Saturday, April 11, 2020

येशू ख्रीष्टको पुनरुत्थानका ६ प्रमाणहरु

येयेशू ख्रीष्टको पुनरुत्थानका ६ प्रमाणहरु (येशूको पुनरुत्थानको बारेमा जान्न आवस्यक कुराहरु)


येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियन विश्वासको आधारशिला हो । यस विषयमा प्रेरित पावल १कोरिन्थी १५ः१५–१९ मा यसो भन्दछन् । “त्यसभन्दा बढी हामी परमेश्वरको बारे झुटा साक्षीहरु ठहरिन्छौ, किनकि उहाँले ख्रीष्टलाई मृतकबाट पुनर्जिवित पार्नुभयो भनी हामीले परमेश्वरको बारे गवाही दिएका छौं । तर साँच्चै मृतकहरुको पुनरुत्थान हुनैन भने उहाँले ख्रीष्टलाई पुनर्जीवित पार्नुभएन । किनकि यदि मृतकहरुको पुनरुत्थान नहुने भए ता ख्रीष्ट पनि मृतकबाट जीवित पारिनुभएन । ख्रीष्ट पुनर्जीवित पारिनुभएन भने तिमीहरुको विश्वास ब्यर्थ छ, र तिमीहरु अझसम्म आफ्ना पापमा नै छौ । तब त ख्रीष्टमा सुतिगएकाहरु पनि नष्ट भएका छन् । यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरुभन्दा बढि दयनीय हुन्छौ ।” संसारका सबै ख्रीष्टियनहरुले येशू मरेकाहरुबाट फेरी जीवित हुनुभएको थियो भन्ने कुरामा विश्वास गर्दछन् । कतिपयले येशूको पुनरुत्थानलाई झुटो तुल्याउने धेरै कोशिष् गरेका पनि छन् । कतिको भनाईमा येशू क्रुसमा छदा वेहोस हुनुहुन्थ्यो र पछि क्रुसबाट निकालिएपछि चिहानमा राख्नुअघि उहाँको होस् आयो । त्यसपछि उहाँ इस्राएल देश छोडेर भारतको कश्मिरमा आएर बाँकी जीवन विताउनुभयो भन्ने रहेको छ । तपाई येशूको पुनरुत्थानलाई स्वीकार गर्नुहोस् वा नकार्नुहोस् । तर केही यस्ता तथ्यहरु छन् जसमाथि तपाईले एकछिन समय लिएर सोच्नैपर्ने हुन्छ । 

येशूको पुनरुत्थानका ६ प्रमाणहरु
(१) येशूको रित्तो चिहान
उहाँलाई शुक्रबार चिहानमा राखिएको थियो तर आईतबार बिहान गएर येशूका चेलाहरुले चिहान खालि थियो । येशूको चिहानको ढोकामा ठुलो ढुङ्गा राखिएको थियो । र साथै चिहानमा पहरादिनका लागि सिपाहीहरु राखिएको थियो । चिहानको ढुङ्गामा पिलातसको मोहर लगाइएको थियो ताकि चिहानलाई कसैले खोल्न नसकोस् । रित्तो चिहानको बारेमा लुका २४ः२–३ मा यसो भनिएको छ, “हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरुले तयार गरेका सुगन्धित द्रब्य लिएर तिनीहरु चिहानमा आए । तिनीहरुले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए । तर तिनीहरु भित्र पस्दा तिनीहरुले प्रभु येशूको शरीर पाएनन् ।”  आज पनि येशूको चिहान छ र लाखौं ख्रीष्टियनहरु त्यसलाई हेर्नका लागि जाने गर्दछन् । तर त्यस चिहानको ढोकामा “उहाँ यहाँ हुनुहुन्न तर जीवित भई उठ्नुभएको छ”  भन्ने लेखिएको छ । दुई हजार वर्ष वतिसक्दा पनि येशूको अवशेषहरु यहाँ छन् भनेर कसैले प्रमाण सहित दावि गर्न सकेको छैन । रित्तो चिहान आज पनि गैर–ख्रीष्टियन विद्धानहरुका लागि एक रहस्य नै रहेको छ ।

