Wednesday, May 22, 2019

के येशू परमेश्वर हुनुहुन्छ ? के येशूले कहिल्यै आफु परमेश्वर भएको दावी गर्नुभयो ?-With Video


इतिहासमा २००० वर्ष अगाडी वर्तमान् इस्राएल देशमा एक व्यक्तिको जन्म भयो । उहाँको नाउँ येशू राखियो । एउटा सानो गाउँमा उहाँ हुर्कनुभयो । उहाँले जिविकोपार्जनका लागि सिकर्मीको काम गर्नुभयो । करिब ३० वर्षको हुदा उहाँले इस्राएल देशभरी शिक्षा दिदै हिड्नुभयो । बाइबलमा मत्ती, मर्कुस, लूका र यूहन्ना नामक चार वटा पुस्तकहरुमा येशूको जीवनी उल्लेख गरिएको छ । यी पुस्तकहरुमा उल्लेख गरे अनुसार उहाँले अचम्म रितिमा शिक्षा दिनुभयो, विभिन्न शारीरिक दुर्वलता भएका मानिसहरुलाई निको पार्नुभयो । उहाँ मारिनुभयो र बाइबलमा उल्लेख गरिएअनुसार उहाँ तेस्रो दिनमा फेरी जिवित भएर उठ्नुभयो र स्वर्ग चढी जानुभयो । 

२००० वर्षपछि आज हामीले हेर्दा येशू ख्रीष्ट इतिहासकै सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्दछौ । संसारभरीका मानिसहरुले नै येशूलाई एक प्रभावशाली शिक्षक, नैतिक गुरु र महात्माको रुपमा मान्दछन् । तर येशू ख्रीष्टको बारेमा ख्रीष्टियनहरुको विश्वास भने यो भन्दा एक कदम अगाडी रहेको छ । येशू परमेश्वर हुनुहुन्छ । कतिले यो तथ्यलाई खण्डन गर्ने कोशिष् पनि गर्दछन् । यो भिडियोमा यस्ता केही बाइबलिय खण्डहरुको विश्लेषण गरिएको छ जसले येशू वास्तवमै परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाएको छ । सवैभन्दा पहिले हामी येशू ख्रीष्टको बारेमा गरिएका भविष्यवाणीहरुमध्ये केहीलाई विश्लेषण गरौं ।

अगमवाणीहरुको मुल्याङ्कन 
यशैया ७ः१४ मा यसो लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरुलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन् , र तिनले एउटा पुत्र जन्माउनेछिन् , र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।” यो भविष्यवाणी येशू ख्रीष्टको जन्म हुनुभन्दा ७०० वर्ष अगाडी यशैया नामक भविष्यवक्ताद्धारा गरिएको हो । यो भविष्यवाणीमा एक जना बालकको जन्म हुनेछ जसको नाउँ इम्मानुएल राखिनेछ भन्ने कुरा बताइएको छ । यो भविष्यवाणी ७०० वर्षपछि येशू ख्रीष्टको जीवनमा पुरा भएको छ । मत्ती १ः२२,२३ मा यसो लेखिएको छ, “अगमवक्ताद्धारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई यी सबै भएका हुन्ः हेर, कन्याले गर्भधारण गर्नेछिन् , र तिनले एउटा पुत्र जन्माउनेछिन् , र उहाँको नाउँ इम्मानुएल राखिनेछ । जसको अर्थ हो “परमेश्वर हामीहरुसँग” । इम्मानुएल नाउँ हिव्रू भाषाबाट आएको हो र यसको अर्थ “परमेश्वर मानिसहरुसँग” भन्ने हुन्छ । आउनेवाला इम्मानूएल येशू हुनुहुन्थ्यो । त्यसकारण येशू मानिसहरुसँग अर्थात परमेश्वर मानिसहरुसँग हुनुभयो । यसरी यो खण्डमा येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा लेखिएको छ । 

भविष्यवक्ता यशैयालाई मसिही भविष्यवक्ता पनि भन्ने गरिन्छ । उनले आउनेवाला मसिहको बारेमा थुप्रै भविष्यवाणीहरु गरेका थिए । उनले यशैया ९ः६ मा आउनेवाला मसिहको बारेमा यस्तो भविष्यवाणी गरे, “किनकि हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ ।” यो भविष्यवाणी येशू ख्रीष्टमा आएर पुरा भएको थियो ।  येशू नै त्यो भविष्यवाणी गरिएको मसिह हुनुहुन्छ । यस खण्डमा आउनेवाला मसिहलाई शक्तिशाली परमेश्वर, अनन्तका पिता भनेर सम्बोधन गरिएको छ । येशूलाई स्पष्टरुपमा शक्तिशाली परमेश्वर र अनन्तका पिता भनेर सम्बोधन गरिएको छ । 

