम्म बेबिलोनमा कैदमा रहनेछन्”—कसरी यर्मियाको भविष्यवाणी अक्षरस पुरा भयो (भिडियो सहित)


भविष्यवक्ता यर्मिया ६५० इसापुर्वतिर यहूदाको अनातोत भन्ने ठाउँमा जन्मिएका थिए । परमेश्वरले उनलाई भविष्यवक्ताको रुपमा सेवा गर्नका लागि बोलाउनुभयो । उनले विश्वासयोग्य भएर ४० वर्षसम्म एक भविष्यवक्ताको रुपमा इस्राएलमा सेवा गरेका थिए । उनको समयमा बेविलोन विश्वमा सुपर पावरको रुपमा उदाएको थियो । इस्राएलीहरुले परमेश्वरलाई त्यागेर निरन्तर पाप गरिरहेका कारणले परमेश्वरले यहूदीहरुलाई बेविलोनका राजा नबूकदनेसरको अधिनमा बेविलोनमा दासत्वमा पठाउनुभयो । यर्मियाले नै इस्राएलको कैदको भविष्यवाणी गरेका थिए । यर्मियाको नाउँमा नै बाइबलमा एक पुस्तक रहेको छ । उक्त पुस्तकमा यर्मियाको सेवकाई र उनका भविष्यवाणीहरुको बारेमा उल्लेख गरिएको छ । उनको मृत्यु ५७० इसापुर्वमा इजिप्टमा भएको थियो । 
यहूदीहरुले परमेश्वरलाई त्यागेर अन्य अनैतिक कामहरु गरेर निरन्तर परमेश्वरको विरुद्धमा पाप गरिरहेका थिए । त्यसकारण परमेश्वरले तिनीहरुको न्याय गर्ने निर्णय गर्नुभयो । परमेश्वरले त्यसका लागि बेविलोन साम्राज्यका महाराजा नबूकदनेसरलाई प्रयोग गर्नुभयो । बेविलोनीहरुले यहूदीहरु बन्दी बनाएर बेविलोनमा लैजानेछन् र त्यहाँ यहूदीहरु ७० वर्षसम्म निर्वासनमा रहनुपर्नेछ भन्ने कुराको घोषणा परमेश्वरले भविष्यवक्ता यर्मियाद्धारा गर्नुभयो । यो सम्बन्धमा यर्मिया २५ः९–११ मा यसो लेखिएको छ ः म उत्तरका सबै मानिसहरुलाई र मेरो दास, बेविलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु ,” परमप्रभु भन्नुहुन्छ ,“र म उनीहरुलाई यो देश र यसका बासिन्दाहरु र चारैतिरका सबै जातिहरुका विरुद्धमा ल्याउनेछु । म तिनीहरुलाई पूर्णरुपले नाश पार्नेछु , र म तिनीहरुलाई भय र घृणा र अनन्तको विनाशको पात्र बनाउनेछु । तिनीहरुका आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्यालो म उठाइलानेछु । यो सारा देश निर्जन र  उजाड हुनेछ , र यी जातिहरुले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन् । तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्यसका जाति, अर्थात बेबिलोनीहरुको देशलाई उनीहरुका दोषको कारण सदाको निम्ति उजाड पार्ने दण्ड दिनेछु” परमप्रभु भन्नुहुन्छ । “मैले त्यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात् यस पुस्तकमा लेखेका र इर्मियाले सबै जातिहरुका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्यस देशमाथि ल्याउनेछु ।” त्यसैगरी यर्मिया २९ः१० पदमा यसो लेखिएको छ ः परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरुकहाँ आउनेछु , र तिमीहरुलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु ।”

