Sunday, June 2, 2019

“इस्राएलीहरु ७० वर्षसम्म बेबिलोनमा कैदमा रहनेछन्”—कसरी यर्मियाको भविष्यवाणी अक्षरस पुरा भयो (भिडियो सहित)


भविष्यवक्ता यर्मिया ६५० इसापुर्वतिर यहूदाको अनातोत भन्ने ठाउँमा जन्मिएका थिए । परमेश्वरले उनलाई भविष्यवक्ताको रुपमा सेवा गर्नका लागि बोलाउनुभयो । उनले विश्वासयोग्य भएर ४० वर्षसम्म एक भविष्यवक्ताको रुपमा इस्राएलमा सेवा गरेका थिए । उनको समयमा बेविलोन विश्वमा सुपर पावरको रुपमा उदाएको थियो । इस्राएलीहरुले परमेश्वरलाई त्यागेर निरन्तर पाप गरिरहेका कारणले परमेश्वरले यहूदीहरुलाई बेविलोनका राजा नबूकदनेसरको अधिनमा बेविलोनमा दासत्वमा पठाउनुभयो । यर्मियाले नै इस्राएलको कैदको भविष्यवाणी गरेका थिए । यर्मियाको नाउँमा नै बाइबलमा एक पुस्तक रहेको छ । उक्त पुस्तकमा यर्मियाको सेवकाई र उनका भविष्यवाणीहरुको बारेमा उल्लेख गरिएको छ । उनको मृत्यु ५७० इसापुर्वमा इजिप्टमा भएको थियो । 
यहूदीहरुले परमेश्वरलाई त्यागेर अन्य अनैतिक कामहरु गरेर निरन्तर परमेश्वरको विरुद्धमा पाप गरिरहेका थिए । त्यसकारण परमेश्वरले तिनीहरुको न्याय गर्ने निर्णय गर्नुभयो । परमेश्वरले त्यसका लागि बेविलोन साम्राज्यका महाराजा नबूकदनेसरलाई प्रयोग गर्नुभयो । बेविलोनीहरुले यहूदीहरु बन्दी बनाएर बेविलोनमा लैजानेछन् र त्यहाँ यहूदीहरु ७० वर्षसम्म निर्वासनमा रहनुपर्नेछ भन्ने कुराको घोषणा परमेश्वरले भविष्यवक्ता यर्मियाद्धारा गर्नुभयो । यो सम्बन्धमा यर्मिया २५ः९–११ मा यसो लेखिएको छ ः म उत्तरका सबै मानिसहरुलाई र मेरो दास, बेविलोनको राजा नबूकदनेसरलाई बोलाएर ल्याउनेछु ,” परमप्रभु भन्नुहुन्छ ,“र म उनीहरुलाई यो देश र यसका बासिन्दाहरु र चारैतिरका सबै जातिहरुका विरुद्धमा ल्याउनेछु । म तिनीहरुलाई पूर्णरुपले नाश पार्नेछु , र म तिनीहरुलाई भय र घृणा र अनन्तको विनाशको पात्र बनाउनेछु । तिनीहरुका आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर, जाँतोको पिँधाइ र बत्तीको उज्यालो म उठाइलानेछु । यो सारा देश निर्जन र  उजाड हुनेछ , र यी जातिहरुले सत्तरी वर्षसम्म बेबिलोनका राजाको सेवा गर्नेछन् । तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्यसका जाति, अर्थात बेबिलोनीहरुको देशलाई उनीहरुका दोषको कारण सदाको निम्ति उजाड पार्ने दण्ड दिनेछु” परमप्रभु भन्नुहुन्छ । “मैले त्यस देशको विरुद्धमा भनेका सबै कुरा, अर्थात् यस पुस्तकमा लेखेका र इर्मियाले सबै जातिहरुका विरुद्धमा अगमवाणी कहेका सबै कुरा म त्यस देशमाथि ल्याउनेछु ।” त्यसैगरी यर्मिया २९ः१० पदमा यसो लेखिएको छ ः परमप्रभु यसो भन्नुहुन्छ, “बेबिलोनको निम्ति सत्तरी वर्ष पूरा भएपछि म तिमीहरुकहाँ आउनेछु , र तिमीहरुलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पूरा गर्नेछु ।”

