Wednesday, June 5, 2019

विश्वविजेता अलेक्जेण्डर “महान्” को रोचक जिवनी (भिडियो सहित)


अलेक्जेण्डर महान्को जन्म २० जुलाई ३५६ ईसापुर्वमा प्राचिन ग्रिसको एक राज्य म्यासेडोनियाको पेल्लामा भएको थियो । उनको बुवा म्यासेडोनियाका राजा फिलिप दृतिय थिए भने उनकी आमाको नाउँ ओलम्पीया थियो । उनले सानोमा बुवासँग निकै कम समय विताउने मौका पाएका थिए । उनको बुवा युद्धहरुमा निकै व्यस्त हुने गर्दथे । उनकी आमाले सानैदेखि अलेक्जेण्डरलाई उनी फिलिपका छोरा नभई जिउस देउताका छोरा हुन् भनेर सिकाएकी थिइन् । जिउस देउताले आलम्पियाको पेटमा आकाशबाट चट्टयाङ्ग पारे र त्यो चट्याङ्गबाट अलेक्जेण्डर गर्भमा रहन गएका थिए भन्ने गर्थिन् । पछि गएर अलेक्जेण्डरले आफुलाई फिलिपको छोराको रुपमा ठान्न छोडिसकेका थिए । उनी आफूलाई भगवान जिउसको छोरा मान्ने गर्दथे । फिलिपले अलेक्जेण्डरको शिक्षाका लागि शिक्षकहरु नियुक्त गरेका थिए । उनले ट्रोयको युद्ध नामक पुस्तक पढेका थिए र उनी यसबाट प्रभावित थिए । उनको बुवाआमाले उनलाई सानैदेखि भविष्यको राजाको रुपमा हुर्काएका थिए । उनको बुवा सधै युद्धहरुमा व्यस्त हुने गर्दथे । बुवासँग उनको भेटघाट कमै हुने गर्दथ्यो । उनले बुवालाई एक पटक यसो भनेका थिए, “तपाईले सबै राज्यहरु जित्नुभयो भने मैले के जित्ने ?” 

अलेक्जेण्डर १३ वर्ष हुदा उनलाई शिक्षा दिने काम त्यो बेलाको प्रख्यात दर्शनशास्त्री एरिष्टोटलले गरे । अलेक्जेण्डरले एरिष्टोटलबाट विज्ञान, युद्धकला, चिकित्सा, र होमेर र ट्रोयको युद्ध जस्ता शास्त्रहरु सिकेका थिए । भनिन्छ अलेक्जेण्डरमा विश्व विजय गर्ने सपना पनि एरिष्टोटलले नै छरेका थिए । अलेक्जेण्डरले एरिष्टोटलको बारेमा एक पटक यसो भनेका थिएः “मेरो बुवाले मलाई जीवन दिनुभयो, तर एरिष्टोटलले मलाई असल जीवन दिनुभयो ।” एरिष्टोटलले अलेक्जेण्डरलाई केवल ३ वर्ष मात्र शिक्षा दिएका थिए । अलेक्जेण्डर १३ वर्षको छदा कसैले पनि काबुमा ल्याउन नसकेको घोडालाई काबुमा ल्याएका थिए । उक्त दृष्य देखेर प्रभावित भई उनको बुवा फिलिपले यसो भनेको थिए, “छोरा अलेक्जेण्डर, शासनका लागि तिमीले अर्को कुनै राज्य हेर, तिम्रो लागि म्यासेडोनिया निकै सानो हुनेछ !” अलेक्जेण्डरले काबुमा ल्याएको घोडाको नाउँ बुक्याफोलस थियो । अलेक्जेण्डरले पछि गएर त्यसलाई नै आफ्नो घोडा बनाए । यही घोडामाथि बसेर नै अलेक्जेण्डरले दुनिया जित्ने यात्रा सुरु गरेका थिए । यही घट््नाबाट अलेक्जेण्डरको विजयको यात्रा सुरुवात हुन्छ । अलेक्जेण्डरले उक्त घोडालाई निकै माया गर्दथे । उनले एउटा शहरको नाउँ नै यही घोडाको नाउँबाट बुक्याफुलस राखेका थिए ।