(२) पुनरुत्थानपछि येशूका प्रकटिकरणहरु
प्रेरित १ः३ मा यसो लेखिएको छ, “आफ्नो दुःख भोगपछि धेरै अकाट्य प्रमाणद्धारा तिनीहरुका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नूभयो । चालीस दिनसम्म उहाँ तिनीहरुकहाँ देखा पर्नुभयो र अनि परमेश्वरका राज्यको बिषयमा तिनीहरुलाई बताउनुभयो ।” धेरै अकाट्य अर्थात नकार्ने नसकिने प्रमाणहरुद्धारा उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो भनेर बाइबलमा लेखिएको छ । उहाँ एक वा दुई दिन होइन तर चालिस दिनसम्म तिनीहरुकहाँ देखा परिरहनुभएको थियो । येशू चालीस दिनसम्म १० पटकभन्दा बढि बिभिन्न ब्यक्तीहरुकहाँ र आफ्ना चेलाहरुकहाँ देखा पर्नुभयो । उहाँको प्रकटीकरणको बारेमा १कोरिन्थी १५ः३–११ मा लेखिएको छ । उहाँ भुत हुनुहुन्छ भनेर येशुका चेलाहरु र अरुहरुले पनि शँका गरेका थिए तर येशुले त्यो भ्रमलाई चिर्नुभयो । येशूले तिनीहरुसँग खानुभयो, बस्नुभयो र अन्तिममा महान् आज्ञा दिएर स्वर्ग फिर्ता जानुभयो । नयाँ करारका विभिन्न पुस्तकहरु लेखिदासम्म पनि उहाँलाई पुनरुत्थानपछि देखेकाहरु जीवितै थिए । पुनरुत्थानपछि येशू दुई जना चेलाहरुदेखि ५०० जनाको भिडमा देखापर्नुभएको थियो । नयाँ करारमा करारमा उल्लेख गरिएका येशू प्रकट हुनुभएका घट्नाहरु प्रत्येक्ष जीवित साक्षीको बयानको आधारमा उल्लेख गरिएका थिए ।

(३) चेलाहरुको जीवनमा आएको अचम्मको परिवर्तन
यूहन्ना २०ः१९ मा यसो लेखिएको छ , “यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए ... ।” येशूलाई क्रुसमा टाँगेर मारेपछि चेलाहरु निकै भयभित भएका थिए । तिनीहरु घरको ढोका बन्द गरेर निरास र त्रासका साथ बसेका थिए । येशू पक्राउ पर्ने रातमा यिनै चेलाहरुले येशूलाई छोडेर कुलेलाम ठोकेर भागेका थिए । पत्रूसको बारेमा याद गर्नुहोस् त ! उनले येशूलाई त्यो रातमा ३ पटक अस्वीकार गरेका थिए । एक सामान्य महिला नोकर्नीले तिमी येशूका चेला होइनौ र भनेर सोध्दा समेत उनको होस् उडेको थियो । तर यिनै चेला ४० दिनपछि येशूलाई मृत्युदण्ड दिने हाकिम र अधिकारीहरुका सामु खडा भएर तिमीहरुले येशूलाई मारेका हौ भन्दैछन् । कसरी उनमा यो साहस आयो होला ? सोच्नैपर्ने कुरा रहेको छ ? ति चेलाहरु जो केही दिनअघिसम्म कोठा बन्द गरेर निरास र दुःखित भएर बसिरहेका थिए । तर अचानक ४० दिनपछि सडकमा देखा पर्दछन् र हिम्मतका साथ येशूको बारेमा प्रचार गर्न थाले । कसरी यस्तो परिवर्तन आयो ? अर्को एक अचम्म लाग्दो तथ्य ! येशूको एक जना चेला बाहेक बाँकी सबै चेलाहरु विश्वका विभिन्न देशहरुमा येशूको बारेमा प्रचार गर्ने क्रममा मारिएका थिए । तिनीहरु येशूका लागि मारिन तयार भए किनकि तिनीहरुलाई येशू मरेकाहरुबाट जीवित हुनुभएको थियो भन्ने थाहा थियो । झुटा कुराका लागि कोही पनि मर्न तयार हुदैन । यदि येशूको पुनरुत्थान भएको होइन र येशू एक सामान्य मानिस बाहेक कोही हुनुहुन्न भन्ने जान्दाजान्दै पनि तिनीहरु येशूको प्रचार गरेर उहाँका लागि मर्न तयार हुनेथिएनन् होला । ति चेलाहरुको जीवनमा आएको अचम्मलाग्दो परिवर्तनले येशू मरेकाहरुबाट फेरी जिउदो हुनुभएको थियो भन्ने कुरा प्रमाणित गर्छ ।