यर्मियाले यहूदाको कैद र ७० वर्षे निर्वासनको बारेमा गरेको भविष्यवाणी अक्षरस पूरा हुनगयो । बेबिलोनका राजा नबूकदनेसरले सेना सहित इसापुर्व ६०६ मा यहूदियाको राजधानी यरुशलेममा आक्रमण गरे र त्यसलाई कव्जा गरे । उनले यरुशलेम सहर ध्वस्त पारे र त्यहाँ रहेको परमेश्वरको मन्दीर पनि नष्ट गरिदिए । त्यही समयमा नै दानिएल र इजकिएल जस्ता भविष्यवक्ताहरु पनि कैदी बनाएर बेबिलोन लगिएका थिए । यहूदीहरु बेबिलोनमा ७० वर्षसम्म नै निर्वासनमा रहे । बेबिलोनी साम्राज्यको पतनसँगै फारसी साम्राज्यका सम्राट कोरेसले यहूदीहरुलाई यहूदियामा फर्किन अनुमति दिए । यहूदीहरु नहेम्याह, एज्रा र येरुबाबेलको नेतृत्वमा इसापुर्व ५३६ यहूदियामा फर्किन सुरु गरे । यसरी ठिक्क ७० वर्षपछि इस्राएलीहरु बेबिलोनबाट फर्कन सुरु गरेका थिए । बेबिलोनको निर्वासन र त्यहाँबाट फर्कि आउने विषयमा २ इतिहास ३६ः१७–२१ मा यसो लेखिएको छ ः उहाँले तिनीहरुका विरुद्धमा बेबिलोनीहरुका राजालाई ल्याउनुभयो, जसले वासस्थान भित्रै तिनीहरुका जवान मानिसहरुलाई तरवारले मारे, र जवान मानिस, युवती, वृद्ध, कमजोर कसैलाई पनि तिनले छोडेनन् । परमेश्वरले ती सबैलाई नबूकदनेसरको हातमा सुम्पिदिनुभयो । उनले परमेश्वरको मन्दिरका सानाठूला सबै भाँडाहरु र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरुका दामी–दामी थोकहरु सबै लगे । उनीहरुले परमप्रभुको मन्दिर जलाइदिए, र यरुशलेम सहरको पर्खाल भत्काइदिए । उनीहरुले सहरका सबै महलहरु जलाइदिए , अनि त्यहाँका सबै दामी–दामी सामानहरु सर्वनाश गरे । तरवारबाट उम्केकाहरुलाई उनले कैद गरेर बेबिलोनमा लगे, र फारसको राजसत्ता नहोऊञ्जेल तिनीहरु उनका र उनका छोराहरुका दास–दासी भए । यर्मिया अगमवक्ताद्धारा परमप्रभुको वचन पूरा हुनलाई सत्तरी वर्ष पूरा नहोउञ्जेल इस्राएलको देशले विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो । फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्धारा भनिएको वचन परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको ह्दय उत्तेजित पार्नुभयो । अनि उनले आफ्नो साम्राज्यभरि नै मुखैले लिखित रुपमा यसो भनेर एउटा घोषणा निकालेः “फारसका राजा कोरेस यसो भन्छन्ः परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । अनि उहाँले नै मलाई यहूदाका येरुशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँको प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरुका बीचमा छ , म त्यसलाई भन्दछु , परमप्रभु त्यसका परमेश्वर त्यससँग रहून् , अनि त्यो मानिस उक्लेर यरुशलेममा जाओस् ।” 

यसरी यर्मियाले बेबिलोनको ७० वर्षे निर्वासनको बारेमा गरेको भविष्यवाणी सठिक तरिकामा पुरा हुनगयो । यो कुनै मनगढन्थे र कल्पनामा आधारित कुनै पौराणीक कथा होइन । यो इतिहासमा आधारित तथ्यगत र प्रमाणित कुरा हो । बाइबललाई अन्य सबै धर्मग्रन्थहरुभन्दा फरक तुल्याउने कुरा भनेकोः बाइबलमा उल्लेखित अधिँकाश भविष्यवाणीहरु इतिहासमा अचम्मरितिमा अक्षरस पुरा भएका तथ्यहरु हुन् । यसरी बाइबलमा लेखिएका भविष्यवाणीहरु पुरा भएको कुराले बाइबल सत्य परमेश्वरको वचन हो भन्ने कुरा प्रमाणित गर्दछ । बाइबल एक परिवर्तनकारी धर्मग्रन्थ हो । यदि तपाईले येशूमाथि विश्वास गरेर नियमित बाइबल अध्ययन गरेर यसमा लेखिएका कुराहरु पालन गर्नुभयो भने तपाइको जीवनरितिमा परिवर्तीत हुनेछ ।

सम्बन्धित भिडियो............


No comments:

Post a Comment