यर्मियाले यहूदाको कैद र ७० वर्षे निर्वासनको बारेमा गरेको भविष्यवाणी अक्षरस पूरा हुनगयो । बेबिलोनका राजा नबूकदनेसरले सेना सहित इसापुर्व ६०६ मा यहूदियाको राजधानी यरुशलेममा आक्रमण गरे र त्यसलाई कव्जा गरे । उनले यरुशलेम सहर ध्वस्त पारे र त्यहाँ रहेको परमेश्वरको मन्दीर पनि नष्ट गरिदिए । त्यही समयमा नै दानिएल र इजकिएल जस्ता भविष्यवक्ताहरु पनि कैदी बनाएर बेबिलोन लगिएका थिए । यहूदीहरु बेबिलोनमा ७० वर्षसम्म नै निर्वासनमा रहे । बेबिलोनी साम्राज्यको पतनसँगै फारसी साम्राज्यका सम्राट कोरेसले यहूदीहरुलाई यहूदियामा फर्किन अनुमति दिए । यहूदीहरु नहेम्याह, एज्रा र येरुबाबेलको नेतृत्वमा इसापुर्व ५३६ यहूदियामा फर्किन सुरु गरे । यसरी ठिक्क ७० वर्षपछि इस्राएलीहरु बेबिलोनबाट फर्कन सुरु गरेका थिए । बेबिलोनको निर्वासन र त्यहाँबाट फर्कि आउने विषयमा २ इतिहास ३६ः१७–२१ मा यसो लेखिएको छ ः उहाँले तिनीहरुका विरुद्धमा बेबिलोनीहरुका राजालाई ल्याउनुभयो, जसले वासस्थान भित्रै तिनीहरुका जवान मानिसहरुलाई तरवारले मारे, र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोडेनन् । परमेश्वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्पिदिनुभयो । उनले परमेश्वरको मन्दिरका सानाठूला सबै भाँडाहरु र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरुका दामी–दामी थोकहरु सबै लगे । उनीहरुले परमप्रभुको मन्दिर जलाइदिए, र यरुशलेम सहरको पर्खाल भत्काइदिए । उनीहरुले सहरका सबै महलहरु जलाइदिए , अनि त्यहाँका सबै दामी–दामी सामानहरु सर्वनाश गरे । तरवारबाट उम्केकाहरुलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोऊञ्जेल तिनीहरु उनका र उनका छोराहरुका दास–दासी भए । यर्मिया अगमवक्ताद्धारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो । फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्धारा भनिएको वचन परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको ह्दय उत्तेजित पार्नुभयो । अनि उनले आफ्नो साम्राज्यभरि नै मुखैले लिखित रुपमा यसो भनेर एउटा घोषणा निकालेः “फारसका राजा कोरेस यसो भन्छन्ः परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । अनि उहाँले नै मलाई यहूदाका येरुशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँको प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरुका बीचमा छ , म त्यसलाई भन्दछु , परमप्रभु त्यसका परमेश्वर त्यससँग रहून् , अनि त्यो मानिस उक्लेर यरुशलेममा जाओस् ।” 

यसरी यर्मियाले बेबिलोनको ७० वर्षे निर्वासनको बारेमा गरेको भविष्यवाणी सठिक तरिकामा पुरा हुनगयो । यो कुनै मनगढन्थे र कल्पनामा आधारित कुनै पौराणीक कथा होइन । यो इतिहासमा आधारित तथ्यगत र प्रमाणित कुरा हो । बाइबललाई अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक तुल्याउने कुरा भनेकोः बाइबलमा उल्लेखित अधिँकाश भविष्यवाणीहरु इतिहासमा अचम्मरितिमा अक्षरस पुरा भएका तथ्यहरु हुन् । यसरी बाइबलमा लेखिएका भविष्यवाणीहरु पुरा भएको कुराले बाइबल सत्य परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणित गर्दछ । बाइबल एक परिवर्तनकारी धर्मग्रन्थ हो । यदि तपाईले येशूमाथि विश्वास गरेर नियमित बाइबल अध्ययन गरेर यसमा लेखिएका कुराहरु पालन गर्नुभयो भने तपाइको जीवनरितिमा परिवर्तीत हुनेछ ।

सम्बन्धित भिडियो............