त्यो बेलामा एथेन्स म्यासेडोनियाको सबैभन्दा ठुलो शत्रु थियो । अलेक्जेण्डरले पहिलो युद्ध एथेन्स र  थेव्सको विरुद्धमा च्यारोनियामा लडेका थिए । उक्त युद्धमा राजा फिलिप र राजकुमार अलेक्जेण्डर ३४००० सेनाका साथ थेव्स र एथेनीहरुको विरुद्धमा लडेका थिए । त्यो युद्धमा थेव्सहरु नराम्रोसँग पराजित भए । त्यो युद्ध जितेका कारण म्यासेडोनियाले ग्रिसमाथि अधिपत्य जमाउन सक्यो । त्यसको केही समयपछि फारसीरुसँगको युद्धको तयारीका बेला अलेक्जेण्डर र फिलिपको विचमा मन मुटाव भयो र अलेक्जेण्डर आफ्नी आमासँग म्यासेडोनिया छोडेर एपिरसमा मामाको घरमा गए । करिब एक वर्षपछि अलेक्जेण्डर फेरी म्यासेडोनियामा फर्किएर आए । बाबुछोराको विचमा पुर्नमिलन भयो । त्यसै समय त्यहा विवाह भोज आयोजना गरिएको थियो । त्यही कार्यक्रममा राजा फिलिपलाई उनकै रक्षक पौसानियसले सबैको सामु हत्या गरिदियो । यसरी बुवाको हत्यापछि सिँहासनमा जाने पालो अलेक्जेण्डरको थियो । सेनाको समर्थन लिएर अलेक्जेण्डर १९ वर्षको उमेरमा म्यासेडोनियाका राजा बने । अलेक्जेण्डरले सिँहासनका अन्य दावेदारहरुको हत्या गराइदिए । अलेक्जेण्डर राजा भइसकेपछि फेरी थेव्सहरुसँग युद्ध गरे । यो उनी राजा भएपछिको पहिलो युद्ध थियो । त्यो युद्धमा अलेक्जेण्डरले विजय प्राप्त गरे र ६००० भन्दा बढि थेव्सका सेनाहरुको मृत्यु भयो ।

थेव्सको पराजयले उनलाई ग्रिसभरी विजयको बाटो खोलिदिएको थियो । ग्रिसका सबै राज्यहरुलाई पराजित गरिसकेपछि अलेक्जेण्डर एशिया माइनरतर्फको विजयमा निस्किए । अधिकाँश राज्यले युद्ध नगरिकन नै उनको सामु आत्म समर्पण गरिदिए । अब अलेक्जेण्डरले ठुलो र बलियो साम्राज्यलाई ध्यान दिने बेला आएको थियो । उनले फारसी साम्राज्यको विरुद्ध लडाई गर्ने निर्णय गरे । फारसी साम्राज्य त्यो बेलाको सबैभन्दा ठुलो साम्राज्य थियो । फारसी साम्राज्य अलेक्जेण्डरको राज्यभन्दा ४० गुणा ठुलो थियो । यो साम्राज्य तिन वटा महादेशका विभिन्न भुभागहरुमा फैलिएको थियो । फारसी साम्राज्यसँग तिन लाख सेनाहरु थिए । राजा दारा तृतिय फारसी साम्राज्यको सम्राट थिए । त्यत्रो ठुलो साम्राज्यको विरुद्ध युद्ध गर्नु जोखिमयुक्त निर्णय थियो । तर अलेक्जेण्डरको सपना पुरै दुनियाभरी नै कव्जा गर्नुथियो । ग्रिसका ३७००० सेनाहरु लिएर अलेक्जेण्डर लडाईका लागि ३३४ ईसापुर्वमा इरानतर्फ लागे । ३३३ ईसापुर्वमा अलेक्जेण्डरले फारसी साम्राज्यको विरुद्ध पहिलो युद्ध लडे । यो युद्धमा अलेक्जेण्डरको सानो सेनाले फारसी साम्राज्यको ठुलो सेनालाई पराजित गर्न सफल भयो । 

