Sunday, June 2, 2019

कसरी फेरी नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्न सफल भए ? (विश्लेषणात्मक लेख)



भर्खरै भारतमा नरेन्द्र मोदी पुन प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् । उनको पार्टी बिजेपीले ३०० पारको आँकडा प्राप्त गरेर एतिहासिक जित हासिल गर्न सफल भएको छ । भारतको लोकतान्त्रिक इतिहासमा कुनै गैरकाँग्रेसी पार्टीले यति ठुलो जनमत प्राप्त गरेको यो पहिलो पटक हो । सत्ताधारी पार्टी विजयबाट साह्रै गद्गद् छ भने विपक्षीहरु आत्ममन्थनको पक्षमा अगाडी बढिरहेका छन् । हिन्दुत्वको वकालत गर्ने पार्टी बिजेपीका खुरन्धार नेता नरेन्द्र मोदीको छवि पनि हिन्दुत्ववादी नै रहेको छ । यो लेखमा मैले भर्खरै भारतको यूपी हुदै राजस्थानसम्म यात्रा गर्ने क्रममा गरेको अनुभवमा आधारित रहेर किन नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्न पुगे भन्ने बारेमा केही लेख्न गइरहेको छु ।
नरेन्द्र मोदी २००२ मा भएको गुजरात दङ्गाका दोषी हुन् । २००२ मा गुजरातमा हिन्दुहरुले मुसलमानहरुको नरसँहार गरेपछि अमेरिकाले नरेन्द्र मोदीलाई अमेरिका छिर्न प्रतिवन्ध लगाइदिएको थियो । पछि उनी २०१४ मा प्रधानमन्त्री चुनिएपछि त्यो प्रतिवन्ध हटाएको थियो । नरेन्द्र मोदीले गुजरातमा लामो समय मुख्यमन्त्रीको रुपमा काम गरिसकेका छन् । गुजरातमा निकै ठुलो विकास गरेको श्रेय उनलाई दिने गरिन्छ । तर प्रधानमन्त्रीको रुपमा २०१४ देखि २०१९ सम्मको उनको कार्यकाल भने विकासका दृष्टिले हेर्दा खासै सफल देखिएन । २०१४ मा नै उनले कालोधन ल्याउने उद्धेश्यले नोटबन्धी गरे । त्यो पनि पुर्णत असफल भयो । जनताले व्यर्थमा सास्ती भोग्नुप¥यो । रिजर्व व्याङ्क अफ इण्डियाले ९९ प्रतिशत पैसा बैंकमा नै फिर्ता आइसकेको घोषणा गरेर नोटबन्धी सफल नभएको सँकेत दियो । नरेन्द्र मोदीको शासनका दौरान एक पनि स्मार्ट सिटी बन्न सकेन । उनको शासन अवधीमा शिक्षामा कुनै नयाँ काम हुन सकेन । गुजरातमा विकासवादी छवि बनाएका उनी देशमा भने सफल मानिएनन् । साइनिङ्ग इण्डिया, मेकइन इण्डिया, स्वच्छ भारत, प्रधानमन्त्री उज्वला योजना जस्ता उनले अघि सारेका थुप्रै योजनाहरु नराम्रोसँग असफल भए ।
भारतमा अहिले विगत ४५ वर्षमा सबैभन्दा बढि बेरोजगारी रहेको छ । हरेक बर्ष २ करोड युवाहरुलाई रोजगारी दिने नरेन्द्र मोदीको बाँचा केवल बाँचामै सिमित रह्यो । २०१४ मा नरेन्द्र मोदीको एउटा नारा रहेको थियोः राम्रा दिन आउनेछन् (अच्छे दिन आएँगे !) । त्यो केवल एक सपनामा मात्रै सिमित रहन पुग्यो । कैयौ किसानहरु रिणको भार थेग्नै नसकेर आत्महत्या गरिरहेका छन् । उनको शासनको दौरानमा किसानहरुको आत्महत्याको दौर सबैभन्दा उच्च थियो । बलात्कार र हत्याका घट्नाहरुमा