येशू जन्मनुभन्दा ४०० वर्ष अघि एक जना शक्तिशाली भविष्यवक्ता दानिएलले बेविलोनमा सेवा गरेका थिए । उनले देखेको दर्शनको बारेमा दानिएल ७ः१३–१४ मा यसो लेखिएको छ, “राती मैले दर्शनमा हेंरे, र त्यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो । उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्थित गराइनुभयो । उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरु र जातिहरुले उहाँको आराधना गरे । उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ , जुनचाहिँ कहिल्यै टल्नेछैन , र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन ।” यो खण्डमा मानिसको पुत्रलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइएको र पृथ्वीका सबै मानिसहरुले उहाँलाई आराधना गरेको कुरा उल्लेख गरिएको छ । के तपाईलाई थाहा छ येशूले आफैलाई बाइबलमा मानिसको पुत्र भनेर सम्बोधन गर्नुभएको छ । चार वटा सुसमाचारमा येशूले आफैलाई ८१ पटक मानिसको पुत्र भनेर सम्बोधन गर्नुएको छ । येशू ख्रीष्ट दानिएल ७ः१३–१४ मा उल्लेख गरिएको मानिसको पुत्र हुनुहुन्छ भने पक्कै उहाँ परमेश्वर हुनुहुन्छ ।

अब येशू ख्रीष्टको जीवनलाई हेरौं...... 
बाइबलमा येशूलाई आराधना गरिएका उदाहरणहरु पनि रहेका छन् । यहूदी समाजमा एकमात्र परमेश्वरको आराधना गर्न पाइन्थो । यहूदीहरुले व्यवस्था पालन गर्दथे र व्यवस्थामा कुनै मानिस वा अन्य प्राणी र मुर्तिहरुको आराधना पुर्णत निषेध गरिएको थियो । तर बाइबलका येशूलाई आराधना गरिएका उदाहरणहरु पनि रहेका छन् । मत्ती २ः११ मा बालक येशूलाई पुर्वका ज्योतिषीहरुले आराधना गरेको कुरा उल्लेख गरिएको छ । यहाँ यस्तो लेखिएको छ, “अनि घरभित्र पसेर तिनीहरुले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोष्टो परेर उहाँलाई दण्डवत गरे.....” येशूका चेलाहरुले पनि येशूको आराधना गरेको कुरा बाइबलमा उल्लेख गरिएको छ । मत्ती १४ः३२–३३ मा यसो लेखिएको छ ,“जब उहाँहरु डुङ्गामा पस्नुभयो तब बतास थामियो । डुङ्गामा हुनेहरुले उहाँलाई दण्डवत् गरे,र भने “साँच्चै तपाई परमेश्वरका पुत्र हुनुहुन्छ ।” ति चेलाहरुले उहाँको आराधना गर्दा उहाँ तिनीहरुसँग रिसाउनुभएन बरु उहाँले त्यो आराधना ग्रहण गर्नुभयो किनकि उहाँ परमेश्वर हुनुहुन्थ्यो । 

येशू ख्रीष्ट आफैले के भन्नुभयो........ 
यूहन्ना ८ः५८–५९ मा येशू ख्रीष्ट यसो भन्नुहुन्छ, “साँच्चै म तिमीहरुलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु ।” त्यसैगरी यूहन्ना १०ः३०–३३ मा येशूले यसो भन्नुभएको छ, “पिता र म एक हौ । यहूदीहरुले उहाँलाई हानौ भनी फेरी ढुङ्गा उठाए ।................किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ । यो खण्डमा येशूले पिता अर्थात पुरानो करारमा उल्लेख गरिएको परमेश्वर र म एक हौं भनेर भन्नुभएको छ । येशूको यो कुरा सुनेर यहूदीहरु रिसाए । किनकि येशूले आफूलाई परमेश्वर घोषणा गर्नुभएको थियो । अर्को एउटा उदाहरणः येशू भर्खरै मृतकहरुबाट जीवित भएर थोमा र अन्य चेलाहरुकहाँ देखा पर्नुभएको थियो । जब थोमाले येशूलाई देखे तब उनले यसो भने, “मेरा प्रभु, र मेरा परमेश्वर !” (यूहन्ना २०ः२८) । साथसाथै येशूसँग तिन वर्षको समय विताएका थोमाले येशूलाई मेरा परमेश्वर भनेर सम्बोधन गरे । येशूले पनि उनको यो कुराको विरोध गर्नुभएन र चेलाहरुले पनि विरोध गरेनन् । किनकि येशू वास्तवमै परमेश्वर हुनुहुन्थ्यो । एक पटक चेलाहरुले येशूसँग हामीलाई पिता अर्थात परमेश्वर देखाइदिनुहोस् भन्ने माग गरे । येशूले त्यो बेला अचम्मलाग्दो प्रतिक्रिया दिनुभयो । यो वार्तालाप यूहन्ना १४ः८–९ पदमा उल्लेख गरिएको छ । यहाँ यसो लेखिएको छ ः फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस् । त्यत्ति भए हामीलाई पुग्छ ।” येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरुसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ ? जसले मलाई देखेको छ , त्यसले पितालाई देखेको छ । तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस् ।” यो खण्डमा येशूले आफूलाई स्वर्गको परमेश्वर भएको दावी गर्नुभएको छ । त्यसैगरी यूहन्ना १ अध्याय येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्नेहरुका लागि टाउको दुखाईको विषय हो । यूहन्ना १ः१ मा यसो लेखिएको छ, “आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, वचन परमेश्वर हुनुहुन्थ्यो ।” यो खण्डमा वचन परमेश्वर हुनुहुन्छ भन्ने कुरा लेखिएको पाउन सकिन्छ । त्यसैगरी यही अध्यायको १४ पदमा यसो लेखिएको छ, “अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा विचमा वास गर्नुभयो ।” यसलाई सरल भाषामा भन्दा सुरुमा वचन हुनुहुन्थ्यो, त्यही वचन नै परमेश्वर हुनुहुन्थ्यो र त्यही वचन अर्थात परमेश्वर मानिसको रुपमा जन्मनुभयो जो येशू ख्रीष्ट हुनुहुन्छ । यसरी येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्टरुपमा लेखिएको पाउन सकिन्छ । 