अलेक्जेण्डरलाई विजय गरेका ठाउँका शहरहरुको नाउँ आफ्नो नाउँबाट राख्न निकै मन पर्दथ्यो । इजिष्टलाई कव्जा गरेपछि उनले एउटा शहर स्थापना गरे र त्यसको नाउँ आफ्नो नाउँबाट अलेक्जिेण्ड्रीया राखे । अलेक्जेण्डर जसरी पनि फारसी साम्राज्यको सम्राट दारालाई युद्धमा मार्न चाहन्थे र पुरै फासरी साम्राज्य कव्जा गर्न चाहन्थे । ३३१ ईसापुर्वमा फेरी अलेक्जेण्डर र दाराको विचमा गाउगामेलामा दोस्रो युद्ध भयोः दारा फेरी भाग्न सफल भए । फारसी साम्राज्यलाई अलेक्जेण्डरले दुई पटक पराजित गरिसकेका थिए । तर सम्राट दारा भने अझै जिवितै थिए । अलेक्जेण्डर तेस्रो पटक राजा दारालाई आक्रमण गर्नका लागि निस्किए । यो खबर सुनेर दाराका सेनाहरुले फेरी अलेक्जेण्डरसँग युद्ध नहोस् भनेर राजा दारालाई मारे र अलेक्जेण्डर आउदै गरेको बाटोमा छोडिदिए । यसरी अलेक्जेण्डरले त्यो बेलाको सबैभन्दा विशाल र शक्तिशाली साम्राज्यमाथि पनि विजय प्राप्त गरे ।

अलेक्जेण्डर एक कुशल सेनापति मात्र नभई निकै चतुर कुटनितिज्ञ पनि थिए । उनले फासरीहरुसँग राम्रो सम्बन्ध बनाउनका लागि फारसको एक राज्यकी राजकुमारी रोक्जेनासँग विवाह गरेका थिए । अलेक्जेण्डरका ३ श्रिमतीहरु थिए । उनीहरु सबै फारसी राजकुमारीहरु थिए । उनको बिवाहको उद्धेश्य कुटनितिक स्वार्थ नै हुन्थ्यो । त्यो समयको दुनियाको अन्तिम भाग भारतलाई मान्ने गरिन्थ्यो । भारतभन्दा उता कुनै दुनिया नै छैन भन्ने विश्वास गरिन्थ्यो । अलेक्जेलण्डर १ लाख ३५ हजार सेना लिएर ईसापुर्व ३२६ मा हिन्दुकुस पार गर्दै भारत विजयको यात्रामा निस्किए । त्यो बेलामा भारतको एक हिस्सामा पोरसले शासन गरिरहेका थिए । अलेक्जेण्डरले पोरसलाई पराजित गरे । यो युद्ध जित्न अलेक्जेण्डरलाई निकै कठिन भएको थियो । तर अलेक्जेण्डर पोरसको युद्ध नितिबाट निकै प्रभावित भएका थिए । पछि गएर अलेक्जेण्डरले भारतमा पोरसलाई उनको राज्य फिर्ता गरिदिए । यो अलेक्जेण्डरले लडेको ठुलो अन्तिम युद्ध थियो । त्यही युद्धमा अलेक्जेण्डरको घोडा वुक्याफोलस मारियो । वुक्याफोलसको मृत्युबाट अलेक्जेण्डर निकै दुखित भए । अलेक्जेण्डरको जीवनका शुभदिनहरु त्यही घोडासँगै जोडिएका थिए भन्न सकिन्छ । वुक्याफोलसको आगमनसँगै अलेक्जेण्डर सफल हुदै गएका थिए । तर जसै वुक्याफोलस मारियो, अलेक्जेण्डरका काला दिनहरु पनि सुरु भए । 