कमी आएन । उनको शासनकालमा नै कश्मिर विवादले झनै विकराल रुप लियो । कश्मिरका कैयौ युवाहरु शासनसक्ताको विरुद्धमा जङ्गलतिर पसे यात सडकमा निस्किए । नरेन्द्र मोदीको शासनको दौरान सबैभन्दा राम्रोसँग “साम्प्रदायिकता” भने मौलायो । हिन्दु र मस्लिमहरुको विचको दुरी झनै बढ्यो । उनको दौरानमा थुप्रै अल्पसँख्यकहरुमाथि अत्याचार भयो । मोब लिन्चिङ्ग (भिडद्धारा कसैलाई सामुहिकरुपमा मार्नु) का घट्नाहरु बढ्दैगए । यि सबै कुराप्रति नरेन्द्र मोदीले कहिल्यै मुख खोलेनन् । हिन्दुत्व साह्रै मौलायो र यसले भारतमा उन्मादी रुप लियो । विश्व नेताको रुपमा चिनिन कोशिष् गरिरेका नरेन्द्र मोदीको सपनामा यसले पानी खन्याइदियो ।
काममा असफल भएतापनि नरेन्द्र मोदी पव्लीसिटीमा भने सफल रहेका छन् । भारतका अधिँकास मिडियाहरु विकाऊ रहेका छन् । तिनीहरु पैसा लिएर कसैको बारेमा पनि प्रापागाण्डा फैलाउन तैयार हुन्छन् । ठिक यस्तै भयो नरेन्द्र मोदीको पक्षमा पनि । उनले मिडिया र केही व्यूरोक्रेसीहरुलाई प्रयोग गरेर आफ्नो छविलाई सुधार्नतर्फ लागे । मिडियाहरुले उनलाई साक्षात भगवानकै रुपमा प्रस्तुत गरे । उनका चुनावी बाँचाहरुलाई विर्सिए । उनको शासनको असफलतालाई बिर्सिए र मिडियाहरु उनको महिमामण्डलमै लिप्त भए । नरेन्द्र मोदी मिडियासँग भने डराउने व्यक्ति हुन् । उनको पाँच बर्षे शासनको दौरानमा उनले धेरै मागपछि केवल १ पटक मात्र पत्रकार सम्मेलन गरे । त्यसमा पनि उनले कुनै पनि पत्रकारको प्रश्नको जवाफ दिएनन् बरु ति प्रश्नहरुका जवाफ बिजेपी अध्यक्षले दिए । २०१४ मा मुलधारका मिडिया र सोसल मिडियाहरुमा नायकको रुपमा चिनिने उनी २०१९ भने सोसल मिडियाहरुमा खलनायक भइसकेका थिए । तर मिडियामा भने उनी नायक नै थिए । यि सबै असफलता र चुकका बावजुद उनी किन फेरी २०१९ को चुनावमा भारी बहुमतले विजयी भए त ? यो एक रोचक र गम्भिर प्रश्न हो ।
केही दिन अघि मात्रै म राजस्थानको उदयपुरबाट मेरो छोटो बसाइलाई समाप्त गर्दै नेपाल फिर्ता आउदै थिए । बसमा एक जना त्यहीको स्थानिय युवाकै छेऊमा बस्ने मौका पाए । भारतिय चुनावको माहौल पनि सिद्धिएको र नरेन्द्र मोदी पुन भारतमा प्रधानमन्त्री चुनिएको माहौलमा त्यही सन्दर्भमा भलाकुसारी सुरु गर्न मन लाग्यो । मैले उनलाई प्रश्न सोधे, “नरेन्द्र मोदीको बारेमा तपाई के सोच्नुहुन्छ ?” यो प्रश्नप्रति ति युवक साह्रै उत्तेजित भए । उनको अनुहारको भाव नै बद्लियो । उनले मलाई जवाफ दिए, “उनी त महान् छन् ! उनी हिन्दु ह्दय–सम्राट हुन् ! तिनको कारण आज हामी हिन्दुहरु गौरवका साथ हिड्न पाइरहेका छौ । उनको कारणले नै यो देशमा फेरी हिन्दुत्व सुरक्षित भएको छ । म त मोदीको ठुलो प्रँससक हुँ । उनले नै यो देशमा हिन्दुत्वको रक्षा गर्न