बाइबलका अन्य खण्डहरुमा के भनिएको छ......... 
अब हामी पहिलो शताव्दीको मण्डलीले येशूको बारेमा के विश्वास गथ्र्यो भन्ने बारेमा हेर्नेछौ । पहिलो शताव्दीको मण्डलीको विश्वासको आधार नयाँ करारमा उल्लेखित २१ वटा पत्रहरु हुन् । प्रेरित पावलले कलस्सी २ः९ मा कलस्सेको मण्डलीलाई यसो लेखेका छन्, “किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा वास गर्दछ ।” यो खण्डमा उल्लेख गरिएअनुसार येशू ख्रीष्टमा परमेश्वरको सारा परिपुर्णता शरीरमा वास गर्दछ । त्यसैगरी २ पत्रूस १ः१ मा पत्रूसले यसो भनेका छन्, “....र हाम्रा परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको धार्मिकतामा.....।” यो खण्डमा स्पष्टत पत्रूसले येशू ख्रीष्टलाई परमेश्वर र मुक्तिदाता भनेर सम्बोधन गरेका छन् । तीतस २ः१३ पावल यसो लेख्दछन्, “.....हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टका महिमाको आगमनको हामी प्रतिक्षा गर्दछौ ।” यो खण्डमा पावलले पत्रूसले झै येशू ख्रीष्टलाई महान् परमेश्वर र मुक्तिदाता भनेर सम्बोधन गरेका छन् । त्यसैगरी हिव्रूका लेखकले हिव्रू १ः८ मा यसो लेखेका छन्, “तर पुत्रको बारेमा चाहिँ उहाँ यसो भन्नुहुन्छ ,“हे परमेश्वर, तपाईको सिँहासन सदासर्वदाको निम्ति रहिरहन्छ ,......” यो खण्डमा उल्लेख गरिएअनुसार पुत्र अर्थात येशू ख्रीष्टको बारेमा पिताले हे परमेश्वर भन्नुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ । 

अब अन्त्यमा..... 
येशू कन्याबाट जन्मनुभयो, अचम्मरितिमा शिक्षा दिनुभयो, अचम्मका कामहरु गर्नुभयो, रोगी विरामीहरुलाई निको पार्नुभयो । उहाँ मारिनुभयो । आश्चर्यमयीरुपमा फेरी तेस्रो दिनमा जिउदो भएर देखा पर्नुभयो । त्यसपछि पनि ४० दिनसम्म चेलाहरुसँग रहनुभयो । उहाँ फेरी फर्केर आउने प्रतिज्ञा गर्दै स्वर्ग चढीजानुभयो । यस्तो अचम्भित जीवन कसले जीवन सक्छ ? केवल परमेश्वरले मात्र । येशू परमेश्वर अर्थात पुर्णत एक इश्वर हुनुहुन्छ । के तपाईले उहाँमाथि विश्वास गर्नुभएको छ ? उहाँमाथि विश्वास गर्नेहरुलाई उहाँले अनन्त र आशिष्को जीवन दिनसक्नुहुन्छ ।

सम्बन्धित भिडियो..........


No comments:

Post a Comment