उनको सेनाले ८ वर्षको समयमा १८००० किलो मिटरको दुरी पार गर्दै म्यासेडोनियाबाट भारतसम्म आइपुगेको थियो । लगातारको युद्धबाट उनका सेनाहरु थाकीसकेका थिए र उनीहरु फिर्ता म्यासेडोनिया जान चाहन्थे । तर पुरै दुनिया विजय गर्ने अलेक्जेण्डरको सपना अझै पुरा भएको थिएन । तर उनको सेना भारतमा व्यास नदि पार गरेर पारी जानै चाहदैनथ्यो । अन्तत उनी भारतबाट नै फिर्ता जानुप¥यो । दुनियाको अन्तिमसम्म जाने अलेक्जेण्डरको सपना यत्तिमै तुहियो । फिर्ता जादा उनले साना तिना राज्यहरुलाई ग्रिस साम्राज्यको अधिनमा ल्याउने काम गरे । अलेक्जेण्डरले आफ्नो युद्ध कौशलबाट एक विशाल साम्राज्य खडा गरे र त्यसमा १२ वर्षसम्म शासन गरे । अलेक्जेण्डरले कहिल्यै कुनै पनि युद्ध हारेनन् । अलेक्जेण्डर बेविलोनमा पुगे र त्यहाँ उनले रोम शहर कब्जा गर्ने रणनिती बनाउन लागे । त्यही समय उनीं मलेरीयाबाट ग्रसित भए । उनी निकै कमजोर भइसकेका थिए र बाँच्ने सम्भावना कम देखिन थालेको थियो । उनकी श्रिमती रोक्जेना गर्भवती थिइन् । अलेक्जेण्डर मृत्युको नजिक हुदा उनका सेनापतीहरुले उनलाई सोधे, “तपाईपछि तपाईको साम्राज्यमा कसले शासन गर्नेछ ?” उनले जवाफ दिए, “तिमीहरुमध्ये सबैभन्दा शक्तिशालीले !” १२ वर्षसम्म लगातार युद्ध गरेर जितेको विशाल ग्रिस साम्राज्यमा उनले कुनै उत्तराधिर छोडेका थिएनन् । अलेक्जेण्डरलाई उनको अन्तिम इच्छा के हो भनेर सोध्दा उनले यसो भने, “मलाई कफनमा राखेर चिहानसम्म लैजादा मेरा दुवै हातहरु कफनभन्दा बाहिर छोड्नु । ताकि समस्त दुनियाले यो जानोस् कि सारा दुनियामाथि शासन गर्ने अलेक्जेण्डर मरेपछि रित्तै हात गयो !” उनको मृत्यु १० जुन ३२३ ईसापुर्वमा ३२ वर्षको युवावस्थामा नै बेविलोनमा भएको थियो । यसरी विश्व जित्ने अलेक्जेण्डर मलेरीयासँग भने हारे । उनलाई अलेक्जेन्ड्रीयामा दफन गरिएको थियो । उनले शासनका लागि कुनै पनि उत्तराधिकारहरु नतोकेका कारण उनका सेनापतिहरुको विच राज्यका लागि आपसमै युद्ध भयो र केही दशकमा नै महान् ग्रिस साम्राज्य टुक्राटुक्रामा विभाजन भयो ।

मानिसहरु आजपनि अलेक्जेण्डरलाई पुरै दुनियामाथि कव्जा गर्ने उनको सपना र उनको युद्ध कौशलका कारण सम्झन्छन् । उनी इतिहासकै सर्वाधिक प्रभावशाली शासकहरुमध्ये एक हुन् । इतिहासमा केवल थोरैलाई मात्र “महान्” को उपाधी दिइएको छ र ति मध्ये एक अलेक्जेण्डर पनि हुन् । विश्वका ठुलाठुला सेनापति र शासकहरु जस्तै, नेपोलियन बोनेपार्ट, जुलियस सिजर अलेक्जेण्डरबाट प्रभावित थिए । उनले ग्रिक सँस्कृति र भाषालाई विश्वभरी नै फैलाए । ग्रिक भाषा एक समय विश्वको अन्तराष्ट्रीय भाषा थियो । धन्यवाद आजको यो भिडियो हेर्नुभएका लागि । तपाईको दिन शुभ रहोस् ।

सम्बन्धित भिडियो.........

No comments:

Post a Comment