सक्छन् !” उनी जस्तो युवकबाट यो प्रकारको जवाफ सुन्दा म अचम्भित भए । मैले फेरी अर्को प्रश्न दागिहाले, “विकास ! के के विकास गरे नरेन्द्र मोदीले उनको पाँच बर्षे दौरानका बेलामा ?” अहिले भने ति मित्रको अनुहारमा गम्भिरता छायो । उनी रनभुल्ल परे जस्तो देखिए र विस्तारै जवाफ दिए, “धेरै ! धेरै विकास गरेका छन् उनले ।” तर उनले के विकास गरे भन्ने कुराचाहिँ केही पनि उल्लेख गरेनन् । त्यसपछि उनी फेरु पुरानै विषयमा नै फर्किआए । मोदीले कसरी पाकिस्तानको बालाकोटमा सर्जिकल स्ट्राइक गर्न गरे भन्ने कुरा उनले घोषणा गरे । कसरी भारतले मुस्लिम राष्ट्र पाकिस्तानलाई ठिक पार्दैछ भन्ने कुरा उनले बताए । ति साथीले कसरी इतिहासमा मुसलमान्हरुले भारतलाई नष्ट गरेका थिए र त्यसलाई फेरी पुरानै गौरवमा ल्याउने काम नरेन्द्र मोदीले गरिरहेका छन् भन्ने कुराको चर्चा गरे । यात्राको क्रममा थुप्रै जनासँग नरेन्द्र मोदीको बारेमा जिज्ञासा राख्दा प्रायको जवाफ हिन्दुत्वसँग गएर जोडिएको पाए ।
भारतमा करिब ८० प्रतिशत जनसँख्या हिन्दु धर्मावलम्बीहरुको रहेको छ । नरेन्द्र मोदीले हिन्दु र मुस्लिमहरुको बिचको दुरी झनै बढाइदिए । भनिन्छ ब्रिटिसहरुले “फुट निम्त्याऊ, राज गर !” को निति अवलम्वन गरेका थिए । भारतमा नरेन्द्र मोदीले पनि ठिक त्यही गरे । उनले हिन्दुत्वलाई सँरक्षण दिए र आफुलाई हिन्दुत्वको रक्षकको रुपमा चिनाए जसका कारण सजिलै हिन्दुहरुको मत उनी तर्फ गयो । अमेरिकाको प्रतिष्ठीत पत्रिका टाइम्सले भर्खरै यसको कवर पृष्ठमा नरेन्द्र मोदीलाई  प्रमुख विभाजनकारीको सँज्ञा दिएर लेख छापेको थियो । यसरी ८० प्रतिशत मत उनले कुनै पनि प्रकारको गतिलो विकास नगरेर नै फेरी २०१९ मा हासिल गर्न सफल भए । यसरी २०१९ को उनको चुनावी विजयको आधार विकास वा परिवर्तन होइन तर हिन्दुत्वको छवि थियो । मानिस विवेकी र भावनात्मक दुवै गुणहरु रहेका छन् । कतिपटक भावनात्मकता विवेकमाथि हावि हुदा परिणाम सहि निस्कदैन । मानिसहरुको भावनासँग खेल्नु कुनै कठिन कुरा होइन । नरेन्द्र मोदीले पनि भारतमा मानिसहरुको भावनात्मकतासँग सहि समयमा सहि दाऊ चलेर खेल्न सफल भए । मानिसहरुले साम्प्रदायिक सोचका कारण भारतले पाकिस्तानमा गरेको बालाकोट स्ट्राइकलाई मात्र हेरे, तर कसरी भारतभित्र नै नरेन्द्र मोदी सरकारको असफलताका कारण पुलवामामा आतँककारी आक्रमण भएको थियो भन्ने कुरा हेरेनन् । यो सबै साम्प्रदायिक चश्माको दृष्य हो । जब देशमा साम्प्रदायिकता र विभाजन बढ्दैजान्छ , त्यहाँ विकास पछि पर्दछ । भारतमा साम्प्रदायिकता विषझै फैलिरहेको छ । भारतिय जनताले यो कुरालाई बेलैमा बुझन नसक्नुको परिणाम उनीहरुले कालान्तरमा भोग्नुपर्नेछ नै !

(Writer: Hari BK)

No comments:

Post a Comment