(४) मण्डलीको सुरुवात र तिव्र विस्तार
हरेक कुराको अस्तित्वको पछाडी एक ठोस कारण हुन्छ । मण्डलीको सुरुवात र यसको अस्तित्वको पछाडी येशूको पुनरुत्थान कारण हो । मत्ती १६ः१८ पदमा येशूले भन्नुभएको छ ः म मेरो मण्डली यस चेट्टानमाथि स्थापित गर्नेछुँ । येशूको समयमा विश्वको ठुलो हिस्सामा रोमीहरुले शासन गरिरहेका थिए । रोमी शासन इतिहासकै एक बलियो र क्रुर शासनहरुमध्ये मानिन्छ । स्पष्ट हुनुपर्ने कुरा यो हो कि रोमीहरु सुरुदेखि नै ख्रीष्टियन धर्मको विरुद्धमा थिए । सन् ३२ मा संसारको पहिलो मण्डली येरुशलेममा सुरु भयो । तर केही वर्षभित्रमा नै यो विश्वास विश्वको ठुलो हिस्सामा फैलिन पुग्यो । रोमी सम्राटहरु डोमिसियन, निरो र अन्य थुप्रैले इतिहासमा ख्रीष्टियनहरुमाथि क्रुर अत्याचार गरे । ख्रीष्टियनहरुलाई रँगशालाहरुमा सिँहहरुको सिकार हुनका लागि छोडिन्थ्यो । सम्राट निरोले ख्रीष्टियनहरुलाई जलाएर आफ्नो वगैचालाई उज्यालो पार्ने गर्थे । रोमीहरुले नै प्रेरित पत्रूसलाई उल्टोमुखि क्रुसमा टाँगेर मारेका थिए भने प्रेरित पावललाई घाटी रेटेर हत्या गरेका थिए । पहिलो शताव्दीमा मात्रै थुप्रै ख्रीष्टियनहरु रोमीहरुद्धारा मारिएका थिए । त्यसको बावजुद मण्डली सुरु भयो छोटो अवधीमा तिव्रगतिमा फैलिनपुग्यो । पहिलो शताव्दीमा येशूको पछि लागेका केही मछुवारेहरुले सुरु गरेको मण्डली केही वर्षभित्रमा नै संसारको केन्द्र रोमसम्म पुगिसकेको थियो । यो कुरा येशूको पुनरुत्थानविना सम्भव थिएन ।

(५) आराधनाको दिन परिवर्तन
यहुदीहरुले १५०० बर्षदेखि शनिबारको दिनमा आराधना गर्ने गर्दथे जसलाई शबाथको दिन भनिन्थ्यो । शनिबारको दिनमा तिनीहरु सभाघरमा गएर आराधना गर्ने बाहेक अन्य केही काम गर्दैनथे । ख्रीष्टियन मण्डली यहूदीहरुको केन्द्र येरुशलेममा सुरु भएको थियो । तर येशूको मृत्युपछि अकस्मात आराधनाको दिन शनिबारबाट आईतबारमा स¥यो । येशू शुक्रबार मारिनुभयो र त्यही दिनमा नै उहाँलाई चिहानमा राखिएको थियो । तर उहाँ आइतबार जीवित भएर उठ्नुभएको थियो । त्यही दिनलाई सम्झना गर्नका लागि सुरुदेखि नै आराधनाको दिनलाई ख्रीष्टियनहरुले आइतबारमा सारेका थिए ।

(६) पावलको जीवन परिवर्तन
टार्ससका शाऊल, जो एक कट्टर यहूदी थिए । व्यवस्थाका एक प्रकाण्ड विद्धान । राजनैतिकरुपमा एक रोमी, धार्मिकरुपमा एक यहूदि र वौद्धिकरुपमा एक ग्रिक थिए शाऊल । भनिन्छ उनी इस्राएलको सँसद जसलाई शानहेड्रिन भनिन्थ्यो, त्यसका एक सदस्य थिए । ख्रीष्टियन धर्मको कारण यहूदी धर्मलाई असर पर्न थालेपछि उनी ख्रीष्टियन धर्म सिद्धयाउने अभियानमा निस्किए । उनले थुप्रै ख्रीष्टियनहरुमाथि अत्याचार गरे र थुप्रैलाई जेलमा हाले । तर यस्तो व्यक्ति अचानक परिवर्तन भए । जुन विश्वासको उनले खेदो गरिरहेका थिए, अचानक उनी त्यही विश्वासका सँरक्षक बन्न पुगे । कसरी उनी शाऊलबाट पावल बन्न पुगे त ? उनी कुनै प्रलोभनमा परेका थिएनन । किनकि पहिलो शताव्दी ख्रीष्टियन हुनु भनेको सम्पन्नता नभई कष्ट र अपमान सहनु थियो । उनी कुनै मुर्ख र एक अशिक्षित व्यक्ति थिएनन् । उनी एक शिक्षित र प्रभावशाली व्यक्ति थिए । त्यसो हो भने कसरी उनी एक कट्टर यहूदीबाट ख्रीष्टियन बन्न पुगे ? किनकि येशूले नै उनलाई भेट्नुभएको थियो । दमस्कसमा भएका ख्रीष्टियनहरुलाई समातेर जेलमा हाल्नका लागि जादैगर्दा बाटोमा नै येशूले उनलाई भेट्नुभयो । त्यसपछि उनको जीवन परिवर्तन भयो । उनको जीवन परिरवर्तनको घट्नाको बारेमा प्रेरित पुस्तक ९ अध्यामा उल्लेख गरिएको छ । त्यसकारण पावल जस्तो एक कट्टर यहूदीको जीवन परिवर्तनले येशूको पुनरुत्थानलाई समर्थन गर्छ ।

निष्कर्ष
संसारमा केवल एक जनाले मात्र मृत्युलाई जित्नुभएको छ र फेरी जीवित हुनुभएको छ, उहाँ येशू ख्रीष्ट हुनुहुन्छ । धेरैले उहाँको पुनरुत्थान भएकै होईन भनेर यसलाई प्रमाणीत गर्नतर्फ लागे तर अन्त्यमा तिनीहरुले नै उहाँ बास्तवमै मृतकबाट जीवित भएर उठ्नुभएको थियो भनेर मान्नुप¥यो । येशू ख्रीष्टको पुनरुत्थान ख्रीष्टियन बिश्वासको आधार हो, अन्य बिभिन्न सिद्धान्तहरुको बारेमा ख्रीष्टियनहरुको माझमा मतान्तर हुन सक्छन् तर पुनरुत्थानको घट्नालाई चाहि सम्पुर्ण ख्रीष्टियनहरुले स–ह्दय स्विकार गर्दछन् । के तपाई त्यो मृत्युमाथि पनि बिजय प्राप्त गर्नुभएको येशूलाई आफ्नो मुक्तिदाताको रुपमा ग्रहण गर्न चाहनुहुन्छ ?

सम्बन्धित भिडियो.........

No comments:

Post a Comment